PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पाँचतारे होटलको साहु धनी कि कर्णालीकी चिया पसले आमै?



ऋषिकेश दाहाल

पाँचतारे होटलको साहु धनी कि कर्णालीकी चिया पसले आमै?
तस्विर : डा नवराज केसीको फेसबुकबाट

यसपाला तेस्रो पटक कर्णालीको यात्रामा छु। पहिलो र दोस्रो भन्दा बिल्कुलै अलग। अनि फरक दृष्टिकोण सहितको।

पहिलो पटक कर्णाली राजमार्ग बन्नुअघि सुर्खेतदेखि हिँड्दै कालीकोटको यात्रा थियो। माओवादीको समानान्तर सत्ताको रिपोर्टिङका लागि दैलेख, अछाम हुँदै कालीकोटको यात्रा आफैँमा अद्भुत थियो। 'जनसरकार' घोषणाका लागि भएको त्यो यात्रा बजार र सैनिक क्याम्प छल्दै माओवादी नियन्त्रित भूगोलमा सीमित थियो। पत्रकारको 'जत्था'लाई ठाउँठाउँमा माओवादी लडाकुबाट सलामी र बम बारुदको धुँवाले गरिएको स्वागत! 'प्राविधिक प्रश्न सोध्न निषेध' सहितको त्यस यात्रामा अछाममा एक महिलाले प्रश्न गरेकी थिइन् - कुन चौकी हान्या हौ?

पसिनाले निधारमा लगाएको अविर बगाइरहेको रहेछ। रक्तरञ्जीत हो या अविरको रङ? कसरी चिन्नु। उनलाई लागेछ – हामी प्रहरीको चौकी उडाउन पुगेका 'मिलिसिया'! यात्रामा 'हाइवे' बाहेक कतै देखिएका थिएनन् सुरक्षाकर्मी। कालीकोटमा जिल्ला जनसरकार घोषणाकै अघिल्लो रात राजधानीमा भने गोली चलेछ। राजा वीरेन्द्रको वंशनाशसँगै राजतन्त्र पतनको यात्रा सुरु भएको दिन। यसकारण पनि कर्णालीको त्यस यात्रा स्मृतिमा अमेट बनेको छ।

दोस्रो पटकको यात्रा निक्कै पृथक रह्यो - कर्णाली राजमार्ग बनिसकेकाले। कतै कालोपत्रे त कतै खुस्किएका ढुङ्गाले पटकपटक गाडी ठेल्नुपर्ने। राजमार्गको परिभाषामा कसरी अट्यो थाहा भएन तर एकै दिन सुर्खेतबाट जुम्ला पुगियो। जुम्लाबाट ६ घन्टामा अछामको साफे बगर। जतिसुकै खराब भए पनि राजमार्गले दुरी घटाएकै थियो। दोस्रो यात्रामा कायापलट भएको कर्णाली देखियो। जुम्लामा सुविधासम्पन्न होटल र मार्सीको भातले व्यापार जमाइसकेको थियो। पल्सरमा युवतीहरु कलेजतिर हुइँकिरहेको दृश्य २०५८ मा देखेको कर्णालीभन्दा अलग थियो। ट्याम्पोमा विद्यार्थी निजी स्कुलतिर ओसारिँदै गरेको दृश्य होस् या खुलेका 'ग्रसरी', सबैले कर्णालीमा भित्रिँदै गरेको आधुनिकताको संकेत गरिरहेका थिए।

यी दुई भौतिक यात्राले परिवर्तनका दृश्यलाई जसरी व्याख्या गरिरहेको थियो - तेस्रो यात्रा विल्कुल फरक। यसपाला म अभौतिक यात्रामा छु। मेरा दुई भौतिक यात्राभन्दा गहन छ यसपालाको यात्रा। दुई यात्रामा म मेरा दृष्टिकोणबाट कर्णालीलाई चिहाइरहेको थिएँ। यसपाला डा नवराज केसीको दृष्टिकोणबाट यात्रारत छु। अघिल्ला दुई यात्रा मेरा लागि 'प्यारासुट जर्नलिज्म'का प्रशस्ति थिए। केसीको 'शून्यको मूल्य' किताब मेरा दृष्टिकोणभन्दा नितान्त फरक। पत्रकारको दृष्टिकोणबाट उतारिनुपर्ने कथाका श्रृङ्खलालाई एकजना डाक्टरले उतारेको देख्दा इर्श्या पनि लाग्यो। अनि खुशी हुनुपर्ने आधार पनि बन्यो - कर्णालीको समाज बुझ्ने गहकिलो खुराक मिलिरहँदा। यसकारण डाक्टर केसीका आँखाबाट कर्णालीलाई नियाल्दै र बुझ्दै जाँदा कतै असह्य पीडा बोध भयो त कतै संघर्षसँग डट्नेहरुको मानवताले मन आनन्दित पनि बनायो।

मुलुकको विकटकै पनि विकट हो कर्णाली। पञ्चायतकालदेखि चामलको परनिर्भरताले जकड्दै लगेको यो प्रदेश कति गरिव छ? गरिवको मापन पो गर्ने कसरी? एउटा आँखा गुमाएकी बुढी आमै आफ्नो चिया पसलमा आएका ग्राहकका सन्तानलाई दूध पिलाएपछि त्यसको मूल्य लिन तयार छैनन्।

'चार वर्षे भोको बच्चोलाई २५० रुपैयाँमा एक गिलास दूध बेच्ने नेपालगञ्जको पाँचतारे होटलको साहु धनी कि यो छाप्रोमा दूधको पैसा नलिने चिया बेच्ने यी बज्यै?'

तेस्रो पटक पाठकका रुपमा कर्णालीको यात्रामा डाक्टर केसीले उठाएको सवालले तरङ्गित यसरी बनायो कि किताबमा ठाउँठाउँमा ठेस लाग्ने गरि रहेका 'टाइपो' र दोहरिएका शब्दप्रतिको आक्रोश एकाएक निस्तेज बन्दै गयो। पुस्तकमा सुरुदेखि नै भाषिक त्रुटि भेटिन्छन्। दोहरिएका वाक्यहरु पनि उत्तिकै। लेखक कतिपय स्थानमा अति नै भावुक भएर बहकिएका छन्। सम्पादन गर्नेले तिनलाई रोक्नसक्थे। विम्बको प्रयोग पनि कतिपय सन्दर्भमा अस्वभाविक लाग्छन्। लेखकले आफैँलाई 'डाक्टर' भनिरहनु पर्थेन। प्रथम पुरुषबाटै अगाडि बढाएको भए अझ गजब हुने थियो। केसी कसरी यो पेशामा जोडिए भन्ने सन्दर्भ आइसकेपछि अरुकै कथा झै पस्किन किन पर्थ्यो र? पहिलो पुस्तक भएकाले डाक्टर केसी यस सन्दर्भमा बढी नै 'सचेत' भए झै लाग्छ। कथा शैली आख्यानभन्दा फरक छैन। तर, लेखेकले समय सन्दर्भसमेत नजुटाउँदा बलियो गैर आख्यान पनि बन्न सकिरहेको छैन। यद्यपि, जसरी कर्णालीलाई लेखकले शब्दमा उतारेका छन् त्यसले लेखनीका यावत् कमजोरीलाई ढाक्छ। गैर आख्यानलाई आख्यानको शैलीमा प्रस्तुत गर्दा कतिपय अवस्थामा यसमा प्राण भरिएको पढ्नेहरुले अनुभूति गर्छन् - यसको जति तारिफ गरे पनि पुग्दैन। अनि आख्यान र गैर आख्यानको बहस हुनैपर्ने कारण पनि बन्दैन।

पुस्तकमा कर्णालीको एउटा चिकित्सकले विरामीको मात्र उपचार गरिरहेको देखिन्न। रोगको संक्रमण र त्यसको उपचारका अलावा उसले समाजिक र आर्थिक दृष्टिकोणबाट त्यसको बहुआयामिक पाटोहरुलाई केस्राकेस्रा बनाएर डायग्नोसिस गरेको छ। गरिव कर्णाली भन्ने भाष्यविरुद्ध 'जेहाद' छोडेको छ - मानवीय संवेदनामार्फत्। समाजबाट अलग अनि बिरालोसँगको सामिप्यतामा हुर्किएको बालकको नफुटेको बोलीको सन्दर्भले कर्णालीको सामाजिक विभेदको चरम अवस्थामाथि नै शल्यक्रिया गर्छ।

पेशागत हिसाबमा पात्रहरु लेखकसँग ठोक्किन आइपुगेका छन्। लेखकबाट दुर भएका पनि छन्। कोसेली पठाएर जीवन रक्षा गरेकोमा धन्य भएको सन्देश पठाउनेहरु पनि छन्। अनि कतिपय पात्रहरु लेखकको यात्राका दौरानमा भेटिएका छन्। अधिकांश पात्रहरु आर्थिक या सामाजिक हिसाबले असाध्यै कमजोर स्थितिमा छन्। तर, तिनैभित्र लेखकले सम्पन्नता भेटेका छन्। अथाह ज्ञानको भण्डार पहिचान गरेका छन् भलै तिनले अक्षर नचिनेका किन नहुन्।

कर्णालीलाई चिनाउँदै लेखकले त्यहाँका महिलाको संघर्षलाई शब्दमा उतारेका छन्। तिनको संकल्प र साहसको वर्णन गरेका छन्। सानैमा आमा भएकादेखि चरम विभेदको सिकार भोगिरहेकाहरुलाई शब्दमा उतारेका छन्। विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका भन्दा संघर्ष र अनुभवबाट खारिएका महिलाको चित्रण निक्कै रोचक लाग्छ। त्यसैले पनि मेरा दुई भौतिक भ्रमणभन्दा कर्णालीलाई बुझाएको छ शून्यको मूल्यले। आखिरी सन्दर्भमा खगेन्द्र नवजीवन केन्द्रको परिसरमा रहेको अर्थोपेडिक अस्पतालमा जोडिन्छन् डाक्टर केसी। त्यहाँ पनि उनले कर्णालीकै पात्र भेट्छन् - एक विद्रोही महिला।

खगेन्द्र नवजीवन केन्द्र आफैँमा एउटा संसार हो। अपाङ्गता भएकाहरुको घरदेखि स्कुलसम्म छ यहाँ। त्यही संसारमा कार्यरत रहँदा डाक्टर केसीले शहरी सभ्यतालाई नमीठो पारामा उतारेका छन्। सडकमा भेटिएकी नाङ्गी युवतीको सन्दर्भ र बिचौलियाको रजगजको शहरी सभ्यताले काठमाडौं कर्णालीभन्दा निक्कै कमजोर अनुभूति हुन्छ। कर्णालीदेखि काठमाडौंसम्म जोडेका छन् उनले शून्यको मूल्यमा। उनको सास,सहास र स्नेहको कथाले पटकपटक आँशा भिजाउँछ। 

२०५७ सालको कर्णाली यात्रादेखि म आफैँ हुर्केको थलो 'अपाङ्ग'सम्मको यात्रा गराएकाले पनि हुनसक्छ यस पुस्तकप्रति मेरो आशक्ति धेरै नै रह्यो। मेरा स्कुले साथीहरु त्यही खगेन्द्र नवजीवनभित्र हुर्किएका थिए। केही साथी त्यहीँ काम पनि गर्छन्। त्यसैले निकटताको प्रभाव ममाथि अलि धेरै नै परेको छ। तर, यति चाहिँ भन्न सक्छु - कर्णालीलाई चिन्न चाहनेका लागि 'शून्यको मूल्य' अतुलनीय छ। म आफैँले दुई पटक यात्रा गरेर देखे भोगेको भन्दा निक्कै गहन र गहिरो पनि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell