PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पढाई छाडेर जनयुद्धमा होमिएका क्षितिजको 'भेडीकम्बलको प्वाल' : के छ यो कथासंग्रहभित्र?



पहिलोपोस्ट

पढाई छाडेर जनयुद्धमा होमिएका क्षितिजको 'भेडीकम्बलको प्वाल' : के छ यो कथासंग्रहभित्र?

काठमाडौं : साहित्यकार क्षितिज मगर कथासंग्रह 'भेडीकम्बलको प्वाल' सार्वजनिक भएको छ। शनिवार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरुको टोलीले क्षितिजको चौथो कृति सार्वजनिक गरे।

जनयुद्धका समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति भएको पूर्व ब्रिगेड सहायक कमान्डरसमेत रहेकी होलिका केसीले बताइन्। 'दर्जनौ लडाईमा हामी सँगै लड्यौं। पहिले उहाँ बन्दुक चलाउनुहुन्थ्यो। अहिले कलम चलाउनुहुन्छ,' केसीले भनिन्, 'दुखी गरिबको पक्षमा कलम चलाइरहनुहोला।'

नेपाली वर्ग संघर्षमा आफूहरु गुमनाम रहेको उल्लेख गर्दै केसी यस्ता पात्रको पक्षमासमेत कलम चलाउन आग्रह गरिन्। 'नेपाली वर्ग संघर्षमा हामी गुमनाम छौ। हामीलाई पनि समेट्नु होला,' उनले भनिन्।

१२ बुँदेमा ब्रेक लाग्दा निम्तोतिर

साहित्यकार एवं पत्रकार नवीन विभासले जलजलाको कथा सुनाउँदै जनयुद्धको शुरुवाती चरणको वृत्तान्त सुनाए। विभासले कथाकार क्षितिजको जन्मको कथा झिक्दै भने, 'लोककथा सुनाउँदा एकादेशमा धेरै वर्षअघि एउटा पहाड थियो। त्यो पहाडलाई गमागमेरी भन्न थालियो। पछि जलजला भन्न थालियो। पहाडको काखमा एकातिर थवाङ थियो अर्कोतिर जलजला थियो। ती पहाडमा मगरहरु बस्थे। त्यो जुगमा एउटा मर्दै गरेको मान्छे त्यो पहाडमा गयो। त्यसले भन्नथाल्यो। त्यसले दुखको कुरा गर्‍यो। आँधीको कुरा गर्‍यो। त्यसपछि पढाउने मास्टरसँग उकालो चढ्यो। ती मास्टरसँग के भन्यो भने म मरे भने मेरो लाश पहाडको फेदमा गाड्दिनु। त्यो देशमा संयोगले आँधी सिर्जना भयो। त्यो आँधी कसरी सिर्जना भयो भने अब काँचुली फेर्नुपर्छ यो ठाउँ यो समाजको काँचुली फेर्नुपर्छ। फ्युडल क्यापिटलिजम यस्तायस्ता कुरा फेर्ने हो। आँधी चलेछ। आँधी चलिसकेपछि त्यहाँका रुख पात अंगप्रत्यंग हल्लिए। हल्लिँदै जाँदा जेलबाङको सानोसानो बड्डो जसको भर्खरै जुँगाका रेखीहरु बस्न थालेका थिए। स्कुलको झोलाहरु फालेर हिँडे। किनकि उसका पनि साना सपनाहरु थिए। हाम्रो गाउँको काँचुली फेर्नुपर्छ भन्थ्यो उ। धेरै लडे आँधीमा। उ सदस्य हुँदै कमान्डर हुँदै गए। सहयोद्यहरु गुमाए। खुसी गुमाएका पीडाहरु अक्षरमा पोखिन थाले। आँधीको समयमा त्यो बड्डो कवि पनि भएछ। गीतकार पनि भएछ। बड्डो पछि १२ बुँदेमा ब्रेक लागेछ। त्यही बड्डो क्षितिज मगर निम्तो रेस्टुराँमा झुल्केछ।'

भेडीकम्बलको प्वालमा सिँगो जेलबाङको कथा भएको विभासले सुनाए। कथाहरु मगर संस्कृतिले सजिएकोसमेत उनको भनाई थियो। 'यहाँ जेलबाङको भाषा छ। सिंगै जेलबाङ बोकेको छ। सबै पात्र त्यतैका छन्। मगर संस्कृति मजाले भरिएर आएको छ,' उनले भने, 'क्षितिज मगरका कथा मान्छेका कथा हुन।'

बुर्जुवा शिक्षा भनेर पढ्न छाडेपछिको कथा

साहित्यकार भावेश भुमरी आफै लेखक क्षितिजसँग विभिन्न समयमा भेट्दाको क्षण सुनाउँदा कतिपय भावुक बनेका थिए। 'क्षितिज बुवाबाट पढ्न सिक्थे। बुवाले ३६ लेखेको क्षितिजले ६३ भन्दा कुटाइ खाएको सम्झना हामीलाई सुनाउँथे। राजनीतिक खिचातानीले कक्षा १० को पढाई बिग्रियो। ५२ सालमा एसएलसी दिनुभएको। दिउँसो इक्ज्याम दिन जान्थे। राती नेताहरुलाई भेट्थे। नेताहरु त्यतिखेर भन्थे - बुर्जुवा शिक्षा नपढ। नेताहरुलाई भेटेको देखेर सेनाको निगरानीमा परे। एसएलसी राम्रो भएन,' भावेसले क्षितिजले युद्ध शुरु गरेको कथा झिके, 'त्यसपछि एसएलसी दिन बसेको डेरा छाडेर कुम्लो कुटेरो बोकेर गाउँ लागे। गाउँमा छिमेकोको घरमा भाडाकुडा थन्क्याएर जनयुद्धमा लागे। गीत लेख्ने। गीत गाउने पनि। कलाकारितालाई देखेर क्षितिजलाई जनसेना बन्न माथिल्लो नेताहरुले प्रेरित गरे। 'गण्डक अभियान'मा लागे उनी। यसमा कसरी हमला गरे भन्ने विषयहरु उल्लेख छ।'

त्यसपछि भावेसले युद्धताका क्षितिजको भूमिकाको प्रसंग उप्काए। अनि १२ बुँदे सम्झौता र सेना समायोजनको कुरा। 'आर्मीका क्याम्पमा कसरी आक्रमण गर्ने योजना बनाउन अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुनको नेतृत्वमा खट्थे। उनी सेनाको ब्यारेक छेउछाउ पुगेर फोटो खिचेर लान्थे। त्यही फोटोको आधारमा माओवादी भिड्न निस्कन्थे। घमासान युद्ध हुन्थ्यो। ६२/६३ पछि उघा क्याम्पमा हामी बस्न गयौ। २०० साहित्यकार पुग्न पाएका थियौ। त्यहाँ कविता भन्नुभएको थियो। उघाबाट हामी स्वर्गद्वारी गयौ। उहाँ ४ जना बडी गार्ड बोकेर आउनुभएको थियो। शान्ति प्रक्रियामा शैक्षिक योग्यताको कुरा आयो। समायोजनमा शैक्षिक योग्यताअनुसारको कुरा आयो। अन्डर एसएलसी भएपछि उहाँले स्वेच्छिक अवकाश रोज्नुभयो,' उनले भने।

लेखक यही अवस्थाबाट एकाएक रसातलमा पुगेको प्रसंग भावेसले निकाल्दा क्षितित पटकपटक भावुक बनेका थिए। 'पछि जीवन एकदम परिवर्तन भयो। श्रीमती छोराछोरी पाल्नैपर्‍यो। मलाई फोन गरेर भन्नुभयो मेरो बुवा भीरबाट लडेर बित्नुभयो। म पनि रोए। त्यसपछि ज्यामी काम गर्नुभयो। बडीगार्ड बोकेर हिडेको ब्यक्ति रसातलमा पुग्नुभयो। तर अहिले उहाँ सफल कथाकार बन्नुभएको छ,' भावेसले भने।

त्यसपछिमात्र भावेसले कितामा भएका कथाहरुबारे आफ्नो भनाई राखे। 'जनयुद्ध अघिका कथाहरु माओवादीलाई सपोर्ट गरेको कथा हो कि जस्तो लाग्छ। पछिका कथामा माओवादीभित्रका षड्यन्त्र समावेश गरिएको छ। कथा पढ्न रोक्नै मन लाग्दैन। त्यहाँभित्रका प्रेमका कुरा छन्। पात्र रोल्पाकै छ। परिवेश त्यतैका। शाही सेनाबाट प्रताडित भएपछि माओवादीमा लागेको कथाहरु छन्। ओहो म पनि त्यसकै पात्र हो कि जस्तो लाग्छ,' भावेसले आफ्नो भनाईको अन्त्यमा भने।

लेखकले मोर्चा फेरे, आन्दोलन जारी नै

यस कथासंग्रहका भाषासम्पादकसमेत रहेका साहित्यकार प्रमोद प्रधानले किताबमा १८ कथा रहेको उल्लेख गर्दै कथाहरु सशक्त रहेको बताए। 'कथाहरुमा पात्र सामान्य हुन्छन्। सबै पात्र जिउँदा हुँदैनन्। कथालाई सशक्त बनाउन पात्रलाई जिउँदो बनाउन क्यारेक्टर बलियो बनाउनुपर्छ। भेडीकम्बलको प्वालमा १८ कथा छन्। कथा बनोटका आधारमा सबै सशक्त छन्। यसमा भएको विषयवस्तु माओवादी जनयुद्धकै हो,' प्रधानले भने, 'कतै न कतै यसको चर्चा छ नै। जनयुद्धमा लेखिएको तारा राईको किताब ११ औं संस्करणसम्म गयो। कथाकै रुपमा त यो भेडीकम्बलको प्वाल सशक्त लाग्छ।'

कथाकार अझै युद्धको मोर्चामा रहेको ठम्याई प्रधानको रह्यो। क्षितिजले मोर्चामात्र परिवर्तन गरेको तर्क उनको थियो। 'जनसेनाबाट सर्वसाधारणका रुपमा रुपान्तरण हुनुभएको छ। अहिले राजनीति सत्ता केन्द्रित रहेछ। परिवर्तन त तपशिलका कुरा रहेछन्। यो नांगो सत्यका रुपमा आइपुगेको छ। जसले बन्दुक बोकेको थियो,' प्रधानले भने, 'आज त्यो व्यक्ति कलम रुपी अस्त्र बोकेर अर्को मोर्चामा आउनुभएको छ। उहाँले मोर्चामात्र परिवर्तन गर्नुभएको हो। अब उहाँले परिवर्तनका लागि कलम चलाउनुहुन्छ।'

जनयुद्धमा वैचारिक स्खलनका कुराहरु भए पनि कथामा प्रहरीका मनोविज्ञानका कथाहरु पनि आएकोमा आफूलाई खुसी लागेको उनको भनाई थियो। 'सामाजिक कुरा छन्। राजनीतिक कुरा छन्। वैचारिक स्खलनका विषयहरु पनि छन्। यसमा जनयुद्धका आफ्ना कथाहरुमात्र छैनन्। प्रहरीका कथा पनि छन्। प्रहरीका मनोविज्ञानका कथाहरु पनि छन्। प्रहरीले जनयुद्धमा कसरी मार्‍यो। अवकाशपछि उसलाई कसरी पोल्यो भन्ने कुरा सशक्त रुपमा चित्रण गरिएको छ,' प्रधानले भने।

'शिलालेख होस् भनेर लेखें'

लेखक क्षितिज मगरले आफूले बन्दुक बोकेकोमा कुनै पछुतो नभएको तर्क राखे। युद्धलाई अहिले पनि दुई तरिकाले विद्रुपीकरण गरिएको र ती अमान्य हुने उनको भनाई थियो। 'युद्धलाई दुई तरिकाले विद्रुपीकरण गरियो। एउटा अति सकारात्मक। अर्को अति नकारात्मक,' लेखक मगरले भने, 'सत्ता बन्दुक हो। बिना बन्दुक सत्ता चल्दैन। हैन भने राज्यले बन्दुक फालेर राज्य चलाओस् त।'

गणतन्त्रस्थापनापछि एक जना शिक्षामन्त्रीले जनयुद्धमा होमिएका जनसेना एकदिन बेरोजगार भएर डकैती गरी खाने ठोकुवा गरेकोमा चित्त नबुझेको रहेछ उनलाई। यही किताब लगेर जवाफ दिने तयारी रहेकोसमेत उनले सुनाए। 'एक जना शिक्षामन्त्रीले जनयुद्धमा होमिएकाहरु कति अब गुन्डा र डाँका गरी खान्छन् भन्थे। तर म लेखक भएको छु। उहाँलाई यही किताबबाट जवाफ दिन चाहन्छु,' लेखक मगरले भने।

आफू बन्दुक बिसाएपछि अहिले कमलसँगै गैतीबेल्चासमेत चलाउने गरेको उनको भनाई थियो। 'युद्ध त समाप्त भयो। तर यसका अवशेष बाँकी रहन्छन्। यो अझै रहनेछ। समाजशास्त्रीहरुल भनेको कुरा हो यो। यो चै शिलालेख होस् भनेर लेखेको हुँ,' क्षितिज भन्छन्, 'वैचारिक स्खलनका कुरा आयो। यो पनि राखेको छु। म मजदुरी गर्ने मान्छे हुँ। अहिले गैतीबेल्चा पनि चलाउँछु। कलम पनि चलाउँछु।'

राजनीतिलाई सरापेर कहीै पुगिँदैन

प्रमुख अतिथिसमेत रहेका प्राध्यपक केशव सुवेदीले कथाहरु कवितात्मक भएको बताए। 'किताबमा कथाभन्दा धेरै कविता छ। कवितात्मक छ। गहिरो संवेदनाबिना यस्तो रचना हुँदैन,' सुवेदीले भने, 'रोल्पा बुझ्न, रोल्पाको समाज बुझ्न पनि यो पढ्नुपर्छ।'

जनयुद्ध विद्रुपीकरण भएको भन्ने भनाईमा भने उनलाई पटक्कै चित्त बुझेनछ। राजनीतिलाई सरापेर कही नपुगिने तर्कसमेत उनले प्रस्तुत गरे। 'विद्रुपीकरण छैन। धेरै उपलब्धि पनि भएका छन्। समग्र युद्धलाई श्रापित गर्ने काममा म सन्तुष्ट छैन,' प्राध्यापक सुवेदीले थपे, 'चेकको मात्र मुल्य हैन। हरेक दिन राजनीतिलाई सरापेर कहाँ पुगिन्छ? सरापेर कही पुगिँदैन। बन्दुकको चर्चा पनि शक्तिको सञ्चय हो।'

लेखन आफै पनि शक्तिको सञ्चय भएको दाबी सुवेदीको रह्यो। 'मान्छे आफै शक्ति सञ्चय गर्न चाहन्छ। शक्तिका लागि निरन्तर प्रयत्न गरिन्छ। तपाईको कलम हिजोको कलम बनेर सशक्त बनोस्,' उनले भने। युद्धकालमा आफू रोल्पामै भएको भए कि त शपथग्रहणतिर कि त चिहानतिर हुनेसमेत उनको भनाई थियो। 'रोल्पामा बसेको भए म कि चिहानको मुन्तिर हुन्थे। कि त म दौरासुरुवाल लगाएर शपथग्रहणको कुनै कार्यक्रममा हुन्थ्यो। किनकि त्यही ठाउँमा जहाँ युद्धको शुरु भएको थियो,' सुवेदीले भने।

प्रकाशन सांस्था विवेक सिर्जनशीलका विजयराज आचार्यले कम्युनिस्ट लेखन कम भइरहेको बेला यो साहित्य बजारमा आएको बताए। 'कम्युनिस्ट लेखन कम भइरहेको बेला यो विमोचन कर्म भयो। विमोचनमा उपस्थिति हुँदैन भन्ने डर थियो तर व्यापक उपस्थिति रह्यो। हामीले कम्युनिस्ट साहित्यबाटै प्रकाशन शुरु गरेका थियौ,' आचार्यले भने। रोल्पाको जेलबाङका क्षितिजले १७ वर्ष जनमुक्ति सेनामा बिताएका थिए। कविता लेखनबाट साहित्यमा यात्रा थालनी गरेका क्षितिजका यसअघि आस्थाका पर्खालहरु(कविता संग्रह), सुनछहरीको एनामा(कथासंग्रह), गण्डक अभियान(डायरी) प्रकाशित छन्। क्षितिज इमान्दार भएकै कारण चौथो कृति आएको तर नेतृत्व तहका मान्छेहरुले भने नयाँ नयाँ धुनको चाहमा योद्धाहरुलाई बिर्सन थालेको आचार्यको भनाई रह्यो। 'इमान्दार मान्छे मादलजस्तै भएका छन्। इमान्दार योद्धाको अवस्था यस्तै छ। नेताहरु अहिले नयाँ नयाँ धुनहरु खोजेर मस्ती गर्न थालेका छन्। स्रष्टाहरुलाई जोगाउन लागेका छैनन्। स्वार्थअनुसार गला मिलाउन तम्तयार देखिन्छन् नेताहरु,' आचार्यले भने। १९२ पृष्ठको कथासंग्रहको मुल्य प्रकाशन संस्थाले ४५० रुपैयाँ तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell