PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

पहिलो हाफमा टोटेनहमको दुई गोलको अग्रता, दोस्रो हाफमा चार गोल थप्दै सिटीको जित



पहिलोपोस्ट

पहिलो हाफमा टोटेनहमको दुई गोलको अग्रता, दोस्रो हाफमा चार गोल थप्दै सिटीको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्स्परलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा ०-२ गोलको अवस्थालाई उल्टाउँदै घरेलु टोली सिटीले ४-२ गोलअन्तरको जित निकालेको हो।

खेलको ४४ औं मिनेटमा टोटेनहमले डेजन कुलुसेभ्स्कीको गोलमा अग्रता बनाएको थियो। तीन मिनेट नबित्दै एमर्सनले हेडरमार्फत गोल थप्दा पहिलो हाफमा टोटेनहम दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा भने चार गोल फर्काउँदै सिटी पुनरागमन गर्न सफल भयो। खेलको ५१ औं मिनेटमा जुलियन अल्भारेजको गोलमा खाता खोलेको सिटीका लागि ५३ औं मिनेटमा अर्लिङ हल्याण्डले रियाद महरेजको पासमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ६३ औं मिनेटमा रोड्रीको पासमा रियाद महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यस्तै ९० औं मिनेटमा महरेजले नै गोल थप्दा सिटीले ४-२ गोलको रोमाञ्चक पुनरागमन जित निकाल्न सफल भएको हो।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानमा रहेको आर्सनलसँग अंकदुरी घटाएको छ। आर्सनलले १८ खेलबाट ४७ अंक जोड्दा सिटीले १९ खेलबाट ४२ अंक जोडेको छ। पछिल्ला दुई खेलमा लगातार पराजय ब्यहोरेको टोटेनहम भने ३३ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell