PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बहुमतीय प्रक्रियाबाट सभामुख हुनेमा दोस्रो बनेका देवराज



प्रकाश भण्डारी

बहुमतीय प्रक्रियाबाट सभामुख हुनेमा दोस्रो बनेका देवराज

काठमाडौं: नेकपा (एमाले) का स्थायी कमिटी सदस्य देवराज घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भए। घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरी सत्ता गठबन्धनका १६७ सांसदले मत दिएका थिए।

विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवार भए पनि उनी पराजित भइन। उनको पक्षमा १०० रह्यो। नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा मात्रै कांग्रेसकी उम्मेदवार न्यौपानेको पक्षमा थिए। २६८ जना सांसद निर्वाचनमा भाग लिएकोमा १ जना तटस्थ रहे।

बुहमतीय प्रक्रियाबाट सभामुख हुने पहिलो रामचन्द्र

नेपालको संसदीय इतिहासमा घिमिरे निर्वाचनमा होमिएर सभामुख हुनेमा हुनेमा दोस्रो भएका छन्। यसअघि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल २०५१ पुस २ गते भएको सभामुखको निर्वाचनमा विजयी भएका थिए। पौडेलसँग एमालेका सिपी मैनाली पराजित भएका थिए। पौडेलले १०७ र मैनालीले ९४ मत ल्याएका थिए। हाल मैनाली नेकपा मालेका महासचिव छन् भने पौडेल कांग्रेसका वरिष्ठ नेता। मैनालीको पार्टीले यसपट एक ठाउँमा पनि चुनाव जित्न सकेन। 

झलनाथले लिएका थिए उम्मेदवारी फिर्ता

२०१५ को पहिलो संसदमा पनि सभामुख निर्विरोध चयन भएका थिए। २०१६ असार १८ गते भएको सभामुखको निर्वाचनमा देववीर पाण्डेले सभामुखमा उम्मेदवारी दिएको भए पनि उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसका कृष्णप्रसाद भट्टराई सभामुख चुनिएका थिए। त्यतिबेला प्रतिनिधि सभामा १०९ जना सदस्य रहेका थिए। २०१६ देखि २०१७ सम्म मात्रै पहिलो प्रतिनिधि सभा चलेको थियो। २०१७ पुस १ गते शाही घोषणा भएपछि संसदीय व्यवस्थाको त्यतिबेला अन्त्य भएको थियो।

२०४७ कात्तिक २३ गते नेपाल अधिराज्यको संविधान जारी भएपछि संसदीय प्रणालीको पुनःस्थापना भयो। पुनःस्थापनापछि गठित संसदको कार्यकाल ३ वर्ष थियो। २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभा चल्यो।  २०४८ असार ९ गते भएको सभामुखको निर्वाचनमा एमालेका सभामुखका तत्कालीन उम्मेदवार झलनाथ खनालले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसका दमननाथ ढुंगाना निर्विरोध सभामुख भएका थिए।

तारानाथ रानाभाटमा सहमति

२०५६ मा आम निर्वाचन भएपछि २०५९ सम्म प्रतिनिधि सभा कायम रह्यो। २०५९ जेठ ८ गते प्रतिनिधि सभा विघटन भएको थियो। २०५६ असार ९ गते भएको सभामुखको निर्वाचनमा एक जनाको मात्रै उम्मेदवारी पर्‍यो। त्यति बेलाका जेष्ठ सदस्य गिरिजाप्रसाद कोइरालाले कांग्रेसका तारानाथ रानाभाट सभामुख भएको घोषणा गरेका थिए।

लगातार चार पटक नेम्वाङमा सर्वसम्मति

२०६३ मा अन्तरिम संविधान जारी भएपछि प्रतिनिधि सभा पुनःस्थापना भएको थियो। पुनस्थापित सभामा एमालेका सुवास नेम्वाङ सभामुख चयन भए। तारानाथ रानाभाटले राजीनामा दिइसकेकाले नेम्वाङ पुनर्स्थापित सभामा सभामुख चयन भएका थिए। २०६३ माघ १ गतेबाट अन्तरिम संविधान लागू भएपछि पुनः सभामुखको चुनाव भएको थियो। जसमा पनि नेम्वाङ निर्विरोध भएका थिए। पहिलो र दोस्रो संविधान सभामा पनि नेम्वाङ नि दुबैपटक निर्विरोध भए।

ओनसरी घर्तीमा जुटेको सहमति

२०७२ असोज ३ गते संविधान जारी भएपछि रुपान्तरित व्यवस्थापिकामा २०७२ असोज २९ गते माओवादीकी ओनसरी घर्ती पनि निर्विरोध भइन। त्यतिबेला अनुराधा थापामगरलाई नेमकिपाका प्रेम सुवालले सभामुखका लागि प्रस्ताव गरे पनि पछि फिर्ता लिएपछि घर्ती निर्विरोध भएकी थिइन्।

बलात्कार काण्डमा महरा मुछिएपछि अग्नि बने सभामुख

संघीय संरचनापछि २०७४ मा भएको पहिलो आम निर्वाचनपछि माओवादीका कृष्णबहादुर महरा सभामुख भएका थिए। महरा पनि निर्विरोध सभामुख भए। २०७४ फागुन २६ गते बसेको बैठकमा महराको मात्रै उम्मेदवारी परेको थियो। पछि उनलाई संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि राजीनामा दिए। २०७६ माघ १२ गते माओवादी पृष्ठभूमिका अग्निप्रसाद सापकोटा तत्कालीन नेकपाबाट निर्विरोध सभामुख बने। २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनपछि एमालेका घिमिरे माघ ५ मा सभामुख भएका छन्। उनी बहुमतीय प्रक्रियाबाट आउने दोस्रो सभामुख हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell