PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सत्ता र शक्तिमा झापाली झट्का, एकपछि अर्को नेता कसरी पुगे राजनीतिको केन्द्रमा?



प्रकाश भण्डारी

सत्ता र शक्तिमा झापाली झट्का, एकपछि अर्को नेता कसरी पुगे राजनीतिको केन्द्रमा?

काठमाडौं : 'झापा' नेपाली जनजिब्रोमा पर्नेवित्तिकै एउटा चित्र बन्छ - चतुर र कुटनीतिक। नहोस् पनि कसरी?

अहिलेको राजनीतिक घटनाक्रमलाई नै हेरौं न।

बालुवाटारमै प्रधानमन्त्रीको छैटौं इनिङ पर्खिरहेका देशकै सबैभन्दा ठूलो दलका सभापति शेरबहादुर देउवालाई चुपचाप कुम्लोकुटेरो बोकेर धुम्बाराही पुग्न बाध्य बनाउने एमाले अध्यक्ष केपी शर्मा ओली त्यतैका हुन्।

'उखान टुक्का' ले विपक्षीलाई सटीक प्रहार गर्न माहिर ओलीको पछिपछि छ राष्ट्रिय राजनीति।

झापा - ५ बाट प्रतिनिधि सभामा निर्वाचित ओली अहिलेको ‘किङमेकर’ नै बने यसपटकको सत्ता उलटउपुलटमा। किनभने संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा झण्डै सत प्रतिशत नै समर्थन जुटाइदिए संसदमा ओलीले।

दुई पटक प्रधानमन्त्री र दुई पटक नै एमालेको अध्यक्ष भइसके ओली।

अहिलेको सत्ताको चावि पनि ओलीकै हातमा छ। किनभने उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पनि उनै। संसदकै दोस्रो ठूलो दल एमालेको संसदीय दलको नेता पनि, पार्टीले उनलाई भावी प्रधानमन्त्री भन्दै चुनावमा ‘ब्राण्डिङ’ नै गर्‍यो। 

प्रचण्डसँगको सहमति अनुसार अढाइवर्षपछिको प्रधानमन्त्री पनि ओली नै हुन्, सहमति पालना भए।

किङमेकर बनेका ओलीमात्रै होइनन् नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजान भूमिका खेल्ने कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि उतैका परे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई माओवादीसँगको वार्ताका लागि मूख्य भूमिकामा उतारे। २०६२/६३ को आन्दोलनका बेला चर्चामा आउने नाम थियो कृष्णप्रसाद सिटौला। कांग्रेसको महामन्त्री भइसके। कुनैबेला कांग्रेसभित्रको शक्ति सन्तुलनामा समेत निर्णायक मानिन्थे उनी। उनकै जोडबलमा १३ औं महाधिवेशनमा गगन थापा महामन्त्रीको प्रत्यासी बने।

क्रेज बनाएपछि गगनले अर्कै गुट पक्रे र १४ औं महाधिवेशनमा उक्त पदमा जित दर्ज गरे।

गगनले छाडेपछि सिटौलाले काखी च्यापे प्रदीप पौडेललाई। उनैको जोडमा संस्थापन पक्षबाट १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेवार बने। महामन्त्री बन्न नसकेपनि पौडेललाई देउवाले केन्द्रीय सदस्यमात्र बनाएनन् काठमाडौं ५ को टिकट दिएर गठबन्धनको माहोल भएको मौका पारी कांग्रेसले 'रेड जोन'बाटै जित दिलाए।

सिटौला संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन जति सफल मानिन्छन् त्यति नै संसदीय राजनीतिका लागि असफल पनि। सिटौला प्रतिनिधि सभाको निर्वाचनमा पराजित भए, २०७४ मा पनि सिटौलाले पहिलो पराजय चाखेका थिए।

त्यसो त कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मादेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको गृहनगर झापा नै हो। दुबैजना समकालीन राजनीतिमा चल्तीका नेता हुन्। शर्मा कांग्रेसका नेताहरुमध्ये आकर्षक मानिन्छन्। झापा-१ बाट प्रतिनिधि सभामा ‘डेब्यु’ गरेका शर्मा अचेल ओलीसँग 'दोहोरी' खेल्न खोज्छन्। र, नेक टु नेक हुने कसरतमा देखिन्छन्। बिहीवार संसदमा ओलीको बोलीमा उनले कटाक्ष गर्न भ्याए।

ओली पनि के कम – बाहिर निस्किएर 'ब्याटल' चलाए। भन्दिए – शर्माको बोलीले अशुभको संकेत गर्‍यो।

लिङ्देनले अघिल्लो वर्ष भएको राप्रपाको महाधिवेशनबाट कमल थापाको हाताबाट नेतृत्व फुत्काए, झापा-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। अहिले उनी उपप्रधान एवं ऊर्जामन्त्री छन्। कमल थापा अध्यक्ष बन्दा लगभग शुन्यमा झरेको राप्रपाको अवस्थालाई अध्यक्ष बन्नसाथ संसदीय राजनीतिमा ह्वात्तै ‘कमब्याक’गराएका छन् लिङ्देनले।

२०७४ को निर्वाचनमा लिङ्देन एक जनालेमात्र जित निकालेकोमा राप्रपाको अहिले १४ सिट छ प्रतिनिधि सभामा। लिङ्देन पनि आफूतिर मास तान्न उत्तिकै माहिर देखिन्छन्। भ्रष्टाचार उन्मुलन उनको मुल मुद्दा हो।

'भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर' यो कसमले उनलाई चर्चामा ल्याएको छ अहिले। यसो त निर्वाचन अघि उनले सबै नेतालाई चोरको संज्ञासमेत दिए। यसले लिङ्देन थप छाए।

राष्ट्रिय राजनीतिमा झापाले पछिल्लो समय लगातार बर्चस्व बढाइरहेका ओली, सिटौला, शर्मा, लिङ्देनलगायतले पुष्टि गरिसकेकै छ। यो त भयो कार्यपालिका कब्जाको कुरा।

यसपटक व्यवस्थापिकाको नेतृत्वमा पनि बर्चश्व जमाउने कोसिसमा देखिन्छ झापा। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे झापाकै हुनुले अझ त्यसलाई बल दिन्छ। घिमिरे बिहीवारमात्रै प्रतिनिधि सभामा बहुमतीय प्रक्रियाबाट सभामुख निर्वाचित भए। चुनावमा बहुमत प्राप्त गरेरै सभामुख हुने उनी दोस्रो सभामुख हुन्। यसअघि कांग्रेसका रामचन्द्र पौडेलले एमालेका सिपी मैनालीलाई २०५१ मा हराएर सभामुख भएको बाहेक अहिलेसम्मका सबै सभामुख सर्वसम्मत छानिएका थिए।

संसदमा भएको मतदानमा १६७ भोट घिमिरेको पक्षमा थियो। कांग्रेसबाट उभ्याएकी कैलालीकी ईश्वरी न्यौपानेले सय १ सय भोटमात्रै पाइन्। एमालेका स्थायी कमिटी सदस्य घिमिरे राष्ट्रिय राजनीतिका लागि परिचितअनुहार होइन। राजनीतिमा उनको संलग्नता पुरानै भए पनि एमालेभित्रै पनि उनी ‘लो प्रोफाइल’ मा थिए। तर उनी एकाएक प्रतिनिधि सभाको सभामुख भए।

घिमिरे 'डेब्यु'मै सांसद र सभामुख हुन सफल भए। एमालेका अध्यक्ष ओलीले घिमिरेलाई सभामुखमा ‘पुस’ गरेका थिए। ‘पार्टी कमिटीले भन्दा पनि अध्यक्षज्युले सभामुखमा घिमिरेलाई अघि बढाउनुस भनेपछि हामीले उहाँलाई उम्मेदवार बनायौं,’ एमालेका एक पदाधिकारीले भने।

प्रतिनिधि सभाको लिडरमा झापाका घिमिरे त छानिए नै। अब उपसभामुख पनि झापा बाहिरको व्यक्ति हुन असम्भवप्राय: छ। किनभने सत्ता गठबन्धनबाट रास्वपाकी इन्दिरा रानामगर उपसभामुखको उम्मेदवार छिन्। संसदमा सत्तारुढ दलहरुको बहुमत रहेकाले रानामगर उपसभामुखमा निर्वाचित हुने करिब निश्चित छ।

संयोग नै भन्नुपर्छ फरक पार्टीकी भए पनि उनको ठेगाना पनि सभामुख घिमिरेको भन्दा फरक छैन।

देवराज र इन्दिराको जिल्लामात्रै होइन पालिकै एउटै, देवराज अर्जुनधारा – ६ का, इन्दिरा अर्जुनधारा-११ की।

सत्ता गठबन्धनको भागबण्डाअनुसार उपसभामुख पद रास्वपाको भागमा थियो। चर्चामा थिइन् सोबिता गौतम। काठमाडौं-२ मा एमालेका मणिराम फुयाल र माओवादी केन्द्रकी ओनसरी घर्तीजस्ता हेभीवेट नेतालाई हराएर सांसद बनेकी थिइन् सोबिता। उपसभामुखकी आकांक्षी भए पनि पार्टीको निर्णय उनको पक्षमा रहेन।

‘आकांक्षा राख्नु नराम्रो होइन। कानुनी विषय भएकाले मेरो नाम धेरै आयो। छलफलबाट टुंगिने कुरा भयो। धेरै कुरामा छलफल गरेर सर्वसम्मतिले निर्णय भएको छ,’आफू उम्मेवार बन्न नसकेपछि गौतमले भनिन्।

रास्वपाले विवादरहित निर्णय भएको सन्देश दिन होला इन्दिराको प्रस्तावक नै गौतमलाई बनाइदियो। बन्दी जीवन बिताइरहेका आमाबुवाका बालबालिकको पालनपोषण गरेर समाजसेवीका रुपमा कहलिएको नाम हो इन्दिरा रानामगर। पार्टीले उम्मेदवार बनाएपछि उनको प्रतिक्रिया थियो - मैले आशा गरेको विषय नै होइन।

सभामुख र उपसभामुखपछि अबको 'हट इस्यु' बन्ने छ- राष्ट्रपतिको निर्वाचन। चर्चा एमाले नेताको हुने नै भयो, किनकि अहिले शक्तिमा पुग्ने अधिकांश एमालेकै नेता छन्।

झापाकै सिटौला राष्ट्रपति बनेर फेरि झापाको बर्चश्वलाई निरन्तरता देलान्? जवाफका लागि नयाँ समीकरण र चुनावी नतिजा भने कुर्नै पर्ने हुन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell