
जनकपुरधाम : दुई साताअगाडि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवकको शव फेला परेको छ। १३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव भारतमा फेला परेको छ।
मृतक दुवैजना एकै परिवारका हुन्। विष्णुलाई लिएर रोहित भारतको सितामढी जिल्लाको बेला परिहारमा आफनो नातेदारका घर गएका थिए। तर, त्यहीँ दुवै जना अपहरणमा परेका थिए।
भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई वटा शव फेला पारेपछि आइतवार बिहान मृतक युवकहरुको आफन्तहरुलाई सनाखतका लागि खबर गरेको थियो। मृतक दुवै जनाको शव अहिले भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ।
शव नेपाल प्रहरीलाई बुझाउने तयारी समेत भइरहेको छ। आफन्तको घर भारत पुगेका दुवै जना सम्पर्कविहीन भएको केही दिनपछि उनीहरुको परिवारलाई फिरौतीका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो।
सुरुमा ५० लाख मागेका अपहरणकारीहरुले पछि फिरौती रकम २० लाख मागेका थिए। अपहरणकारीहरुले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो।
विष्णुको पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो। तर, एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो।