
यो वर्ष स्थापति कलाकारका छोरा छोरीले बलिउडमा डेब्यु गर्दैछन्। त्यसैले स्टार किड्स अभिनित फिल्महरुको नाम घोषणा हुने बित्तिकै चर्चा हुने नै भयो।
हिन्दी फिल्म उद्योगमा पछिल्लो समय धेरै स्टार किड्सहरुले फिल्ममा डेब्यु गरे। जसमध्ये केहीले मात्रै फिल्म उद्योगमा आफ्नो छाप छोड्न सफल भए। स्टार किड्सहरुलाई चलचित्रको दुनियाँमा पाइला राख्न जति सजिलो हुन्छत्यति नै गाह्रो आफ्नो परिवारिक सफलतालाई कायम राख्न दबाब हुन्छ।
बलिउडमा जहिलै ‘नेपोटिज्म’ को चर्चा हुन्छ। जसकारण स्टार किड्सलाई आफूलाई स्थापित गर्न अझ बढि कठिन हुनेछ। अवसर र चुनौतीबिच यो वर्ष नयाँ स्टार किड्सहरुले बलिउडमा डेब्यू गर्दैछन।
सुहाना खान
अभिनेता शाहरुख खानकी छोरी सुहाना खान यसवर्ष नेटफिल्कसमार्फत बलिउड उद्योगमा डेब्यु गर्दैंछिन्। उनले फिल्म ‘द आर्चिज’ बाट आफ्नो अभिनय करियर सुरु गर्नेछिन।
न्यूयोर्कमा अध्ययन गरेकी २२ वर्षीया सुहानाले थुप्रै थिएटर नाटकमा काम गरिसकेकी छिन। सामाजिक सञ्जालमा लाखौं फलोअर्स भएकी सुहानाले जोया अख्तरको ‘द आर्चिज’ बाट आफ्नो करियर सुरु गर्न लागेकी हुन्।
खुशी कपुर
श्रीदेवीकी जेठी छोरी जान्हवी कपुरले बलिउडमा आफ्नो स्थान बनाइसकेकी छिन। यसैबिच, श्रीदेवीकी कान्छी छोरी खुशी कपुर पनि बलिउडमा डेब्यू गर्ने तयारीमा छिन।
२२ वर्षीया खुशीले पनि फिल्म ‘आर्चिज’ बाट अभिनयमा पाइला टेक्दैछिन।
अगस्त्य नन्द
बच्चन परिवारको तेस्रो पुस्ता पनि बलिउडमा डेब्यू गर्न तयारीमा छ। अमिताभ बच्चनका नाती अगस्त्य पनि जोया अख्तरको फिल्म ‘द आर्चिज’ बाट बलिउडलमा पाइला राख्दैछन। नन्द अमिताभ बच्चनका छोरी श्वेता बच्चनका छोरा हुन।
फिल्म ‘द आर्चिज’ सिनेमाहलको सट्टा ओटीटीमा रिलिज हुनेछ। यसको टिजर सन् २०२२ मा आएको थियो। टिजर हेरेपछि यी स्टार किड्सलाई सामाजिक सञ्जालमा धेरै ट्रोल बनाइएको थियो। त्यसपछि पनि 'नेपोटिजम'को बहस सिर्जना भएको थियो।
त्यसैले यी स्टार किड्सलाई आफूलाई प्रमाणित गर्न निकै दबाब हुनेछ।
पश्मिना रोशन
संगीतकार राजेश रोशनकी छोरी पश्मिना रोशन पनि फिल्म ‘इश्क विश्क रिबाउन्ड’ बाट बलिउडमा डेब्यु गर्दैछिन्। पश्मिना ऋतिक रोशनकी भतिजी समेत हुन।
सो फिल्म २००३ मा रिलीज भएको शहीद कपूरको फिल्म ‘इश्क विश्क’ को समकालिन रूपान्तरण हो। अभिनेता रोहित सराफ, बाल कलाकार जिब्रान खान र नायला ग्रेवाल पनि फिल्ममा देखिनेछन।
अलिजेह अग्निहोत्री
सलमान खानकी भान्जी अलिजेह अग्निहोत्रीको डेब्यू फिल्म सन् २०२३ मा रिलिज हुने तयारीमा छ।
सलमानकी जेठी बहिनी अलविरा अग्निहोत्री र अभिनेता अतुल अग्निहोत्रीकी छोरी हुन् अलिजेह। उनी राष्ट्रिय पुरस्कार विजेता फिल्म निर्माता सौमेन्द्र पाधीको फिल्ममा देखिनेछन्।
शनाया कपूर
सञ्जय कपुरकी छोरी शनाया कपुर पनि बलिउडमा पाइला टेक्दैछिन। उनी करन जोहरको धर्मा प्रोडक्सनको फिल्म ‘बेध डक’ डेब्यु गर्दैछिन।
करनकै प्रोडक्सनबाट बनेका फिल्महरुबाट आलिया भट्ट, जाह्नवी कपूर, वरुण धवन, अनन्या पाण्डे र इशान खट्टर जस्ता कलाकारहरुले बलिउडमा डेब्यू गरेका थिए। फिल्म ‘बेध डक’ को छायाङ्कन सकिएता पनि रिलिज मिति भने घोषणा गरिएको छैन।
यी स्टार किड्सले पनि पर्दा पछाडि काम गर्नेछन्
यसवर्ष पर्दामा मात्रै होइन पर्दा पछाडि पनि करियर सुरु गर्ने स्टार किड्स पनि छन। जसमा पर्छन शाहरुख खानका छोरा आर्यन खान। आर्यन निर्देशकको रुपमा बलिउडमा प्रवेश गर्दैछन।
यसअघि उनलाई बलिउडमा अभिनेताका रुपमा प्रवेश गर्ने अड्कलबाजी गरिएको थियो। करण जोहरले पनि आर्यनलाई अभिनयमा डेब्यू गर्न भनेका थिए। तर, आर्यनले भने फिल्म निर्देशनतिर होमिने निर्णय गरे। आर्यनको फिल्मको नाम र कलाकारहरु घोषणा नगरिए पनि फिल्मको छिट्टै छायाङ्कन सुरु हुने बताइएको छ।
विशाल भारद्वाजका छोरा आस्मान भारद्वाजले पनि निर्देशकको रुपमा फिल्म क्षेत्रमा भित्रिएका छन्। उनको पहिलो फिल्म ‘कुत्ते’ १३ जनवरीमा रिलिज भएको थियो।
यी स्टार किड्सलाई दर्शकले कसरी हेर्लान? उनीहरुले दर्शकमा आफ्ना कामको कत्तिको छाप छोड्न सक्लान? र, परिवारको सफलतालाई कायम गर्न उनीहरु सफल होलान वा नहोलान् त्यो भने फिल्म रिलिजपछि थाहा हुनेछ।