
चन्द्रमामा पहिलोपटक पाइला राख्ने को थिए?
तपाईंले जवाफमा भन्नुहुनेछ – नील आर्मस्ट्रङ
तर, चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति को थिए भनेर सोधे सायद कमैले मात्र यसको उत्तर दिन सक्लान्।
चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति हुन् एड्विन 'बज' एल्ड्रिन। सन् १९६९ मा अपोलो ११ मा चन्द्रमामा नीलसँगै बज पनि चन्द्रमाको यात्रामा थिए। फरक यति थियो- नीलले पहिलोपटक पाइला टेके र बज दोस्रो भए।
हाल बज ९३ वर्षका भए। र, भर्खरै उनले लस एन्जलसमा विवाह गरेका छन्। बजले चौथोपटक विवाह गरेका हुन्। यसअघि उनले तीनपटक विवाह गरिसकेका छन्। तीनैजना श्रीमतीको मृत्यु भइसकेको छ। उनकी तेस्रो श्रीमती लोइस ड्रिग केननको सन् २०१२ मा निधन भएको थियो।
विवाह पश्चात प्रतिक्रिया दिँदै बजले आफू र आफ्नी नयाँ श्रीमती एनका फार युवायुवतीझैं उत्सुक भएको बताएका छन्। लामो समयसम्म आफूहरु प्रेममा रहेको र अहिले विवाह गर्न पाउँदा खुसी लागेको उनले बताए। बजकी श्रीमती एनका हाल ६३ वर्षकी भइन्। उनले केमिकल इन्जिनियरिङमा पीएचडी गरेकी छिन्। अहिले भने उनी बजको कम्पनीमा कार्यकारी उपाध्यक्षसमेत छिन्।