
साउदी अरबमा गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रियाद अल स्टार्सलाई हराएको छ। किंग फाहद स्टेडियममा सम्पन्न खेलमा पीएसजीले ४-५ गोलअन्तरले जित निकालेको हो। उक्त खेलमा सर्बोत्कृष्ट खेलाडीका रुपमा लिइने लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सायद अन्तिम पटक एउटै मैदानमा उत्रिएका थिए। खेलमा दुबै खेलाडीले गोल गरे।
खेलको तेस्रो मिनेटमै नेइमारको पासमा गोल गर्दै मेस्सीले पीएसजीलाई अग्रता दिलाएका थिए। तर ३४ औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै क्रिस्टियानो रोनाल्डोले खेल बराबरीमा ल्याए। खेलको ३९ औं मिनेटमा पीएसजीका जुआन बेर्नेटले रेडकार्ड ब्यहोर्दा पीएसजी १० खेलाडीमा समेटिएको थियो। लगत्तै ४३ औं मिनेटमा किलियन एम्बाप्पेको पासमा माक्विन्होसले गोल गर्दै फेरि पेरिसलाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसरमा पीएसजीका नेइमार चुके। लगत्तै रोनाल्डोले गोल फर्काउँदै खेल २-२ बराबरीमा ल्याए।
दोस्रो हाफमा पीएसजीका सर्जियो रामोसले किलियन एम्बाप्पेको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ५६ औं मिनेटमा जाङ ह्युन सोले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। ६० औं मिनेटमा पीएसजीले पेनाल्टीको अवसर पायो, जसलाई सदुपयोग गर्दै गोल गरे किलियन एम्बाप्पेले। त्यस्तै ह्युगो एकिटिकले ७८ औं मिनेटमा पीएसजीका लागि गोल गर्दा अलस्टार्सका तालिस्काले इन्ज्युरी समयमा गोल फर्काए। र, खेल पेरिसले ५-४ गोलअन्तरले जित्यो।