PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रश्न सोध्दा बालेनले उल्टै सोधे 'तिम्रो गाउँको मेयरले के गरिरहेको छ?', विशाल भण्डारीको जवाफ : तपाईंकै काठमाडौंको मतदाता हुँ



पहिलोपोस्ट

प्रश्न सोध्दा बालेनले उल्टै सोधे 'तिम्रो गाउँको मेयरले के गरिरहेको छ?', विशाल भण्डारीको जवाफ : तपाईंकै काठमाडौंको मतदाता हुँ

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र फिल्म निर्देशक विशाल भण्डारीबिच सामाजिक संजालमा आरोपप्रत्यारोप चलेको छ।

अहिले मेयर बालेनले सुरु गरेका कामहरु लथालिङ्ग छाडेको भन्दै आलोचना भइरहेको छ। निजी सम्पत्तिमाथि महानगरले डोजर चलाएको बारे महानगरको कार्यपालिका बैठकमा नै प्रश्न उठेको छ। यसबिच शुक्रवार राति भण्डारीले बालेनले लथालिङ्ग पारेका कामको पर्चा फेसबुकमा हालेर प्रश्न गरेका थिए। उनले पाँच वर्षमा बालेनले काम गरेर देखाए विरोधका स्वरलाई विकासको डाटाले दबाउन सकिने भन्दै सचेतसमेत गराएका थिए।

भण्डारीले महानगरमा भत्काएको बाहेक बनाएको केही नदेखको भन्दै भत्काउने काम भन्दा बनाउने काममा लाग्न आग्रह गरेका थिए।

भण्डारीको सो पोस्टमा मेयर बालेनले कमेन्ट मात्र गरेनन्, भण्डारीले निर्माण गरिरहेको शोहरु पैसाले मात्रै जित्ने भन्दै टिप्पणी गरे।

'तिम्रो शो पैसाको भोटले जितिन्छ। तिमी पैसा कमाउन आएको हौ।तिम्रो अस्तित्व पैसा बाहेक केही छैन। तिमीलाई जीवनमा पैसा बाहेक केही कमाउनु छैन। तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन,' बालेनले भण्डारीमाथि आरोप लगाउँदै लेखेका छन्।

बालेनको उत्तरपछि विशाल भण्डारीले आफूले प्रश्न सोधेको भन्दै बालेनलाई 'श्री ८' भने। बालेनले सो पोस्टमा पनि कमेन्ट गरे। र, राति भण्डारीले रक्सी खाएर काम गरिरहेको मान्छेलाई दु:ख दिएको भन्दै गैरजिम्मेवारीपूर्ण कमेन्ट गरे।

'प्रश्न सोध्न पाइन्छ भाइ। काम गरिरहेको मान्छेलाई, दारु खाएर राति राति दु:ख दिन पाइँदैन। तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ?,' बालेनले भण्डारीलाई मदिरा पिएर लेखेको आरोप लगाउँदै प्रश्न गरे।

त्यसमा विशाल भण्डारीले आफू काठमाडौं महानगरपालिका वडा ३२ मै मतदाता भएको भन्दै बालेनलाई सम्झाए : बालेन शाह म तपाईंकै केटीएम ३२ नम्बर वडा को भोटर हुँ। त्यहाँ तपाईंले पाएको मत अन्तर याद आयो होला नि।

अहिले यी दुईजना बिच मध्यरातमा भएको सवालजवाफको सामाजिक संजालमा चर्चा भइरहेको छ। अधिकांशले बालेन प्रश्नबाट भाग्न खोजेको र तल्लोस्तरको जवाफ दिन उत्रिएको भन्दै आलोचना गरेका छन्। केहीले भने बालेनलाई काम गर्न दिनुपर्ने भन्दै बचाउ गरिरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell