PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रचण्डलाई टुँडिखेलमा प्रश्न : तामाङ मन्त्री खै?, 'राष्ट्रपति जनजातिलाई बनाउनुस्'



नेत्र तामाङ

प्रचण्डलाई टुँडिखेलमा प्रश्न : तामाङ मन्त्री खै?, 'राष्ट्रपति जनजातिलाई बनाउनुस्'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको छैन। पुस ११ गते ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको थियो। माघ ३ मा प्रचण्डले थप १२ जनालाई मन्त्री र ३ जनालाई राज्यमन्त्रीको नियुक्त दिलाए। अहिले उनी नेतृत्व सरकार २३ सदस्यीय मन्त्रिपरिषद् छ।

संविधान अनुसार २५ जनासम्मको मन्त्रिपरिषद बनाउन पाइन्छ। गठबन्धनमा भएको सहमतिअनुसार दलीय आधारमा मन्त्री बनाउनुपर्ने प्रचण्डलाई बाध्यता पनि छ। त्यसैले पनि प्रचण्ड सरकारमा ४ जना उपप्रधानमन्त्री छन्। अहिले दुईवटा मन्त्रालयको कमान्ड पनि प्रधानमन्त्रीले नै सम्हालेका छन्। बाँकी दुई मन्त्रालयमा को मन्त्री होला? गठबन्धन भित्र र बाहिर पनि चासो छ।

यसबिच आज सोनाम ल्होछारको उपलक्ष्यमा टुँडिखेल पुगेका प्रचण्डलाई तामाङ अगुवाहरुले उनको मन्त्रिपरिषद समावेशी नभएको भन्दै प्रश्न गरे। तामाङलाई मन्त्री नबनाएको भन्दै वक्ताहरुले प्रचण्डसामु गुनासो गरे।

तामाङलाई मन्त्री किन नबनाएको?

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलले बाँकी रहेको मन्त्रालयमा तामाङलाई मन्त्री बनाउँन माग गरे। उनले तामाङलाई मन्त्री नबनाएकोमा नुन नपुगेको तरकारी जस्तो भएको टिप्पणी समेत गरे।

'तपाईंलाई प्रधानमन्त्रीमा स्वागत गर्न पाउँदा खुसी लागेको छ। तर एक जना तामाङको छोरोलाई पनि मन्त्रीका रुपमा यो मञ्चमा पाएको पाए कति राम्रो हुन्थ्यो। हामीलाई नुन नपुगेको तरकारी जस्तो लागिरहेको छ। यस्तो खल्लो बनाउन मिल्छ? यस्तो मिल्दैन। अपार भिडले यही भनिसक्यो। केही बाँकी नै होला। एक जना तामाङलाई मन्त्री बनाइदिनुस्,' गोलेको भनाइ थियो।

सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका दिलमान पाख्रिनले समानुपातिक सिद्धान्तको आधारमा प्रचण्ड सरकार नबनेको भन्दै प्रश्न उठाएका थिए।

'तामाङ समुदायबाट एक जना पनि मन्त्री भएनन्। यही हो समानुपातिक सिद्धान्त? तामाङ जाति प्रयोगमात्र भए,' पाख्रिनले भने।

यसपटक दौरा सुरुवालमा प्रधानमन्त्रीको सपथ खाएका प्रचण्ड आफू गएको सार्वजनिक कार्यक्रममा समुदायअनुसारको पहिरन लगाउँछन्। आजको कार्यक्रममा कोट पाइन्ट लगाएका पुगेका प्रचण्डले मञ्चमै तामाङ पहिरन लगाए। नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले प्रचण्डले तागी (टोपी) र गोइली (तामाङ पोसाक) लगाइदिएका थिए।

'राष्ट्रपति जनजाति हुनुपर्‍यो'

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन भइसकेको छ। नेकपा एमालेका देवराज घिमिरे सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर उपसभापति निर्वाचित भइसकेका छन्। अब राष्ट्रपतिका लागि हुनेछ निर्वाचन। राजनीति पनि त्यसैको वरिपरि घुम्ने छ। सायद त्यसैले पनि होला तामाङ समुदायका अगुवाले राष्ट्रपति जनजातिको छोरो बनाउन प्रचण्डसँग माग गरे।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव मधेशी समुदायबाट थिए। उनी पछि नेपालले पहिलो महिला राष्ट्रपति पायो- विद्यादवी भण्डारी। 

आजको कार्यक्रममा भने आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्चे शेर्पाले जनजातिबाट अबको राष्ट्रपति बनाउनु पर्ने सुझाए।

'गोठालाको हातमा मोबाइल पुगिसकेको छ। विद्यार्थी नभएको स्कुलमा शिक्षक पुगिसकेको छ। अब यसलाई व्यवस्थितमात्र पार्नुस्। राष्ट्रपति जनजातिको छोरो हुनुपर्‍यो,' शेर्पाले भने।

शेरबहादुरको गुनासो : तामाङलाई टिकट नै दिँदैनन्

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको गुनासो भने अलि फरक थियो। उनले तामाङलाई चुनावमा टिकट नै पाउन मुस्किल भएको टिप्पणी गरे।

'तामाङहरुलाई टिकट नै दिँदैनन्। टिकट दिए पनि जित्न सक्दैनन्। जितेर आए पनि मन्त्री बन्न पाउँदैनन्। योग्यता पुगेर आउने साथीहरुलाई मन्त्री बनाइदिनुहोला। इमान्दार हुन्छन्,' शेरबहादुरको भनाइ थियो।

कार्यक्रमका अरु वक्ताहरुले तामाङलाई मन्त्री बनाउनुपर्ने भन्दै प्रचण्डलाई दबाब दिएको भए पनि नेकपा माओवादी केन्द्रका सांसदले भने त्यसको बचाउ गरे। माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले सबै सांसद मन्त्री हुन सम्भव नभएको भन्दै अहिलेको मन्त्रिपरिषद समावेशी भएको दाबी गरे।

'हाम्रो क्षेत्रको मतदाता पनि आफूले जिताएर पठाएको सांसद मन्त्री भएको हेर्न चाहन्छन्। तर सबै सम्भव हुँदैन। सबै प्रधानमन्त्री त हुन सक्दैनन् नि। समुदाय र क्षेत्रको सवालमा समुदायले राखेको चिन्ताको सवालमा मेरो पार्टीका अध्यक्ष हुनुभएको हौसियतले मेरो कुरा हुने गर्छ,' माओवादीका सांसद तामाङले भने। 

उनले माओवादीबाट भएका मन्त्रीहरुबारे थप व्याख्या गर्दै भने,'अहिले माओवादीबाट जम्मा ५ जना। एक जना श्रेष्ठ नारायणकाजी श्रेष्ठ। अर्को सुदन किराती। अर्को थारु अमनलाल मोदी। अर्को महिला २ जना रेखा शर्मा र अर्को राज्यमन्त्री दलित समुदायबाट। एकदम समावेशी छ। कमरेड प्रचण्डले गर्व गर्न मिल्ने किसिमको छ। हाम्रो समुदायको कुरा छ। अध्यक्ष कमरेडसँग कुरा बढिरहेको छ।' 

'केही समयभित्रै दुई जना तामाङ मन्त्री हुँदैछन्'

तामाङ भाषाबाटै अभिवादन गरेका प्रचण्डले विगतमा एउटै जातको वर्चश्व रहेको भए पनि अहिले त्यस्तो स्थिति नभएको बताए।

'कहिँ कतै दमन गर्ने प्रवृत्ति थियो ल्होछार यसरी विशाल रुपमा मनाउने अवस्था थिएन। नयाँ संविधानअन्तर्गत नयाँ राष्ट्रिय संस्कृतिलाई प्रवर्द्धन गर्ने जमर्कोमा हामी छौ,' प्रचण्डले भने।

तामाङ समुदायका अगुवाले उठाएका प्रश्नको जवाफ दिने प्रयास गरे प्रचण्डले। उनले यसअघि तामाङलाई मन्त्री बनाएकोबारे बेलिबिस्तार लगाएका थिए।

'तामाङ समुदायबाट हितबहादुर तामाङजीलाई मन्त्री बनाएकै हो। कुमारी मोक्तानलाई पनि। शेरबहादुर तामाङलाई नेकपा कालमा बनाएकै हो। दावा तामाङलाई पनि बनाएकै हो। केही समयभित्रै तामाङको छोरा पनि मन्त्री बनाउँछु । तामाङको छोरी पनि मन्त्री बनाउँछु मैले। धेरै तनाव लिएर घरमा नजानुस्,' प्रचण्डको आश्वासन थियो।

सोही कार्यक्रमबाट प्रचण्डले माघ १५ गतेबाट नेपाल टेलिभिजनमा तामाङ भाषाको समाचार आउने पनि घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell