
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो।
राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि नै नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुनुपर्ने मागसमेत कांग्रेसले राखेको छ। 'राष्ट्रपतिको निर्वाचन माघ २९ गतेभित्रै हुनुपर्ने माग हाम्रो हो। प्राविधिक समस्या भए हटाउने काम सरकारको हो,' बैठकपछि प्रवक्ता डा प्रकाशशरण महतले भने। फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल सकिँदैछ।
यद्यपि सरकारले राष्ट्रपतिको निर्वाचन गर्न नखोजेको भन्दै कांग्रेस सशंकित बनेको छ। 'आउँदो राष्ट्रपतिको निर्वाचनबारे छलफल भयो। यो सयममै सम्पन्न गर्नुपर्छ। सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ,' प्रवक्ता महतले भने, 'समयमै निर्वाचन गर्ने जिम्मेवारी निर्वाचन आयोगको हो। त्रुटिहरु मिलाउने काम सरकारको हो। धकेल्ने काम गर्नुहुँदैन।'
एक महिनाअघि नभए पनि माघ २८ कट्न नहुने कांग्रेस कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताए। 'माघ २८ भित्र नयाँ राष्ट्रपति पाउनुपर्छ भन्ने हाम्रो माग हो।'
राष्ट्रपति निर्वाचन ढिलाई हुने चर्चा चलेकोले यस्तो आलटाल गर्न नहुने कांग्रेस प्रवक्ता महतले बताए। 'फागुन २९ गतेबाट उता लानु हुन्न। त्यस्ता चर्चा हुन लागेका छन्। निर्वाचनमा ढिलाई गर्ने आलटाल गर्नुहुन्न।'
कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दिन विभिन्न दलहरुसँग सहयोग अघि बढाउनेसमेत उनले बताए। 'संसदमा भएका सबै दलको समर्थन लिनुपर्यो। प्रधानमन्त्रीको पार्टीदेखि एमालेसम्म माग्ने हो,' महतले भने, 'अरु दलको सहयोग लिएर प्रस्तुत हुने कांग्रेसको तयारी छ। संसदमा रहेको दलहरुसँग पनि छलफल गर्ने कांग्रेसले तयारी गरेको छ।'