काठमाडौं : प्रदीप कुमार मैनाली अर्थशास्त्री हुन्। तैपनि उनको रुचिको विषय हो साहित्य। त्यसमध्ये पनि गजल लेख्न औधी मनपराउने। १२ वर्षदेखि निरन्तर गजल लेखनमा सक्रिय छन् प्रदीप।
संसारमा संघर्ष नगर्ने को होला? संघर्षका क्षण हरेकका जीवनमा दु:ख आउँछन्, जान्छन्। दु:खपछि सुख। प्रकृतिको नियमित चक्र पनि हो। तर दु:खको आउजाउ नियमित चल्ने रहेछ, सुखको आजजाउ क्षणिक।
यस्तै सोच्दै तीन वर्षअघि प्रदीपको दिमागमा एक सेर फुरेछ :
साथी रहेछ दु:ख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
ओहो राम्रो भएछ त यो? आफै खुसीले गदगद भएछन् प्रदीप। गजल हो, यति लेखेर त पुगेन। त्यसपछि यही सेरमा थप कथाहरु बुन्दै लगे उनले।
के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ
खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
एक हप्ताअघि युट्युबमा सार्वजनिक भएको यो गजल अहिले चर्चामा छ। टिकटकदेखि युट्युब र सामाजिक सञ्जालमा निकै रुचाइएको छ। राग मालकौंसमा आधारित यस गजललाई युट्युबमा ११ लाख बढी भ्युज मिलिसकेको छ। गजलको शब्ददेखि संगीत र आवाजको चौतर्फी तारिफ। जुन सफलता देखेर अचम्मित छन् प्रदीप।
‘यो गजलले यति चर्चा पाउँला भनेर हामीले सोचेकै थिएनौँ। हामीले १५ देखि २० हजार त्यसमाथि गजल बुझेका र चासो हुनेहरुले मात्र सुन्नु हुन्छ भन्ने लागेको थियो। पहिलो दिन खासै भ्युज आएको थिएन। सोही दिन अरुले हालेका भिडियोमा ४० हजार भ्युज थियो। हाम्रो गीतमा भने जम्मा १२/१५ सयमात्र भ्युज’, उनले भने, ‘दोस्रो दिनदेखि भ्युज बढ्दै गयो। धेरैले सेयर गर्न थाल्नुभयो। सबैबाट राम्रो प्रतिक्रिया देखेर हामी अचम्मित भएका छौँ।’
गजलसँग बस्न थालेको लत
दोलखाको कालिञ्चोक सुन्द्रावतीमा जन्मेका प्रदीपको साहित्यप्रतिको रुचि कक्षा ५ पढ्दादेखिकै हो। २०४२ ताका उनी १० वर्षका थिए। गाउँकै विद्यालयमा रानी एश्वर्यको जन्मोत्सवको अवसरमा कविता प्रतियोगिता राखिएको थियो। जसमा उनको कविता तेस्रो भयो। त्यो बेलादेखिको मैनालीको साहित्यप्रतिको उनको भोक मेटिएको छैन।
एसएलसीपछि उनी सपनाको सहर काठमाडौं आए। जहाँ उनले पढाईमा बढी जोड दिन्थे। तर, कहिलेकाही भने फाट्टफुट्ट डायरीमा आफ्ना भावनाहरु कोर्थे। जसमा विशेषगरि मुक्तक र गीतिकविताहरु हुन्थे।
पछि उनी उच्च शिक्षा हासिल गर्न भनि युरोपतिर लागे। तर, विभिद कारणले उता पढाइ पूरा हुन सकेनन्। पछि नेपालनै आएर पीएचडीसम्मको पढाइ पूरा गए। एमफिल सक्ने बेलादेखि नै गजल लेख्न थालेको उनी सम्झन्छन्। उनका गजल संग्रह ‘तुलसीको पात’ र ‘नसुतेको रात’ प्रकाशित भइसकेका छन्।
पेलालाई पछ्याउँदा पछ्याउँदा
तीन वर्षअघि लेखिएको गजल ‘के लत लाग्यो मलाई’ त्यही समयमा फेसबुकमा समेत राखेका थिए उनले। जसले राम्रो प्रतिक्रियासमेत पाएको थियो। तर, उनमा भने जहिल्यै आफ्नो गजलमा कसैले जीवन भरिदियोस् भन्ने चाह हुन्थ्यो।
हुन त पहिले पनि मैनाली आफ्ना गजलहरु लिएर संगीतकारसँग नपुगेका होइनन्। तर, केहीले ‘पछि गरौँला’ भनेर टाले। कतिपयसँग आफैँलाई चित्त नबुझ्दा रेकर्ड भएपनि सार्वजनिक गरेनन्।
उनी गजललाई न्याय गर्ने गायकको खोजिमा थिए। सोहीक्रममा दुईवर्षअघि उनले युट्युबमा गायक तथा संगीतकार तिलक सिंह पेलाका प्रस्तुतिहरु देखे। उनका प्रस्तुतिहरु हेरेपछि मैनाली मन्त्रमुग्ध भए।
अनि सोच्न थाले, ‘ओहो! मैले खोजेकोजस्तो मान्छे त उहाँ पो। गजललाई बुझेर सही ढंगले उच्चारण गर्ने र मिठास भएको उहाँ जत्तिको मान्छे कोही हुनै सक्दैन।’
त्यसपछि नजिकका साहित्यकार रवि प्राञ्जनसँग पेलाबारे कुरा गरे। उनले रविसँग भने, ‘मैले ठ्याक्कै गजललाई गजलजस्तो गाउने तिलकसिंह पेलालाई युट्युबमा भेट्टाए। उहाँको स्वर सुनेदेखि मेरो मन बिथोलिएको छ। उहाँलाई भेटाइदिनुपर्यो।’
रविले जवाफमा भने, ‘वि.सं २०५३/५४ सालतिर नै उहाँ चर्चा कमाइसकेको गायक हो। पछि भने उहाँ गुमनामजस्तै हुनुभयो। तर, उहाँजस्तो साधक पाउन भने गाह्रो छ। आजभोलि चाँहि कता हुनुहुन्छ मलाई पनि थाहा छैन। तर, म उहाँको नम्बर खोज्ने कोसिस गर्छु।’
केही दिनपछि जसोतसो तिलकको नम्बर भेटियो। त्यसपछि प्रदीपले भेटे पेला। युट्युबमा तिलकको गीत सुन्दा मोहित भएका मैनाली भेटेपछि अझ बढी प्रभावित भए। प्रचारप्रचारको दुनियामा गुमनाम हुन खोज्ने पेला, उनको संगीतप्रतिको लगाव, साधना,नि:स्वार्थपन र सामान्य जीवनशैलीले प्रदीपको ध्यान खिच्यो।
त्यसपछि पेलासँगको भेट बाक्लिदै गयो। कहिले भुवन निस्तेज त कहिले भोजराज घिमिरेसँग उनी पेलासँग भेट्न थाले। मैनाली भेट्नसाथ आफ्ना लेखेका गजलहरु सुनाउँथ्ये। पेला झन गजल भनेपछि हुरुक्कै हुने। मैनालीका गजलका हरफमा सुर भर्न थालिहाल्थे उनी। उनको गजल सुनेर प्रदीप झनै मोहित हुन्थे। अनि यत्तिको साधकी व्यक्तिमार्फत आफ्ना भावनाहरु प्रष्टुफित भइदिए हुन्थ्यो चाहना राख्थे उनी।
कहिलेकाही प्रदीप फ्याट्ट पेलासँग भन्थे, ‘गुरु हजुरले मेरो एउटा गजल रेकर्ड गर्नुपर्यो। गजलजस्तो गजल गाउने क्षमता हजुरसँग मात्रै छ।’
तर, तिलकसिंह भने आफ्ना संगीत सिक्ने शिष्यहरुबाट रेकर्ड गर्न सुझाउँथे। कहिले पछि भनेर टार्थे। किनकी उनलाई चर्चाको दुनियाँभन्दा पर बस्नु थियो। यता प्रदीपलाई पेलालाई नै आफ्नो गजल गाउन लगाउनु थियो। जसकारण उनले एउटा गजल कार्यक्रम गर्ने योजना बनाए। एकदिन जसोतसो प्रदीपले आफ्नो गजलमा स्वर र संगीत दिनुपर्यो भनेर प्रस्ताव राखे।
तर, तिलकले संगीत भरेपनि वाचनमा भने आफ्ना शिष्य कमल बिष्टले गर्ने कुरा सुनाए। कमलले गएको साउनमा काठमाडौंमा भएको एक कार्यक्रममा यो गजल गाएका थिए। जसलाई उपस्थितहरू सबैबाट राम्रो प्रतिक्रिया मिलेको थियो।
पेलाको संगीतबद्ध गजल सुनिसकेपछि प्रदीपलाई यो गजल झनै मन पर्न थाल्यो। उनलाई पेलाको स्वरबाट नै गजल ‘के लत लाग्यो’ सुन्ने हुटहुटी जाग्यो। फेरि अन्तिम पटक उनले पेलासँग अनुरोध गरे। भने, ‘गुरुजी तपाईले नै यो गजल गाउनुपर्यो। भेटघाट हुँदा खेरि तपाईले वाचन गर्दा जुन तरङ्ग आएको थियो। त्यो निकै आनन्दको थियो।’
सुरुमा त उनले प्रदीपको आग्रहलाई नकारे। तर, धेरै आग्रह गरेपछि पेला गजल गाउन राजी भए। त्यो समय आफू निकै खुसी भएको प्रदीप सम्झन्छन्। अनि धेरै पटकको तयारीपछि रेकर्ड भयो गजल ‘के लत बस्यो मलाई’
म्युजिक भिडियो तयारीको कथा
अहिले गीतभन्दा पनि म्युजिक भिडियोमा लगानी गर्ने ट्रेन्ड छ। गजल रेकर्ड भएपछि उनीहरुलाई पनि धेरैले लाखौँ खर्च गरेर राम्रा कलाकार राखेर भिडियो बनाउन सुझाव दिए। तर, मैनाली र पेला भिडियोभन्दा अडियो बलियो हुनुपर्छ भन्नेमा सजक थिए। त्यसैले भिडियो बनाएर ओएसआर र म्युजिक नेपाल जस्ता चलेका युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने सल्लाह उनीहरुले स्विकार गर्न सकेनन्।
तर, रेकर्ड गरिएको गजल श्रोता र दर्शकसामु पुर्याउनु थियो। युट्युबमार्फत गीत सार्वजनिक बनाउन भिडियो आवश्यक भयो। त्यसपछि नै बाध्यताबस गजल टिमको भिडियो बनाउनु परेको मैनाली बताउँछन्।
‘हामीले जति भिडियौ बनायौ त्यो बाध्यता हो। किनकी अहिले क्यासेट र सिडीको जमना छैन। सबैसँग पुर्याउनको लागि अहिले युट्युबमा हाल्नैपर्छ। जसको लागि भिडियो चाहिन्छ। लिरिकल भिडियो बनाउन पनि खर्च लाग्ने। त्यसभन्दा त जसले तबला बजाउनु भयो, सारंगी रेट्नुभयो र बाँसुरी बजाउनुभयो उहाँहरुलाई देखाउने गरी भिडियो बनाउने सोचे। अनि हामीले क्यामेरा र मोबाइलले भिडियो खिचेर राखेका हौँ। हामीले सुन्नेको क्वालिटी सम्झौता गर्नुहुन्छ भनेर तीन/चार पटक रेकर्ड गराएका थियौँ।’
पेलाको युट्युबमा अकाउण्टमा यो गजल सार्वजनिक गरियो। जसमा जम्मा २४ सय सब्सक्राइबर थिए। तर, गजलको चर्चासँगै उनको सब्सक्राइबर ह्वातै बढेर ३६ हजार पुगेको छ। पेलाको ब्युँतिएको लोकप्रियताले देख्दा निकै खुसी छन प्रदीप।
भन्छन्, ‘उहाँको मन लुटेरमात्रै रेकर्ड गर्न सम्भव भएको हो। अहिले आएर एक असल सष्टालाई माया र न्याय दिने मान्छे त रहेछन भन्ने लागिरहेको छ। कुनै सिर्जनाभित्रै मनबाट पग्लिएर आएपछि कसैलाई पैसाले किन्नु नपर्ने रहेछ। सिर्जनामा दम र ओज छ भने यसरी दर्शक उल्लिएर आउँदा रहेछन। उहाँको लागि म निकै खुसी छु।’
साथै पेलाकै कारण यो गजल चर्चित भएको सुनाउँछन प्रदीप। ‘मैले त एउटा सिर्जना रचनामात्रै गरेको हुँ। उहाँजतिको संगीतप्रतिको लगाव भएको मान्छे पाउन गाह्रो छ। त्यसैले यो गजल चर्चित हुनुको क्रेडिट उहाँलाई नै जान्छ। उहाँको संगीत र स्वरबिना यो सम्भव थिएन। अहिले जे पनि चर्चा छ उहाँकै संगीत साधनाको उपज हो।’
गजल हिट भएसँगै लाखौं लगानी गरेर म्युजिक भिडियो बनाउन निर्माताहरु तयार छन्। तर, उनी भने गजलको म्युजिक भिडियो बनाउन तयार छैनन। ‘गजल त सुन्नको लागि हो। कानले भन्दा पनि हृदयले सुन्ने कुरा हो। हृदयले सुन्ने कुरा दृश्यले बताउन सक्छ जस्तो लाग्दैन। किनकी म्युजिक भिडियोमा गजलको भावभन्दा छुट्टै कथा पनि हुनसक्छ।’
यसअघि नेपालमा थुप्रै गजलहरु आइसकेका छन्। तर, ती गजलहरु लेखनका हिसाबले गजल भएपनि गायनका हिसाबले गीत भएको प्रदीप दाबी गर्छन। ‘कतिपय चर्चामा आएका गजलले पनि गजिलियत बोकेका छैनन्। तिनीहरु मात्र गीत भएका छन। गजलको सजिलो परिभाषा छैन। अहिलेलाई बुझिदिनोस् जे आएको त्यो नै गजल हो।’
टिकटकबारे बदलियो विचार
‘के लत बस्यो’ को चर्चासँगै प्रदीपको फोन पनि व्यस्त छ। गजलले उनका पुराना साथीहरुको सम्पर्क बढाएको छ। कतिपय उनका खट्पटिएको सम्बन्ध जोडिएका छन्। यसले जीवनमा नयाँ बहार ल्याएको ठान्छन् मैनाली।
कतिपय दर्शकले त फोन र म्यासेजमा भन्छन्, ‘बल्ल गजलजस्तो गजल सुन्न पाइयो। नेपाली संगीतमा छाडापन मौलाएको बेला हजुरहरुले न्याय गर्नुभयो।’
‘साँच्चै दर्शक/स्रोताहरु अहिलेका गीतसंगीतबाट दिक्क भएका रहेछन्। उनीहरु राम्रा नआउँदा पो जस्तो आएनि सुन्न बाध्य रहेछन्। संगीत क्षेत्रले ट्रयाक मोडेको र मानिसहरु दु:खी रहेछन् भन्ने प्रतिक्रियाले थाहा भयो। रचना गरेको कुरा सबैको भइदियो। दर्शकले गजल र संगीत कस्तो हुन्छ भन्ने बुझ्ने मौका पाउनुभयो। त्यो नै ठूलो उपलब्धि हो।’
यसअघि टिकटकलाई गलत माध्यम सोच्थे प्रदीप। तर, गजलले टिकटकबाट नै चर्चा पाएको कुरामा उनी सकरात्मक सुनिन्छन्। राम्रो चिजको प्रचारप्रचार गर्न टिकटक राम्रो माध्यम उनले बताए।
त्रिभुवन विश्वाविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका प्रदीपलाई लेखनमा व्यवसायिक रुपमा लाग्ने इच्छा छैन। ‘भावना कतिखेर आउँछ त्यतिखेर लेख्ने हो। म अर्थशास्त्रको मान्छे हुँ। मेरो काम र पेशा अर्कै छ। जहाँ डाटा बोल्छ। फिगर बोल्छ। तर, मनको कुरा बोल्दैनन्। यो त मेरो मनको कुरा बोल्ने ठाउँ हो। मैले यसलाई पेशा बनाएको होइन। मेरो नाम कसैले नभने पनि केही फरक पर्दैन। तर मेरो रचना सुन्नुभयो, पुग्यो। म खुसी त्यसैमा खुसी छु’, उनले भने।