
काठमाडौं : नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ। संसदीय दलको कार्यसमिति बैठकमा यादवको नाम उपसभामुखका लागि तय भएको कांग्रेसले जनायो।
यद्यपि यसको औपचारिक निर्णय भने भइसकेको छैन। कार्यसमितिको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले २ बजेभित्र उपसभामुखको उम्मेदवार टुंगो लाग्ने बताएका थिए। अरु दलसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारीसमेत रहेको लेखकले बताएका थिए।
मुक्ता कांग्रेसकी केन्द्रीय सदस्यसमेत हुन्। यादवले उपसभामुखमा आफ्नो उम्मेदवारीबारे अनविज्ञता जनाइन्। 'मलाई कुनै औपचारिक जानकारी आएको छैन,' पहिलोपोस्टसँग यादवले भनिन्।
उपसभामुखमा सत्तारुढ दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरले उम्मेदवारी दिँदैछिन्। दिउँसो १ बजेबाट उपसभामुखको मनोनयन शुरु हुँदैछ।
कांग्रेस सभामुखमा ईश्वरी न्यौपानेलाई प्रतिस्पर्धामा उतारेको थियो।