PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टी २० का पाँचभन्दा बढी खेलमा 'स्पट फिक्सिङ' : भारतीय नागरिक जतिन अलुवालिया मुख्य अभियुक्त



सविन ढकाल

टी २० का पाँचभन्दा बढी खेलमा 'स्पट फिक्सिङ' : भारतीय नागरिक जतिन अलुवालिया मुख्य अभियुक्त

काठमाडौं : प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ को आरोपमा तीन जना खेलाडीलाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेहबुब आलम र मोहम्मद आदिल अन्सारी नियन्त्रणमा लिएको हो।  मेहबुब आलमलाई विराटनगर र मोहम्मद अन्सारीलाई राजविराजबाट नियन्त्रणमा लिएको हो। प्रहरीले थप एक खेलाडीलाई पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेका तीनै जनालाई ब्युरो ल्याउने तयारी भइरहेको प्रहरीले जनायो। मोहम्मद नेपाली राष्ट्रिय टोलीका अलराउण्डर खेलाडी हुन्। घरेलु क्रिकेटमा आक्रामक ब्याटिङ गर्ने उनले ६ एक दिवसीयमा ७० र ८ टी २० अन्तर्राष्ट्रियमा ११० रन बनाएका छन्। बलिङतर्फ एकदिवसीय अन्तर्राष्ट्रियमा ६ र टी २० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका छन्। नेपाली टोलीका पूर्व खेलाडी मेहबुबले मोजाम्बिकविरुद्ध १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

पुस ९ गतेदेखि २९ गतेसम्म जारी लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए। त्यसमा विदेशी खेलाडी पनि सहभागी थिए। स्पट फिक्सिङमा नेपालीभन्दा धेरै विदेशी खेलाडीको पनि संलग्नता देखिएको छ। नेपाली र विदेशी गरेर ७ जना भन्दा बढी खेलाडीको संलग्नता देखिएको छ। त्यसबाहेक लिगका आयोजक र अन्य केही व्यक्तिलाई पनि प्रहरीले प्रतिवादी बनाएर अनुसन्धान गरिरहेको छ।

सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। समितिले अनुसन्धान फाइल बुझाउने तयारी गरेको छ। फाइल बुझाएपछि ब्युरोले औपचारीक रुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।

नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनी नै स्पट फिक्सिङका मुख्य योजनाकार भएको अनुसन्धानमा देखिएको छ। जसले गर्दा प्रहरीले उनलाई मुख्य प्रतिवादी बनाएको छ। त्यसपछि नेपाली खेलाडीतर्फ मेहबुबको भूमिका मुख्य देखिएको समितिको निष्कर्ष रहेको छ।

'समितिको प्रतिवेदन आएपछि धेरै कुरा खुल्नेछ। फिक्सिङ भएको प्रमाण फेला परेको छ,' ब्युरोका प्रवक्ता सञ्जय थापाले भने।

केही दिनअघि मात्र दुबईमा रहेको आइसीसीको क्षेत्रीय कार्यालयबाट दुई जना पदाधिकारी आएर घटनाको जानकारी लिएर फर्किएका थिए। त्यस्तै आईसीसीको एन्टी करप्सन युनिटका मेनेजर बीर सिंहले अहिले पनि घटनाको अनुसन्धान गरिरहेका छन्। आइसीसीले दिएको केही जानकारी र प्राविधिक र अन्य पक्षको अनुसन्धानपछि प्रहरी लिगमा म्याच फिक्सिङ भएको निष्कर्षमा पुगेको थियो। क्रिकेटमा म्याच फिक्सिङ भएको घटना नेपालको लागि पहिलो हो। लिगको पहिलो खेलमा नै म्याच फिक्सिङ गर्न खोज पनि दोस्रो खेलदेखि ५/६ वटा खेलमा म्याच फिक्सिङ भएको अनुसन्धानमा देखिएको छ। उनीहरुले लिगका सबै खेलमा फिक्सिङको प्रयास गरे पनि फिक्सिङको हल्ला र सिआइबीले अनुसन्धान गर्न थालेपछि पछिल्ला खेलमा फिक्सिङ नभएको प्रहरीको अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell