.jpg)
काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन भोलिका लागि तय भएको छ। निर्वाचनका लागि आज मनोनयनको कार्यतालिका रहेको छ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि उपसभामुखका लागि मनोनयन समय तोकिएको छ।
हिजोको बैठकबाट सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। सत्ता गठबन्धनमा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक फरक लिङ्गको हुनुपर्नेछ। त्यसैलै स्वतन्त्र पार्टीले उपसभामुखमा महिला उम्मेदवारलाई प्रतिस्पर्धामा उतार्नुपर्नेछ।
रास्वपाबाट सोबिता गौतम, सुमना श्रेष्ठ, इन्दिरा रानामगर लगायतको नाम उपसभामुखको लागि चर्चामा छ। रास्वपाले आज बस्ने संसदीय दलको बैठकबाट नाम तय गर्नेछ। सुमना श्रेष्ठको नाम चर्चामा रहे पनि उनले आफू उक्त पदको दाबेदार नरहेको स्पष्ट पारेकी छिन्।
हाल सरकारमा रास्वपाबाट सबै खसआर्य समुदायका व्यक्ति छन्। त्यसैले रास्वपा समावेशी नभएको भन्दै आलोचना भइरहेको छ। सुमनाले आफू पनि जनजाति महिला नै उम्मेदवार हुनुपर्ने पक्षमा रहेको तर त्यसमा आफ्नो दाबी नरहेको बताएकी हुन्।
उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ।