
काठमाडौंः गैरकानुनी रुपमा दुबई प्रोपर्टी शो गरेको अभियोगमा पक्राउ गरेका पाँच भारतीयविरुद्द प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ। सोमबार जिल्ला अदालत काठमाडौंबाट उनीहरुलाई अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति पाएको हो।
नेपाल राष्ट्र बैंकको चेतावनी विपरीत दुबईको द म्याक नामक कम्पनीले काठमाडौंमा गैरकानूनी रूपमा दुबई प्रोपर्टी शो आयोजना गरेको थियो।
शो गरेको जानकारी पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई आइतबार साँझ नियन्त्रणमा लिएको थियो।
प्रहरीले भारतीय नागरिक गुरुचरण सिंह मेहता, अनुभव वर्मा, हर्ष शर्मा, अफताव हमज, काजल रवि अग्रवाललाई पक्राउ गरेको थियो। उनीहरु विरुद्द विदेशमा लगानी गर्न प्रतिवन्ध लगाउने ऐन, २०२१ को कसुर उद्योग’ मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो।
नेपालमा बसोबास गर्ने कुनै पनि नेपाल नागरिकले विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न र विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्न पूर्ण बन्देज लगाइएको छ।
पुँजीगत प्रकृतिका यस्ता कारोबारको प्रचार प्रसार समेत गर्न नपाइने कानूनी व्यवस्था छ। यस विपरीत दुबईको कम्पनीले राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेश पैसा लैजान पाइँदैन। त्यही भएर राष्ट्र बैंकले दुबई प्रोपर्टी शो नगर्न सूचना नै जारी गरेको थियो। तर नियम र राष्ट्र बैंकको सुचनालाई लत्याएर दुई दिनसम्म पाँच तारे होटेलमा शो गरिएको थियो। शो को अन्तिम समयमा प्रहरी पुगेर बन्द गराएको थियो।
अहिले यो प्रकरणलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा प्रहरी, अर्थ मन्त्रालय, उद्योग विभागले पनि हेरिरहेको छ। राजस्व अनुसन्धान विभागको टोली पनि अनुसन्धानमा खटिएको छ। शो गर्ने मात्र होइन दुवईमा घर जग्गा किन्न पुग्नेहरु पनि अनुसन्धानको घेरामा तानिएका छन्।
‘दुबईमा भिल्ला खरिद गर्ने नेपालीको विवरण खोजी गरिरहेका छौं, शोमा जाने नेपालीहरुले निकै सजगतापूर्वक अवलोकन गरेको हामीले भेट्यौं। यसबारे हामीले आन्तरिक रुपमा अनुसन्धान गरिरहेका छौं,’ राजस्व अनुसन्धान विभागका एक कर्मचारीले भने।
पक्राउ परेका व्यक्तिहरुको कसुर प्रमाणित भए उनीहरुलाई कैद सजाय समेत हुने व्यवस्था छ। त्यस्तै लगानी गर्नेविरुद्द पनि कारबाही हुने छ।विदेशमा लगानी गर्न प्रतिवन्ध लगाउने ऐन, २०२१ को कसुर उद्योग ऐनविरुद्ध काम गरेमा बिगो बमोजिमको जरिवाना र ६ महिना कैद वा दुबै सजाय हुने व्यवस्था गरिएको छ। बिगो भनेको विदेशमा लगानी गरेको रकम ऐनले मानेको छ।