PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अत्यधिक चिसोका कारण खुम्बुमा जम्न थाल्यो पानी, दैनिकी कष्टकर बन्दै



रासस

अत्यधिक चिसोका कारण खुम्बुमा जम्न थाल्यो पानी, दैनिकी कष्टकर बन्दै

सोलुखुम्बु : अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ। यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ। चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए।

उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ। खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन्। अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन्। चिसोकै कारण पालिकाभित्र रहेका १७  विद्यालयमध्ये १४ विद्यालय बन्द रहेको जनाइएको छ।

यसपटक हिउँ नपरे पनि उच्च हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि खुम्बुवासीको दैनिकी कष्टकर बनेको स्थानीय तोया श्रेष्ठको भनाइ छ। चिसो बढेसँगै सो क्षेत्रको तापक्रमसमेत घटेर माइनस १० डिग्रीसेल्सियससम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए।

सोलुमा ६५ जनाले लिए अङ्गीकृत नागरिकता

पछिल्लो दुई दशकयता सोलुखुम्बुमा ६५ महिलाले अङ्गीकृत नागरिकता लिएका छन्। विसं २०५८ देखि हालसम्म ६५ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अङ्गीकृत नागरिकता लिनेमा ४९ भारतीय र १६ चिनियाँ रहेको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताए। नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई विवाह दर्ता गर्नेबित्तिकै नेपाली नागरिक हुने कानुनी व्यवस्था छ।

नेपालको संविधानको धारामा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने व्यवस्था छ। यस्तै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्षको नौ महिनामा दुई हजार चार सय आठ थान नेपाली नागरिकता वितरण गरेको छ। यसमा चार सय ५० जनाले प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताइन्।

सोही अवधिमा जिल्लामा चार महिलाले नागरिकताबाट पतिको नाम हटाएका छन्। उनीहरुले सम्बन्धविच्छेदपछि नागरिकताबाट पतिको नाम हटाएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell