
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन्। बिहीवार बसेको प्रदेश सभा बैठकमा विश्वासको मतको पक्षमा ५७ सांसदले मतदान गरेका छन्। गिरी पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको आठौं दिनमा उनले विश्वासको मत पाएका हुन्।
प्रदेश सभाका सभामुख तुलाराम घर्तीले गिरीको पक्षमा ५७ र विपक्षमा २८ मत खसेको जानकारी दिए। ८७ सदस्यीय प्रदेशसभामा १ जना सांसद आज अनुपस्थित रहेको उनले बताए।
८ राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरि ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन्। गिरीको पक्षमा एमालेका २९, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४–४, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका ३–३, नेकपा एकीकृत समाजवादीका एकजना र दुईजना स्वतन्त्र सांसदहरु मतदान गरेका छन्।
नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा भने आमाको निधन भएका कारण आजको बैठकमा उपस्थित भएनन्। सरकार गठनमा पक्षमा समर्थन नगरेकी नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य भगवती घिमिरेले विश्वासको मत भने मुख्यमन्त्री गिरीलाई दिइन्।
संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरि ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए।
८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एकएक सांसद रहेका छन्।