
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालयबाट शुक्रबार जारी भएको प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराएका छन्। सभामुखसँग समय मागेर बोल्दै उनले प्रेस विज्ञप्तिमार्फत अपराधी पक्राउ गर्न निर्देशन दिनु गलत भएको बताए।
'अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिन हुन्न, यो ठीक पनि होइन,' उनले भने।
प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको त होइन भनी प्रश्न गरे।
सांसद खतिवडाले उक्त विषयमा सभामुखबाट रुलिङकोसमेत माग गरेका छन्।
गृह मन्त्रालयले शुक्रवार नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित पत्राचार गरेको थियो। गृहमन्त्रीबाट पटक पटकको मौखिक निर्देशन पालना नभएको भन्दै मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको प्रवक्ता फणिन्दमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
असई थमन विकको हत्या अभियोग लागेका महतो प्रहरीको फरार सूचीमा छन्। फरार रहेकै अवस्थामा एमालेबाट महोत्तरी १ बाट उनी निर्वाचित भएका थिए।
निर्वाचित भएपछि शपथ समारोह तथा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा उनी उपस्थित भएका थिए। त्यसपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको आलोचना भएको थियो। रविले भने विधि र प्रक्रिया पुर्याएर अपाधी समाउने बताएका थिए।