PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

गैरकानूनी दुबई प्रोपर्टी शोमा पुगेर ५ भारतीयको पासपोर्ट प्रहरीले जफत गर्‍यो



पहिलोपोस्ट

गैरकानूनी दुबई प्रोपर्टी शोमा पुगेर ५ भारतीयको पासपोर्ट प्रहरीले जफत गर्‍यो

काठमाडौंः काठमाडौंमा गैरकानूनी रुपमा आयोजना गरिएको दुबई प्रोपर्टी शोस्थल पुगेर नेपाल प्रहरीले पाँच जनाको पासपोर्ट जफत गरेको छ। प्रहरीले आयोजक भएको आशंकामा उनीहरुको पासपोर्ट जफत गरेको हो। उनीहरु भारतीय भएको खुलेको छ।

‘प्रहरीले जफत गरेका ५ वटा पासपोर्ट बारे अध्ययन गरिरहेको छ। आवश्यक पर्‍यो भने ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं। विस्तृत ढंगले प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ,’ प्रहरी स्रोतले भन्यो।

होटल सोल्टीमा शनिबारदेखि आयोजना भइरहेको अवैध कार्यक्रम चलिरहेको समाचार प्रकाशन गरेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली सोल्टीमोडस्थित सोल्टी होटल पुगेको थियो।

नेपाल राष्ट्र बैंकको चेतावनी विपरीत दुबईको द म्याक नामक कम्पनीले काठमाडौंमा गैरकानूनी रूपमा दुबई प्रोपर्टी शो आयोजना गरिरहेको थियो। प्रहरी टोलीले गैरकानूनी कार्यक्रम भइरहेको जानकारी पाएपछि सोल्टी होटल पुगेर त्यहाँ भइरहेको गतिविधि बन्द गराएको हो।

महानगरीय प्रहरी वृत कालिमाटीबाट डिएसपी अनिल घिमिरेको नेतृत्वमा टोली होटेल पुगेको कार्यक्रम बन्द गराएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

शनिबार र आइतबार काठमाडौंको सोल्टी होटलमा यो कार्यक्रम भइरहेको थियो। सिडि‌ओ कार्यालयले पनि चासो देखाएको छ। सिडिओ कार्यालयले अर्थ र उद्योग मन्त्रालयसँग यस घटनाबारे समन्वय गरिरहेको छ।

नेपालमा बसोबास गर्ने कुनै पनि नेपाल नागरिकले विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न र विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्न पूर्ण बन्देज लगाइएको छ। पुँजीगत प्रकृतिका यस्ता कारोबारको प्रचार प्रसार समेत गर्न नपाइने कानूनी व्यवस्था छ। यसविपरीत दुबईको कम्पनीले राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेश पैसा लैजान पाइँदैन।

लक्जरी अपार्टमेन्ट, टाउन हाउस र भिल्ला उक्त मेलामा ५ प्रतिशत रकम दिएर बुकिङ खोल्ने भन्दै उक्त कम्पनीले आक्रामक रूपमा तयारी गरिरहेको छ। उक्त कम्पनीले घर खरिद गर्नेलाई युएईको १० वर्षे गोल्डेन भिसादेखि बैंकिङ कर्जाको सुविधा दिने जनाएको छ। प्रोपर्टी बुकिङ मात्रै गरे दुई जनालाई ३ रात ४ दिन दुबई लैजाने उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell