
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले वुल्भ्सलाई ३-० गोलअन्तरले हराएको हो।
सिटीको जितमा नर्वेजियन स्ट्राइकर अर्लिङ हल्याण्ड नायक रहे। वुल्भ्सविरुद्ध ह्याट्रिक पुरा गर्दै टोलीलाई सहज जित दिलाएका हुन्। खेलको ४० औं मिनेटमा मिनेटमा केभिन डी ब्रुइनको पासमा सिटीलाई अग्रता दिलाएका हल्याण्डले दोस्रो गोल ५० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरे। त्यस्तै ५४ औं मिनेटमा रियाद महरेजको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे। जारी सिजन हल्याण्डको चौथो ह्याट्रिक हो।
योसँगै सिटीका लागि प्रिमियर लिगमा २० खेलबाट २३ गोल पुरा गरेका छन्।
जितसँगै २० खेलबाट ४५ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा १९ खेलबाट ४८ अंक जोडेको आर्सनल छ। १७ अंक जोडेको वुल्भ्स भने तालिकाको १७ औं स्थानमा छ।