PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वेब सिरिज ‘बिकमिङ’मा लैङ्गिक अल्पसङ्ख्यक समुदायका कथा



पहिलोपोस्ट

वेब सिरिज ‘बिकमिङ’मा लैङ्गिक अल्पसङ्ख्यक समुदायका कथा

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि आधारित वेब सिरिज ‘बिकमिङ (आकार)’ सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमका बिच उक्त वेब श्रृंखलाको पहिलो भाग प्रिमियर गरिएको हो।

सेभ द चिल्ड्रेन नेपाल र ब्लु डायमण्ड सोसाइटीले बनाएको यस वेब सिरिजले एलजीबीटीक्यूआई प्लस (यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक) समुदायको जीवन र कथा समेटेको छ। एलजीबीटीक्युआई समुदायका सम्पूर्ण कथा यस वेब सिरिजले समेट्ने सिरिजकी निर्देशक लुनिधा तुलाधार बताउँछिन। नेपालमा यस समुदायमाथि आएका कथाभन्दा यो सिरिज फरक रहेको उनको दाबी छ।

‘पहिले पनि सिनेमा, नाटक र सिनेमामा क्वयेर समुदायको प्रतिनिधित्व हुन्थ्यो। तर, जिस्काउने र उडाउने पात्रको रुपमा। केहीले भने समावेशीको लागि राख्थे। जबदेखि मैले क्वयेर नाटकहरु पढ्न थालेँ, मलाई सिनेमा वा टेलिभिजनमा पनि क्वयेर कथाहरु आउनुपर्छ जस्तो लाग्थ्यो’, तुलाधारले भनिन्, ‘क्वयेर समुदायको कथा उनीहरुकै मुखबाट आओस् भनेर हामीले ६० प्रतिशत एलजीबीटीक्यूआई समुदायलाई नै राखेका छौँ। यो मेरो पनि कथा हो। यस वेब सिरिजमा प्रतिबिम्ब धेरै भएकाले अरुभन्दा फरक छ जस्तो लाग्छ। यसले पक्कै पनि क्वयेर समुदायका युवाहरुको वास्तविक जीवन प्रतिबिम्ब गर्ने कथा बन्नेछ।

त्यसैगरि, वेब सिरिजकी लेखक तथा रंगकर्मी आकांक्षा कार्कीले पनि सबै क्वयेर समुदायलाई प्रतिनिधित्व हुने गरी कथा लेखिएको बताइन्। मानवीय भावना र प्रेमसम्बन्धलाई समेटने वेब सिरिजको प्राथमिकता रहेको उनको भनाइ छ।

‘बिकमिङ’ प्रकृति र उनका साथीहरुको कथा हो। उनीहरुले आफ्नो यौनिकतालाई अँगाल्न सामना गर्नुपर्ने चुनौती र पारिवारिक तथा सामाजिक स्वीकृतिको खोजीको पाटो यस वेब सिरिजको मुख्य कथा हो।

सिरिजमा लुनिभा तुलाधार, अमर दाहाल, अदिति शेर्पा, निर्भिक भट्टराई, युनिस गुरुङ लगायतका कलाकारहरुको अभिनय छ। २० एपिसोड हुने यस वेब सिरिजलाई ‘सेभ द चिल्ड्रेन नेपाल’को युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell