
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाएको छ। शुक्रवार बसेको रास्वपाको संसदीय दलको बैठकले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
उपसभामुख आफ्नो पार्टीले पाएकाले चाँडै उम्मेदवार तय हुने बिहीवार सभापति तथा गृहमन्त्री रवि लामिछानेले बताएका थिए।
काठमाडौं-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी सोविता गौतम उपसभामुखको उम्मेदवारको आकांक्षी थिइन्। आजको संसदीय दलको बैठक पछि गौतमले आफूले आकांक्षा राख्नु स्वभाविक भएको बताइन्।
हाल सरकारमा रास्वपाबाट सबै खसआर्य समुदायका व्यक्ति छन्। रास्वपा समावेशी नभएको भन्दै आलोचना भइरहेको थियो। त्यसैले रास्वपाले राना मगरलाई अघि बढाएको हो।
उम्मेदवार बनाउने संसदीय दलको निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिएकी रानामगरले आफूले आशा गरेर उपसभामुखको उम्मेदवार नभएको बताइन्।
'मैले आशा गरेर आएको होइन, यो क्षेत्रमा केहि गरौं भनेर हो,' रानामगरको भनाइ छ। गठबन्धनसँग बहुमत भएकाले उनी निर्वाचित हुने करिब निश्चित छ।
आज उपसभामुखको मनोनयनका लागि समय तोकिएको छ।