PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

विश्वप्रकाशको बोलीलाई ओलीले भने : अशुभको संकेत, राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ



पहिलोपोस्ट

विश्वप्रकाशको बोलीलाई ओलीले भने : अशुभको संकेत, राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले संसदमा आफ्नो विरोध गरेको सुनिएको उल्लेख गर्दै यस्तो अभ्यास कांग्रेसले नै थालेको बताएका छन्। सभामुखमा आफ्नो पार्टीका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएपछि ‌ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको विरोध गरेर कुनै तुक नभएको तर्कसमेत गरे।

'संयन्त्र बनेको कुरामा पनि विरोध गरेको सुनियो। मैले पहिले भनेको कुरा पनि बोलेको सुनियो,' ओलीले भने, 'नेपाली कांग्रेसले रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र बनाएर अभ्यास शुरु गरिसकेको थियो। मैले  त्यतिबेला नमान्य हो।'

प्रधानमन्त्रीमा माओवादीका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दिन ओलीले कांग्रेसलाई कुनै जालझेल गरी खोलामा ढोक्सा नफाल्न चेतावनी दिएका थिए। यही विषयमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले कांग्रेसले कुनै ढोक्सा नथापेको प्रतिक्रिया आजको संसदमा बताएका थिए। शर्माले बरु ओलीलाई प्रधानमन्त्रीलाई पिँजडामा नथुन्न चेतावनी दिएका थिए। 'प्रमुख प्रतिपक्षी दलले विश्वासको मत दिएर कतै ढोक्सा त थापेको हैन? त्यसमा मैले केही बोलेन भने अपर्याप्त होला। हामीले ढोक्सा थापेका छैनौ। कसैलाई जालमा पार्न हाम्रो योजना छैन। तर माछा र ढोक्साको कथा बुनेर कसिलो पिजँडा चै नबनाउन मैले रोस्टममा उभिएर भन्नैपर्ने हुन्छ,' कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले भनेका थिए।

उक्त बोली नै अशुभ भएको ओलीको तर्क रह्यो। 'बेलगाम चल्ने कुरा, प्रबन्धभित्र नबाँधिने, प्रबन्धभित्र बाँधिनुलाई पिँजडा ठन्ने कुरा नै अशुभको संकेत हो,' ओलीले भने।

प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई प्रतिस्पर्धामा उतारे पनि जित भने हुन सकेन। गठबन्धन जोगाउन नसकेपछि सत्ता गुमाएको कांग्रेसले अब राष्ट्रपति पद ताकेको छ। सभामुख आफ्नो हात पारेको एमालेले राष्ट्रपतिमा पनि दाबी गर्ने ओलीले बताए। 'राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, राष्ट्रिय सहमति हुनुपर्छ,' ओलीले भने। गठबन्धन फुटाउन कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिँदैछ नि भन्ने प्रश्न सुनेपछि भने ओली जवाफ नदिई हाँसेर निस्किए।

प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमतिको लागि प्रयास गरिने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell