PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

खरायो वर्षको स्वागतमा व्यस्त चिनियाँ, जनजीवनमा कसरी चर्चित बने यी तीन खरायो?



विधुर ढकाल

खरायो वर्षको स्वागतमा व्यस्त चिनियाँ, जनजीवनमा कसरी चर्चित बने यी तीन खरायो?

यो खरायोको वर्ष हो, जुन दया, लालित्य र सुन्दरताको प्रतीक हो। चिनियाँहरुले चन्द्र पात्रोअनुसार बाघ वर्षलाई विदाई गरी खरायो वर्षलाई स्वागत गरेका छन्। वसन्त पर्वको रुपमा खरायो वर्षलाई स्वागत गर्दै चिनियाँहरु उल्लासमा छन्। सपिङ मल, सार्वजनिक स्थान, पार्कहरु तथा सामाजिक सञ्जालमा खरायोका विभिन्न प्रतिक तथा रुपहरु देख्न पाइन्छ। सुनौलो कवज पहिरिएर हिंस्रक बाघमाथि खरायो सवार भएका प्रतीक चिन्हहरु विभिन्न स्थानमा देख्न पाइन्छ। 

आइतवार स्वागत गरिएको खरायो वर्षसँग खरायोको चर्चा र आकृतिहरु देखिरहँदा चीनभित्र खरायोका यस्ता केही आकृति र महत्त्वहरु छन् जुन तपाईंलाई थाहा नहुन सक्छ। 

चीनमा 'सेतो खरायो' (ह्वाइट र्‍याबिट) चिनियाँ जनजीवनसँग जोडिएको खरायो हो। 'चीनबाट कहिले फर्किने हो? आउने बेला ह्वाइट र्‍याबिट ल्याउनु है,' यो पंक्तिकारजस्तै जो कोहीलाई पनि आफन्तले भन्ने गरेको पंक्ति हो यो। यो चिनियाँ चकलेटको स्वाद के बच्चा के वृद्ध सबैको दिमागमा छ। 

सन् १९५९ मा सांघाईमा जन्मिएको यो चकलेट अहिलेसम्म घरघरको स्वाद बनेको छ। दुध पाउडरबाट बन्ने यसले आम चिनियाँको जिब्रोमा प्रतिस्ठित स्वाद छाडेको छ। यो नयाँ वर्षमा चिनियाँहरुले उपहारमा अरु जेसुकै होस् ह्वाइट र्‍याबिटलाई समेटेकै छन्। 

सांघाईको बजारमा जो कसैलाई सोध्नुस् - तपाईंको मनपर्ने क्यान्डी कुन हो? जवाफ पाउनु हुने छ - सेतो निलो र रातो रंगको प्लास्टिकले बेरिएको क्यान्डी ह्वाइट र्‍याबिट। यो सांघाईको सामुहिक पहिचानसँग पनि जोडिएको छ। 

यसको महत्त्व मिठाइमा मात्र सीमित छैन। जब चीनमा सांस्कृतिक क्रान्तिसँगै खाद्यान्न अभावको चरम अवस्थामा थियो। यसले चिनियाँ बालबच्चालाई पोषण पुर्‍याएको थियो। 

त्यतिमात्र होइन, क्यान्डीमा बेरिएको मुखमै बिलाउने 'राइस पेपर' पनि हरेकको जिब्रोमा छ। अहिले ह्वाइट र्‍याबिट क्यान्डीमा मात्र सीमित छैन। आइसक्रिम पनि बनेको छ। ह्वाइट र्‍याबिट सुरुमा ह्वाइट र्‍याबिट थिएन। सन् १९४३ मा एउटा नीजि कम्पनीले उत्पादन थाल्दा यो बेलायती क्यान्डी मिकी माउसबाट प्रभावित थियो। र यसको खोलमा डिज्ने रोडेन्ट (मुसा) थियो। 

जब १९४९ मा चीन चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणमा आयो र त्यसपछि यसको उत्पादक कम्पनी एबीसीलाई राष्ट्रियकरण गरियो। त्यसपछि सन् १९५९ मा यस कम्पनीबाट आधिकारिक रुपमा ह्वाइट र्‍याबिट उत्पादन थालियो। सन् १९७६ मा एबीसी (आइमिङ) सरकार नियन्त्रित कुवान सङ युआन फुडले सञ्चालन गरेको छ। सन् २०१३ मा यस कम्पनीले मध्य सांघाइको दक्षिणमा नयाँ कम्पनी सुरुवात गर्‍यो। 

यसमा राजनीतिक व्यक्तिहरु पनि जोडिए। पूर्व प्रधानमन्त्री चाउ अनलाईको डेस्कमा सँधै ह्वाइट र्‍याबिट हुन्थ्यो। सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीन भ्रमण गर्दा उनले निक्सनलाई ह्वाइट र्‍याबिटले स्वागत गरेका थिए। 

सन् २०१३ मा राष्ट्रपति सि चिनफिङ सांघाईमा ह्वाइट र्‍याबिटको नयाँ उद्योगको भ्रमण गरेका थिए। सोही वर्ष बसन्त पर्व मनाउन मंगोलिया पुग्दा उनले त्यहाँका अधिकारी र बालबालिकालाई ह्वाइट र्‍याबिट उपहार दिएका थिए। 

१९८० सम्म ह्वाइट र्‍याबिट चीनको आन्तरिक बजारमा मात्र थियो। तर खुलापनको नीति अख्तियार गरेसँगै यसले विश्व बजार पाउन थाल्यो। एकातिर विश्व बजारमा उपस्थिति जनाउँदै गर्दा ह्वाइट र्‍याबिटले आन्तरिक बजारमा भने प्रतिस्पर्धाको सामाना गर्न परिरहेको छ। विदेशबाट आयातित आकर्षक देखिने मिठाई र क्यान्डीका सामु यसले प्रतिस्पर्धा गरिरहेको छ सांघाई र चीनभित्रै। त्यसैले त यही ब्रान्ड लिएर ह्वाइट र्‍याबिट आइसक्रिम पनि बजारमा छ। 

यसको प्रबर्द्धनमा चिनियाँ सरकारसमेत लागेको देखिन्छ। क्यान्डीको 'बन्नी मस्कट'लाई ग्लोबल कस्मेटिक ब्रान्ड र लक्जरी हाउसको डिजाइनमासमेत समावेश गरिएको छ। गत नोभेम्बरमा आयोजिन पाँचौँ चाइना इन्टरनेसनल इम्पोर्ट एक्स्पोमा कोच र ह्वाइट र्‍याबिटले आधिकारिक रुपमा पहिरनका क्षेत्रमा पनि प्रवेश गरेका छन्। 

त्यस्तै चिनियाँ संस्कृति र किंवदन्तीमा जोडिएको अर्को खरायो हो जसमध्ये प्रमुख रुपमा जेड खरायो पर्छ। चाइना पोस्टले चन्द्र पात्रोअनुसार नयाँ वर्षको स्वागतका लागि जारी गरेको विशेष हुलाक टिकटमा यही खरायो अंकित छ। विशेषगरी घरपालुवा खरायो जेड खरायो। चिनियाँ नेतृत्वले चन्द्र वर्षको शुभकामना दिँदा यसै खरायोको प्रयोग गरेको छ। 

यससँग किम्बदन्ती पनि जोडिएको छ। युटु नामले चिनिने चन्द्र देवी चाङको घरपालुवा खरायोसँगै चन्द्र दरबारमा जडिबुटी पिसिरहेकी हुन्छन्। किम्बदन्तीअनुसार चाङले जादुको गोली खाएसँगै उनी आफ्नो घरपालुवा खरायोसँगै चन्द्रतिर उड्छिन्। त्यसयाता चाङ देवीको रुपमा सेतो जेड खरायोसँगै चन्द्रमा बस्दै आएकी छन्। 

चिनियाँ पौराणिक कथाहरुमा पनि खरायो र पाहा चन्द्रमामा बस्दै आएको कल्पना गरिएको छ। त्यस्तै चन्द्रमा र खरायोसँग जोडिएका प्राचीन किम्बदन्ती, चित्रहरु अझै पनि चिनियाँ संग्राहलयहरुमा भेटिन्छन्। 

यही सम्बन्धलाई आधुनिक समयमा पनि चीनले पच्छ्याइरहेको छ। चीनले आफ्नो पहिलो मुन रोभरको नाम नै युटु राखेको थियो। सन २०१३ को डिसेम्बरमा चाङइ-३ ले युटुलाई चन्द्रमामा पुर्‍याएको थियो। 

तीन महिनाको अवधिका लागि बनाइएको युटुले चन्द्रममा दुई वर्षभन्दा बढी अध्ययन गरेको थियो। त्यस्तै चीनले २०१९ मा अर्को 'खरायो यात्री'लाई चन्द्रममा पठायो। चाङ'ई-४ युटु-२ लिएर चन्द्रमाको अध्यारो भागमा अवतरण भएको थियो। यो रोबोटिक खरायो अझै पनि अध्ययनमा छन्। जनवरी ३ सम्म यसले चन्द्रममाको १ हजार ४५५ मिटरको यात्रा गरेको छ। 

चीनमा अर्को खरायो पनि जनजीवनसँग जोडिएको छ - जुन हो भगवान खरायो। चिनियाँ भाषामा तुएर ये भनिने 'लर्ड र्‍याबिट' बेइजिङमा बच्चाहरुका लागि एक सुभ माटोको खेलौना हो। 

मानव शरीर र खरायोको कान र मुखसहितको आकृतिमा हुने माटोको खेलौना मानव स्वास्थ्यमा जोडिएको देवताको रुपमा लिइन्छ। अर्को जेड खरायोको नयाँ संस्करणको रुपमा। किम्बदन्तीअनुसार बेइजिङमा मध्य शरद ऋतु महोत्सवमा प्लेग फैलाइउँदै चाङ'ई देवीले खरायोलाई रोग नियन्त्रण गर्न पठाएकी थिइन्। त्यही खरायोको सम्मानमा मूर्ती बनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell