PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुई दशकदेखि सभामुखमा ‘कम्युनिस्टको पकड’, कहिले को भए निर्वाचित?



प्रकाश भण्डारी

दुई दशकदेखि सभामुखमा ‘कम्युनिस्टको पकड’, कहिले को भए निर्वाचित?

काठमाडौं: नेपालको संसदीय इतिहासको सुरुवातमा संसदीय मोर्चामा कांग्रेस अघि थिए। संसदीय गणित र नेतृत्वमा कम्युनिस्ट निकै पछि थिए। तर बहुदलीय व्यवस्थाको पुनर्स्थापनसँगै प्रतिस्पर्धी बन्दै गए। पछिल्लो २ दशकयता त सभामुखमा वामपन्थी दलहरुको किल्ला कांग्रेसले तोड्न सकेको छैन्। कृष्णप्रसाद भट्टराईदेखि तारानाथ रानाभाटसम्मलाई सभामुख बनाएर संसदमा एकछत्र राज गरेको कांग्रेस २०६२-०६३ को आन्दोलनपछि भने कमजोर सावित भइरहेको छ।

जसको पछिल्लो उदाहरण हो -माघ ५ मा कांग्रेसकी सभामुखकी उम्मेदवारी ईश्वरी न्यौपानेको पराजय र एमालेका उम्मेदवार देवराज घिमिरेको विजय।

२०७९ मंसिर ४ गतेको प्रतिनिधि सभाको निर्वाचनमा ८९ सिट जितेर सबैभन्दा ठूलो दल कांग्रेस भए पनि सभामुख र राज्यका महत्वपूर्ण पदमा कम्युनिस्टको राज चल्न थालेको हो।

२०५१ मा कांग्रेसका रामचन्द्र पौडेलले एमालेका उम्मेदवार सिपी मैनालीलाई पराजित गरे। २०४८ मा एमालेका झलनाथ खनालले सभामुखको उम्मेदवारी नै फिर्ता लिएर कांग्रेसका दमननाथ ढुंगानालाई समर्थन गर्दा कांग्रेसले प्रतिनिधि सभाको चाबी आफ्नो हातमा राख्न सफल भएको थियो। हुन त यसअघि २०१६ सालमै कांग्रेसका कृष्णप्रसाद भट्टराई सर्वसम्मत रुपमा सभामुख भइसकेका थिए। २०५९ सम्म पनि कांग्रेस सभामुखमा आफ्नो एकल प्रभुत्व राख्न सफल भयो। २०५६ मा कांग्रेसका तारानाथ रानाभाटलाई सभामुख बनाउन कांग्रेस सफल भएको थियो।

२०६२/०६३ पछिको परिवर्तनपछि भने कांग्रेसले लगातार सभामुख गुमाउनुपरेको छ। त्यसपछि पुनर्स्थापित प्रतिनिधि सभा, पहिलो संविधान सभा र दोस्रो संविधान सभासम्म पनि कांग्रेसले सभामुख पद पाएन। एमालेका सुवास नेम्वाङले लगातार सभामुखको भूमिका निभाउने अवसर पाए। जबकि दोस्रो संविधान सभामा पहिलो दल कांग्रेस बनेको थियो। दोस्रो संविधान सभापछिको रुपान्तरित प्रतिनिधि सभामा माओवादीकी ओनसरी घर्तीलाई समर्थन गर्न कांग्रेस बाध्य भयो भने त्यसपछि २०७४ को प्रतिनिधि सभामा एमाले र माओवादी केन्द्र बहुमतमा पुगे। जसले कांग्रेसले राज्यका उच्च ओहोदाका सबै पद गुमायो। २०७४ मा माओवादीकै कृष्णबहादुर महरा भए भने उनलाई बलात्कारको आरोप पछि माओवादी पृष्ठभूमिका अग्निप्रसाद सापकोटा तत्कालीन नेकपाबाट सभामुख भए। अहिले पनि कांग्रेस पहिलो दल हुदा पनि सभामुख भने दोस्रो ठूलो दल नेकपा एमालेका देवराज घिमिरे भएका छन्।

माओवादीलाई साथमा लिएर सरकार चलाएका कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको निर्वाचनपछि गठबन्धनलाई निरन्तरता दिन असफल भएपछि यसपटक पनि कांग्रेस महत्वपूर्ण पदमा एक पछि अर्कोमा असफल भएको छ। २०७९ पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धनलाई तोडेर एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएपछि महत्वपूर्ण पदमा फेरि कम्युनिस्ट दलहरुकै नेता सफल हुन थालेका हुन्। जसको असर केन्द्रमा मात्रै छैन प्रदेशम पनि छ। राज्यका महत्वपूर्ण पदमा लोभ भएरै होला प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा आफ्नै पार्टीकी न्यौपानेलाई उम्मेदवार बनायो, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा। सभामुखमा असफल भएको कांग्रेसले राष्ट्रपतिमा भने आफ्ना उम्मेदवारलाई जसरी पनि सफल बनाउने दाबी गरिरहेको छ। अहिलेको वाम दलहरुबीचको समीकरण फुटाउन नसके कांग्रेसका लागि राष्ट्रपति पद पनि आकाशको फल हुने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell