PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

चीनका अधिकांश शहरमा कोभिड-१९ ले उच्च विन्दु पार गरेको दाबी, वसन्त पर्वपछि अझै बढ्न सक्ने



विधुर ढकाल

चीनका अधिकांश शहरमा कोभिड-१९ ले उच्च विन्दु पार गरेको दाबी, वसन्त पर्वपछि अझै बढ्न सक्ने

सांघाई : हालैका दिनहरूमा लाखौँ चिनियाँहरू आफ्नो गृहनगरमा फर्किरहेका छन्। जनवरी २१ मा चिनियाँ नयाँ वर्ष ‘वसन्त पर्व’ मनाइँदै छ।

यही पर्वका लागि जनवरी ७ देखि चिनियाँहरु वसन्त पर्वको यात्रामा निस्किएका छन्। एकातिर वसन्त पर्वको चटारो त अर्कोतिर तीव्र गतिमा कोभिड-१९ को लहर पनि चीनमा उत्तिकै फैलिरहेको छ।

अधिकांश चिनियाँ मेगा सिटीहरूमा कोभिड-१९ को लहरले चरम सीमा पार गरिसकेका छन्। राजधानी बेइजिङसँग सांघाईले कोभिड-१९ को उच्च विन्दु पार गर्दै संक्रमणको गति ओरालो विन्दुमा चलिरहेको छ।

मेघा सिटीहरुमा कोभिड-१९ उच्च विन्दुमा पुगेर ओरालो लाग्दै गर्दा वसन्त पर्वको यात्राले ठूलो मात्रामा महामारीलाई बढावा नदिने विशेषज्ञहरुले विश्वास लिएका छन्। यद्यपि, विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा केहीरुमा आम संक्रमण फैलिन सक्ने उनीहरुले आँकलन गरिहेका छन्। चिनियाँहरु वसन्त पर्वलाई राष्ट्रिय पर्वको रुपमा महत्त्वका साथ मनाउने गर्छन्।

चीनमा वसन्त पर्वमा सबैभन्दा लामो बिदा हुन्छ। जनवरी ७ देखि चालिस दिनसम्म वसन्त पर्वको यो यात्रा सुरु भइसकेको छ।

ठूला शहरहरु सांघाई र ग्वान्झाउमा कोभिड संक्रमणको उच्च विन्दु पार भइसकेको त्यहाँका प्रान्तीय स्वास्थ्य आयोगले घोषणा गरिसकेका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले बिहीवार अधिकांश प्रान्तहरुले कोभिड-१९ का तीन वटा उच्च विन्दु पार गरिसकेको जनाएको छ। एनएचसीको मेडिकल इमर्जेन्सी रेस्पोन्स डिपार्टमेन्टका निर्देशक कुओ यान्होङले बिहीवार पत्रकार सम्मेलनमार्फत् देशभर फिवर क्लिनिकमा आउने बिरामीको संख्या घटेको जानकारी गराए।

डिसेम्बर २३, २०२२ मा देशभर फिभर क्लिनिक भिजिटको संख्या उच्च विन्दुमा पुगेको भन्दै उनले जनवरी १७ सम्ममा यो संख्यामा ९४ प्रतिशतले कमी आएको तथ्यांक प्रस्तुत गरेको ग्लोबल टाइम्सले जनाएको छ।

कुओका अनुसार अस्पतालका इमरजेन्सी विभागमा भर्ना हुनेको संख्या राष्ट्रिय रुपमा जनवरी २ मा शिखरमा पुगेकोमा जनवरी १७ मा उच्च विन्दुबाट ४४ प्रतिशतले कमी आएको छ।

एनएचसीको तथ्यांकमा अस्पतालहरूमा गम्भीर अवस्थाका बिरामीहरूको संख्या जनवरी ५ मा उच्च विन्दुमा पुगेकोमा जनवरी १७ सम्ममा ४४.३ प्रतिशतले घटेको उल्लेख छ। ग्वान्झाउका अधिकारीहरुले बुधवार महामारीको अन्तिम चरणमा प्रवेश गरेको बताएका छन्।

ग्वान्झाउमा ८५ प्रतिशत जनसंख्या कोभिड-१९ बाट संक्रमित भइसकेको त्यहाँको स्वास्थ्य निकायले जनाएको छ। ग्वान्झाउमा अधिकांश संक्रमितमा ओमिक्रोनको बीए.५.२ को संक्रमण देखिएको उल्लेख छ। यहाँ एक्सबीबी भेरियन्ट हालसम्म फेला नपरेको बताइएको छ।

त्यहाँका स्वास्थ्य आयोगका उपनिर्देशक तथा प्रवक्ता झाङ यीले बसन्त पर्वको लागि स्वास्थ्य सेवाको आवश्यक तयारी भइहेको बताएका छन्। झाङले प्रान्तभर १२० आपतकालीन कमाण्ड प्रणाली अन्तर्गत २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख छ।

सांघाईले पनि कोभिड लहरका बिच संक्रमणको उच्च विन्दु पार गरेको जनाएको छ। त्यहाँको स्वास्थ्य आयोगका अधिकारीले डिसेम्बरको अन्त्य तिर संक्रमण उच्च विन्दुमा पुगेको र त्यसयता निरन्तर रुपमा ओरालो लागेको बताउँदै संक्रमणको उच्च विन्दु पार भइसकेको दाबी गरेका छन्।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (चाइना सीडीसी) का पूर्व प्रमुख महामारी विशेषज्ञ जेङ कुआङले महामारीको चरम विन्दुमा गिरावट आइरहेको बताएका छन्।

‘अत्यावश्यक बिरामीको संख्या र गम्भीर केसहरू दुवै घट्दै छन्, र धेरै अस्पतालहरूले बेड र मेडिकल स्टाफको अभावको सबैभन्दा गम्भीर अवस्थालाई पार गरेका छन्,’ उनले ग्लोबल टाइम्ससँग भनेका छन्।

हाल करिब ८० प्रतिशत प्रमुख सहरमा संक्रमणको उच्च सीमा नाघेको र दुर्गम ग्रामीण क्षेत्रले बसन्त पर्वको समयमा बढ्दो चुनौतीको सामना गर्नुपरेको बताएका छन्।

बुधवारसम्म वसन्त पर्वको यात्राको १३ औं दिन रेलमार्फत गरिएको कुल यात्री यात्राहरू, सडक, जलमार्ग र नागरिक उड्डयन ४८० मिलियन पुगिसकेको छ, जुन गत वर्ष भन्दा ४७.१ प्रतिशतको बृद्धिदर हो।

अधिकांश मानिसहरु शहरबाट गाउँ फर्किरहेका कारण ग्रामीण भेगमा स्वास्थ्य स्रोतको कम हुन नदिन चीनको राज्य परिषद्ले जनाएको छ। त्यहाँका लागि ३२ वटा समूहहरु परिचालन भएको कृषि तथा ग्रामिण मामिला मन्त्रालयका अधिकारी माओ तचीले बताएका छन्।

त्यस्तै, १.१७ मिलियन बढी अक्सिमिटर ६०० हजार ग्रामीण स्वास्थ्य क्लिनिकहरुमा पठाइएको उनले बताए। त्यस्तै, ८३२ सुधारिएका काउन्टीहरुमा अक्सिजन जेनेरेटर पढाइएकोसमे तउनले बताएका छन्।

चिनियाँ अधिकारीहरुले कोभिड-१९ संक्रमणको उच्च विन्दु स्वास्थ्य तयारी भन्दा पछाडि रहेको दाबी गरिरहेका छन्।

यद्यपि, चीनमा पछिल्लो १ महिनामा करिब ६० हजार कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। गत वर्ष डिसेम्बर ७ देखि चीनले शून्य कोभिड नीति खारेज गरेसँगै संक्रमितको मृत्यु बढेको हो। यो मृत्यु तीन वर्षमा भएको मृत्युको झण्डै १० गुणा हो।

डिसेम्बर ७ देखि चीनले कोभिड-१९ व्यस्थापनलाई ‘ख’ वर्गमा वर्गीकरण गर्दै खुकुलोपनको नीति अपनाएको छ। साथै, सार्वजनिक यात्रा खुला गरेको छ। जनवरी ८ देखि अन्तर्राष्ट्रिय यात्रामासमेत खुकुलो पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell