PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मोरङमा मुक्त रङ्गमञ्ज, राजेश हमालले भने : कला यस्तो अनावश्यक चिज हो, जसको सबैलाई आवश्यकता छ



पहिलोपोस्ट

मोरङमा मुक्त रङ्गमञ्ज, राजेश हमालले भने : कला यस्तो अनावश्यक चिज हो, जसको सबैलाई आवश्यकता छ

विराटनगर : अभिनेता राजेश हमालले कला एउटा अनावश्यक चिज भए पनि यो सबैका लागि आवश्यक भएको बताएका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिकामा शिल्पी थिएटरको मुक्त रङ्गमञ्चको शिलान्यास गर्दै हमालले भने, ‘कला एउटा यस्तो अनावश्यक चिज हो, जसको सबैलाई आवश्यकता छ।’

हमालले कला क्षेत्र यसो हेर्दा झुटको खेतीजस्तो देखिने भए पनि कलाले मानिसलाई त्यही झुटबाट जीवनको सत्य पत्ता लगाउन मद्दत गर्ने पनि बताए। उनले गीत, संगीत, नाटक, कविता, चलचित्र आदि सबै विधाबाट हामीले हाम्रो अनुभूति, भावना, जीवन र दृष्टिकोणलाई अझ उच्च प्रकारले हेर्न सक्छौँ भन्ने धारणा राखे।  

‘पूर्वाधारको विकास देशभरि गरिनुपर्छ, यो सत्य हो तर विकासको परिभाषामा भौतिक आधारको समृद्धि मात्र पर्दैन’, हमालले भने, ‘ठुलाठुला भवन, राम्रा र फराकिला अनि चिल्ला सडक, पार्क, बगैँचा आदि सबै हुनु मात्र समुन्नति होइन। यतिले मात्र त्यो समाज समृद्धिमा गनिँदैन। समृद्धिको पूर्णताका लागि कलाको विकास भएकै हुनुपर्छ र कलालाई ग्रहण गर्ने समुदाय पनि। यसरी साहित्य, संस्कृति, रङ्गमञ्च जे भन्नुस् कलाक्षेत्र समृद्धिका लागि प्रधान हो। यसरी हामी धेरैले कलालाई प्रत्यक्षतः ग्रहण नगरे पनि यस क्षेत्रसित अप्रत्यक्ष रूपमा जोडिइरहेका हुन्छौँ।’

उनले प्रत्येक नागरिकमा सृजनाको बीज हुने तर त्यसलाई धेरैले प्रस्फुटन नगर्ने बताए। उनले कसै-कसैले आफूभित्र भएको सृजनाको बीजको विस्तार र प्रवर्धन गर्ने गरेको र त्यसलाई उचाइमै पुर्‍याइरहेको उल्लेख गरे।

शिल्पीका निर्देशक घिमिरे युवराजले संघीय राजधानी काठमाडौंबाहिरका नेपालीले पनि कला, साहित्य, संस्कृति र नाटकको आनन्द लिन पाऊन् भन्ने उद्देश्यले मोरङको मध्यमा पर्ने महेन्द्र राजमार्गको नजिक सुन्दरहरैँचा नगरपालिकामा मुक्त रंगमञ्चको निर्माण गर्न लागेको जानकारी दिए।

घिमिरेका अनुसार नगरपालिकाले उपलब्ध गराएको ५ कट्ठा जमिनमा पहिलो चरणमा ४१० जना क्षमताको मुक्त रङ्गमञ्चको निर्माण गरिनेछ। यो रङ्गमञ्च खुला आकाशमुनि भए पनि यसमा एक अत्याधुनिक रङ्गमञ्चमा हुने ध्वनि, प्रकाश, संगीत, मञ्च व्यवस्थापन लगायतका सबै अवयवहरू निहित हुनेछन्। दोस्रो चरणमा दुई सय सिट क्षमताको बन्द नाट्यशालाको निर्माण गरिनेछ। साथै यही परिसरमा क्याफे र एक बगैँचाको निर्माण पनि गरिनेछ। सबै निर्माण सम्पन्न हुँदा यसको खर्च ४ करोड लाग्नेछ र शिल्पीले दानदातव्यबाटै साधनस्रोतको जोहो गर्नेछ।

शिलान्यास कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं र पूर्वप्रमुख शिवप्रसाद ढकालले मन्तव्य राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell