PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

ओलीलाई पढाउनुपर्ने भन्दै मेटमणिको कटाक्ष : कुतर्क गर्नेलाई मेरो तलबबाट कटाएर कोचिङ क्लास दिनुपर्‍यो



पहिलोपोस्ट

ओलीलाई पढाउनुपर्ने भन्दै मेटमणिको कटाक्ष : कुतर्क गर्नेलाई मेरो तलबबाट कटाएर कोचिङ क्लास दिनुपर्‍यो

काठमाडौं : प्रतिनिधि सभाको शनिवारको बैठकमा नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गरेका छन्। उपसभामुख चयनका लागि बसेको बैठकमा चौधरीले नेपाली कांग्रेसका तर्फबाट उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै ओलीप्रति कटाक्ष गरेका हुन्।

उनले ओलीको नाम नलिएर प्रतिनिधि सभा विघटन ठिक थियो भन्ने तर्क गरेको भन्दै ओलीलाई संविधान पढाउनुपर्ने बताए। राष्ट्रपतिसँग 'सेटिङ' मिलाएर चुनाव तोक्ने र त्यसलाई जनादेश भनिएको भन्दै चौधरीले आक्रोश व्यक्त गरेका हुन्। 

'आफ्नो कानुन आफूलाई मिलाएर राष्ट्रपतिसँग सेटिङ मिलाएर निर्वाचनको मिति डिक्लिएर गर्ने गरेका छौं। यसलाई ताजा जनादेशका रुपमा डिफाइन गरिरहेका छौं,' उनको भनाइ थियो।

चौधरीले २०४७ र २०७२ सालको संविधानको फरक बुझ्नका लागि पनि ओलीलाई पाठ पढाउनुपर्ने बताएका हुन्।

'सत्य सावित गर्नका लागि हजारौं पटक झुटको खेति गरिरहेका छौं, तर्क गरिरहेका छौं। भए नभएका उदाहरण प्रस्तुत गरिरेका छौं। यस्तो भए नभएका कुतर्क गर्नेलाई नेपालको संविधान २०४७ र २०७२ को धारा उपधाराको राम्रो अध्यनका लागि कोचिङ क्लासको व्यवस्था गर्नुपर्छ,' उनले भने।

पढाउनका लागि बजेट नभए आफ्नो सेवा सुविधाबाट ओलीलाई पढाउन प्रस्ताव गर्दै चौधरीले व्यङ्ग्य गरेका थिए।

'सम्भवत प्रतिनिधि सभामा कोचिङ क्लासका लागि बजेटको व्यवस्था छैन होला। मैले आफूले पाउने सेवा सुविधाबाट कट्टि हुनेगरि जो जो यो कुराको डेफिनेशन, लजिक बेठिक गरिरहेका छन् तिनलाई कक्षामा राखेर पढाउनका लागि म अनुरोध गर्न चाहन्छु,' चौधरीले भने।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको दिन प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक नभएको दाबी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell