PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मैदानमा मेहेनत तर सिस्टमदेखि ‘फ्रस्टेटेड’ : के आर्थिक पक्षले मात्रै फुटबल खेलाडीहरु विदेशिँदैछन्?



मुकुन्द घिमिरे

मैदानमा मेहेनत तर सिस्टमदेखि ‘फ्रस्टेटेड’ : के आर्थिक पक्षले मात्रै फुटबल खेलाडीहरु विदेशिँदैछन्?

काठमाडौं : केही दिन अघि चिया गफमा एक जना फुटबल खेलाडी अर्का एकजना स्टार फुटबल खेलाडीको कथा सुनाउँदै थिए : पैसा नपुगेर मोबाइल बेच्न कसरी बाध्य भए भनेर। कथाको दायरा सानो होला तर यसलाई ‘प्रतिनिधि’ बनाउने हो भने धेरैको कथा बोक्छ : आर्थिक सुनिश्चिताको, खेलाडीको जीवनशैली र आत्मसम्मानको।

अहिले नेपालका खेलाडी अस्ट्रेलिया गएर ‘विकेन्ड’मा फुटबल खेलिरहेका छन्। नेपालमा लिग अनिश्चित हुँदा भारतका साना प्रतियोगितामा ‘खेप’ हान्न पुग्नुपर्ने नियती खेलाडीको नयाँ होइन। भारतमा हुने अति नै सामान्य प्रतियोगितामा त्यसरी खेल्न जानु लज्जास्पद हुने राष्ट्रिय टोलीका खेलाडी आफैँ बताउँछन्। तर, खेलाडीसँग यसो गर्नुबाहेकको विकल्प पनि छैन। भारत नजाने हो भने जाने कता – अस्ट्रेलिया?

अखिल नेपाल फुटबल संघ (एन्फा) र लिगमा संलग्न क्लबहरु एकअर्कालाई दोषारोपण गर्दै लिगको मिति सरिरहँदा हत्तु भएका राष्ट्रिय टोलीका खेलाडीहरुले पछिल्लो समय त सामाजिक सञ्जालबाटै आवाज पनि उठाए। बल्लतल्ल लिग हुने भएको छ अर्को महिनाबाट। तर, लिगमा स्टार खेलाडीहरु देखिन भने मुस्किल हुने भएको छ।

एन्फाले शुक्रवारमात्र शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘टाइ-सिट ड्र’ गर्‍यो। त्यसदिनसम्म ३० जना बढी ‘ए’ डिभिजन लिग खेल्दै आएका र अधिकांश राष्ट्रिय टोलीबाट समेत खेलिसकेका खेलाडी विदेशिसकेका थिए। अझै आधा दर्जन बढी खेलाडी बाहिर जाने तयारीमा रहेको बुझिएको छ।

रित्तिँदै क्लब

खेलाडी विदेशिने क्रम ‘पिक’मा हुँदा नेपालमा ‘ए’ डिभिजन लिग सुरु हुने तरखरमा छ। यसैबिच केही क्लबहरु अनुबन्धनमा आक्रामक बन्दै खेलाडी अनुबन्धन गरेर मोफसल खेल्न हतारिए। संकटा क्लब र चर्च ब्वाइज क्लब यसमा अगाडि देखिए। तर, यी दुवै क्लबले अनुबन्धित गरेका खेलाडी नै लिगसम्म टिक्न सकेनन्।

क्लबमा अनुबन्धित भइसकेका केही खेलाडी पुगिसकेका छन् अस्ट्रेलिया। दिनेश राजवंशी, तेज तामाङ लगायतका खेलाडी आहा रारा गोल्डकप पछाडि अस्ट्रेलिया गएका हुन्। उनीहरुले त्यहाँ ‘प्रोफेसनल लिग’मा होइन, विकेन्ड स्थानीय ‘टोलकप’मा खेल्दैछन्।

प्रोफेसनल लिगमा भएको भए अस्ट्रेलिया त टाढाको कुरा दक्षिण एसियाली मुलुकमै खेलाडी जानु पनि खुशीकै कुरा हुने थियो। जसरी अहिले किरण चेम्जोङ र अञ्जन विष्ट भारतमा र रोहित चन्द इण्डोनेसियामा खेलिरहेका छन्।

‘बी’ डिभिजन लिगमा च्याम्पियन बनेर ‘ए’ डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइजले आहा रारा गोल्डकपमा ‘ए’ डिभिजन च्याम्पियन मछिन्द्र क्लबलाई हराइदियो। ‘ए’ डिभिजन लिगमा कुनै बेला दबदबा बनाएको नेपाल पुलिस क्लबलाई नै हराउँदै उसले लिगमा आफ्नो दर्बिलो उपस्थिति हुने संकेत गरिसकेको थियो।

लिगमा बलियो प्रदर्शनका लागि राष्ट्रिय टोलीका स्टार खेलाडी अञ्जन विष्टलाई भित्र्याएको चर्च ब्वाइजले ‘बी’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष चापागाइँ, साइमन लिम्बू, एनोस मगर, बिकु राई, प्रशान्त लिम्बू, आशिष चौधरी लगायतका खेलाडीको सम्झौता बढाएको छ।

आहा रारा गोल्डकपमा राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा उत्रिएको टोलीले तेज तामाङ, एरिक विष्ट लगायतको उपस्थितिमा सानदार प्रदर्शन गरेको थियो। तर, राष्ट्रिय टोलीमा नियमित पर्दै आएका दिनेश राजवंशी र तेज तामाङ अस्ट्रेलिया गइसकेका छन्। अञ्जन आइ-लिग खेल्न भारत गएका छन्। यद्यपि, अञ्जन भने नेपालमा लिग खेल्न भने आउनेछन्।

त्यस्तै, अवस्था रह्यो संकटा क्लबको पनि। तीनपटक लिग जितेको संकटा क्लबले राष्ट्रिय टोलीका मनिष डाँगी, सुरज जिउ ठकुरी, आयुस घलान, निशान खड्का, गौतम श्रेष्ठ र सुनिल बललाई भित्र्याएको छ। तर, लिग सुरु नहुँदै श्रेष्ठ अस्ट्रेलिया प्रस्थान गरिसक्दा लिग सुरु हुँदासम्म को-को टोलीमा रहनेछन् भन्ने टुंगो छैन।

कथा यी दुई क्लबको मात्र होइन सबै क्लबहरुको उही छ। पात्र फरक होलान्, पटकथा उही छ।

कस्तो असर पर्ला राष्ट्रिय टोलीमा?

राष्ट्रिय टोलीमा नियमित पर्दै आएका खेलाडी विदेशिँदा सबैभन्दा चासोको विषय हो नेपाली फुटबलको स्तर कति प्रभावित होला? फुटबल खेलाडी संघका अध्यक्ष तथा अघिल्लो सिजन थ्री स्टार क्लबको कप्तानसमेत रहेका विक्रम लामा यसलाई तत्कालीन र दीर्घकालीन दुई दृष्टिकोणबाट हेर्नुपर्ने बताउँछन्।

‘लिग र प्रतियोगितामा खेलाडीको अभावलगायतका समस्या तत्काल देखिन्छ भने खेलाडीको फुटबल प्रतिको मानसिकता जुन थियो नि त्यो बिग्रन्छ जस्तो लाग्छ’, उनी भन्छन्, ‘नयाँ खेलाडी तत्काल उत्पादन सम्भावना हुँदैन।’

उनको स्पष्ट बुझाइ छ - राष्ट्रिय टोलीमा प्रतिस्पर्धा घट्ने छ र त्यसको प्रत्यक्ष असर टोलीको स्तरमा पर्नेछ।

नेपाली टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ पनि खेलाडी विदेशिँदा उनीहरुले आफ्नो उज्जवल भविष्य बनाए पनि राष्ट्रिय टोलीको स्तर बिग्रन सक्नेमा चिन्तित छन्।

‘नराम्रो पनि कसरी भनौँ! उनीहरु उज्जवल भविष्यका लागि गएका हुन्। व्यक्तिगत उनीहरुलाई राम्रै हुन्छ। नेपालमा सुनिश्चित भविष्य नदेखेर नै यस्तो भएको जस्तो लाग्छ’, पूर्व कप्तान श्रेष्ठ भन्छन्, ‘यसले राष्ट्रिय टोलीको स्तरमा फरक पार्छ। पुरानो खेलिरहेको खेलाडी जाँदा नयाँ खेलाडी आएर 'एडजस्ट' गर्न अलि गाह्रै हुन्छ।’

अब्बल खेलाडी बाहिरिँदा राष्ट्रिय टोलीको स्तर पनि त्यतिकै प्रभावित हुन र टोलीको स्तर पनि खस्किने उनको बुझाइ छ।

‘राम्रो राम्रो खेलाडी धेरै हुँदा क्वान्टिटी जति भयो क्वालिटी त्यति राम्रो निस्कने हो। क्वान्टिनी कम हुँदै गएपछि क्वालिटी त त्यसै कम भइहाल्छ,’ उनले भने।

खेलाडी बाहिरिने ‘ट्रेन्ड’ विश्वकप छनोटमा नेपाली टोली अस्ट्रेलियामा गएर त्यहाँ सम्पर्क बढे पछि सुरु भएको उनको बुझाइ छ।

‘खेलाडीले नेपालको जर्सी लगाउन चाहन्छन्। खेलिरहन मन पनि गर्छन्। यहाँ खेलाडीका लागि सम्मानको वातावरण छैन’, श्रेष्ठ भन्छन्, ‘पूर्व खेलाडीको अवस्था देखेर पनि भविष्यका लागि केही सोच्नुपर्छ भनेर नै जान्छ भन्ने मलाई लाग्छ।’

किन विदेशिँदैछन् खेलाडी?

हालको नेपाली राष्ट्रिय टोलीमा रहेको खेलाडीको प्रतिभा प्रस्फुटन गराउनमा सबैभन्दा ठूलो योगदान बालगोपाल महर्जनलाई दिन हिच्किचाउनु पर्दैन। हालका खेलाडी एकेडेमीमा रहँदादेखि उमेर समूह हुँदै सिनियर टोलीसम्म आइपुग्दा खेलाडीले जुन स्तरमा मेहेनत गरेका छन्, सँगसँगै मेहेनत गर्नेमा पर्छन् प्रशिक्षक महर्जन। खेलाडी छँदाको उनको अलग पाटो भइहाल्यो, प्रशिक्षक भए यता फरक।

राष्ट्रिय टोलीका खेलाडी धमाधम बाहिरिँदाको चोट उनलाई पनि परेको छ। राष्ट्रिय टोलीसम्म आइपुग्दाको मेहेनत र बगेका पसिनाको महत्व थाहा छ उनलाई। तर, नेपालमा माहोल नबन्दा खेलाडीले विदेशमा भविष्य खोज्नुलाई उनले अन्यथा पनि लिएका छैनन्। चित्त बुझाएका छन् : खेलाडीले त्यही गरे, जे कथाले माग्यो।   

‘समय परिस्थितिको माग पनि हेर्नुपर्छ। उनीहरु पनि युवा उमेरदेखि यहाँसम्म आइपुग्दा परिवारदेखि सबै पक्षलाई हेर्नुपर्ने हुन्छ। लिगले निरन्तरता नपाउने, एनएसएल (नेपाल सुपर लिग) पनि हुन नदिने अवस्था छ’, प्रशिक्षक महर्जन भन्छन्, ‘एनएसएल र लिग राम्ररी भएको भए यहाँ पनि जीविकोपार्जन गर्नसक्ने अवस्था रहन्थ्यो।’

एन्फामा राजनीति हावी हुँदा खेलाडीमात्र होइन ‘कोच’हरु पनि उस्तै चिन्तित भएको बताए। पछिल्लो घटनाक्रमलाई उनी एन्फा र क्लबको राजनीतिसँग पनि जोडेर हेर्छन्।

‘क्लबहरु पनि लिग भएन भनेर चुप लाग्ने। खेलाडी अनुबन्धन पनि ३ महिना गरेर चुप लागेर बस्ने। सकेसम्म लिग नै नहोस भनेर चाहने। एकवर्ष लिग नहुँदा डेढ करोड देखि दुई करोड बच्ने भयो’, महर्जनले थपे, ‘क्षमता भएको क्लबले त त्यो पैसा लगानी गरेर पनि नाफा कमाएको अवस्था छ। लिग च्याम्पियन बनेर स्पोन्सरबाट लाखौँ पैसा पाएको छ। बाहिर गएर खेलेको छ।’

तर, एन्फामा खाली राजनीति नै हावी हुने र क्लबहरु एन्फाले पैसा दिएन भन्दै पन्छिने प्रबृतिले हैरान छन् उनी।

‘धेर खेल भयो भने खेलाडीलाई धेरै पैसा दिनुपर्छ खर्च हुन्छ भन्ने केही क्लबको सोच पनि खेलाडी विदेश पलायन हुनुको एउटा कारण हो,’ उनले भने।

यसको प्रभाव लिगको स्तर र राष्ट्रिय टोलीको स्तरमा पर्ने उनको बुझाइ छ।

‘लिगको स्तर पनि चिन्ताको विषय हो। ए श्रेणीका खेलाडी बाहिरिएका छन्। भएको 'ए' डिभिजनको खेलाडी विदेशिनु र 'बी' डिभिजनको खेलाडी फुलफिल गराउँदा ग्याप हुन्छ’, उनी भन्छन्, ‘'बी'बाट केही खेलाडी आउने हो। ट्रायलका रुपमा आउने हो। अनुभव नहुन सक्छ। अघिल्लो सिजन आयुस घलान आएर राम्रो गरेको थियो। तर, त्यसैमा निर्भर हुँदा 'स्टान्डर्ड मेन्टेन' गर्न कठिन हुन आउँछ।’

लिगको स्तर एउटा पक्ष भयो, अर्को पक्ष भनेको राष्ट्रिय टोली नै हो। एउटा खेलाडी निर्माण गर्न कति समय र मेहेनत हुन्छ भन्ने महत्वपूर्ण विषय हो।

‘दिनेश राजवंशी, तेज तामाङ जस्तो स्तरको खेलाडी त राष्ट्रिय टोलीको सेटमा खेलेको धेरै भयो। यसका लागि त उनीहरुले वर्षौदेखि उमेरसमूह हुँदै खेल्दै आएका थिए’, महर्जन भन्छन्, ‘निरन्तर खेलिरहेर पो उनीहरु यो स्तरमा पुगेका थिए। यतिको खेलाडी एकैपटक बाहिर जाँदा त त्यो लेभलसम्म पुग्न गाह्रो हुन्छ। समय लाग्ला, त्यही लेभलको प्लेयर आउला नआउला।’

त्यसमाथि पहिलाको समयमा जस्तो 'ग्रास रुट' र एकेडेमीबाट खेलाडी नआउँदा समस्या हुने उनले बुझेका छन्।

दशौँ वर्षको मेहेनतमा पानी फेरिँदै छ त?

‘अहिलेको राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु कहाँबाट कसरी राष्ट्रिय स्तरमा आइपुगेको छ? कुन लेभलमा खेलेर आएको छ? भन्ने कुरा अहिलेको नेतृत्व, टेक्निकल डिपार्टमेन्ट, उहाँहरुले चासो दिनुपर्ने देखिन्छ,’ उनी भन्छन्।

२०६३ साल र २०७२ को राष्ट्रिय लिग पछि पनि लिग लामो समय भएन। तर, त्यतिबेला खेलाडी पलायनको अवस्था यस्तो उदेकलाग्दो नभएको विक्रम लामाको बुझाइ छ।

‘लिग नहुँदा पनी हामी टिकेकै हो त। विदेश जाँदा पनि फर्किएको हो। हामी त्यतिबेला किन बस्थ्यौँ भन्दा नेपालमा कमसेकम इज्जत थियो। सम्मान थियो। पछिल्लो समय त्यो पनि भएन,’ लामा भन्छन्।

‘बी’ र ‘सी’ डिभिजनबाट मेहेनत गरेर खेलाडी ‘ए’ डिभिजनमा आउन चाहन्छन्। तर, त्यो मेहेनतको कदर नै नभएपछि मान्छे ‘फ्रस्टेट’ हुने र मौका पाउँदा पनि टिम रित्तिने अवस्था आएको उनी बताउँछन्।

‘जति पनि खेलाडीसँग कुरा गरिरहेको छु। एउटा आर्थिक पाटो त छँदैछ। त्यसमा देखिएको अर्को पाटो चाहीँ 'फ्रस्टेसन' हो’, विक्रम लामा भन्छन्, ‘खेलाडीले यत्रो मेहेनत गरेर आफ्नो जिउ ज्यान दिएर खेल्यो असुविधामा पनि खेल्यो यति मेहेनत गरेका खेलाडीलाई त सम्मान छैन। अन्तिममा गएर मनै मार्नेखालको काम भयो भनेपछि अब हामीले चाहीँ के गर्न सक्छौँ र दाई? भन्ने, हाम्रो पनि उही त होनी। भन्ने किसिमको सोच देखियो।’

लामाको बुझाइमा यही 'फ्रस्टेसन'ले खेलाडीलाई पाएको अवसरमा हिँडिहाल्न प्रेरित गरेको छ। आफूसँग कुरा गरेका खेलाडीलाई उदृत गर्दै उनी भन्छ्न्, ‘यत्रो वर्ष खेल्यो। खान र बस्न राम्रो देउ भन्दा विद्रोही बनाइदियो। अब सम्मान कहाँ छ? सम्मान नै छैन भने कसरी टिक्ने?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell