
काठमाडौं : प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ भएको प्रमाण फेला पारेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले केही साताको अनुसन्धानपछि फिक्सिङ भएको प्रमाण फेला पारेको हो।
सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। समितिले अनुसन्धान फाइल बुझाउने तयारी गरेको छ।
‘मुद्दा चलाउने गरि प्रमाण फेला परेको छ। चाँडै नै अनुसन्धान टुङ्ग्याउँछौँ,’ ब्युरोका प्रमुख एआइजी उत्तमराज सुवेदीले भने।
केही दिनअगाडि सम्पन्न भएको खेलमा नेपालीदेखि विदेशी खेलाडी खेलेका थिए। यो लिगमा ६ टिममा ९० खेलाडी सहभागी थिए। बेटिङ र फिक्सिङमा संलग्नहरुले एक खेलाडीलाई १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ दिएको खुलेको छ।
त्यस्तै, आइसीसीको एन्टी करप्सन युनिटका म्यानेजर वीर सिंहले पनि घटनाको अनुसन्धान गरेका थिए। आइसीसीको टोली नेपाल आएर घटनाको जानकारी लिएको थियो। आइसीसीले पनि आफ्नो अनुसन्धानको जानकारी सीआइबीलाई दिएको छ।
नेपाल टी-२० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ।
उनलाई प्रहरीले खोजी रहेको छ। तर, उनी सम्पर्कमा छैनन्। प्रहरीले खेलाडी र जतिनलाई मुख्य प्रतिवादी बनाएर आफ्नो अनुसन्धान फाइल अदालतमा पुर्याउने तयारी गरेको छ। नेपाली र विदेशी गरेर ७ जनाभन्दा बढी खेलाडीलाई प्रतिवादी बनाउने तयारी प्रहरीले गरेको छ।