PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

माइतीघरमा नाटक मञ्चन, बबरमहलमा धर्ना : निर्मलालाई न्याय माग्दा समातिए रुबी खानसहितका अधिकारकर्मी

माइतीघरमा नाटक मञ्चन, बबरमहलमा धर्ना : निर्मलालाई न्याय माग्दा समातिए रुबी खानसहितका अधिकारकर्मी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै आज पनि राजधानीमा प्रदर्शन गरिएको छ। 

२६ दिनदेखि न्यायको माग गर्दै कुर्मीको गाउँका स्थानीय र महिला अधिकारकर्मी रुबी खानसहितको समूहले माइतीघरमा धर्ना दिइरहेका थिए। आज बृहत नागरिक आन्दोलनका अगुवाहरुले पनि न्यायको लडाइँमा साथ दिएका थिए। 

माइतीघरमा आज शिल्पी थिएटरका कलाकारहरुले नाटक मञ्चन गरेर न्यायको माग गरेका थिए। त्यसक्रममा वक्ताहरुले अहिलेको सरकार पनि निर्मला कुर्मीलाई न्याय दिन नलागेको आरोप लगाएका थिए। 

माइतीघरबाट र्‍यालीसहित अधिकारकर्मीहरु बानेश्वरतिर हिँडेका थिए। त्यसक्रममा बबरमहलस्थित काठमाडौं जिल्ला अदालत बाहिर उनीहरुले धर्ना दिएका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने मार्गमा अधिकारकर्मीहरुले नाराबाजी गरेका थिए। त्यसपछि प्रहरीले रुबी खानसहितका अधिकारकर्मीहरुलाई नियन्त्रणमा लिएको छ।

नेपालगंजकी कुर्मी बेपत्ता हुनु र पछि उनको हत्या भएको प्रकरणमा प्रहरीले छानबिन नगरेको अधिकारकर्मीहरुको दाबी छ। प्रहरीले यो घटनाको छानबिन गर्न चार सदस्यीय टोलीसमेत गठन गरेको थियो।

धर्ना दिइरहेकी महिला अधिकारकर्मी रुबि खानले कुर्मीको हत्याको घटना छानबिनका लागि सरकारबाट कुनै पहल नभएको बताइन्। धर्नामा बसिरहेकाहरुले छानबिनका लागि न्यायिक आयोग गठनको मागसँगै यो मुद्दालाई सर्वोच्च अदालतसम्म लग्नुपर्ने बताउँदै आएका छन्। यसविषयमा उनीहरुले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गरिसकेका छन्। तर, सरकारबाट न्यायको लागि पहल नभएको उनीहरुको दाबी छ।



ट्रेन्डिङ पोस्ट

Ncell