
बुटवल : रूपन्देहीको भैरहवामा सञ्चालित जेल रेष्टुरेन्ट एण्ड बारलाई प्रशासनले बन्द गराएको छ। रेष्टुरेन्टमा समाजमा नकारात्मक सन्देश जानेगरी विभिन्न गतिविधि हुने गरेको पाइएपछि रेष्टुरेन्ट बन्द गराइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए।
तीन महिना अघिदेखि सञ्चालनमा आएको रेष्टुरेन्टमा जेलजस्तो हिरासत, नक्कली बन्दुक पड्काउने र झुण्डिएर आत्महत्या गरेको ‘डेमो’ देखाउने गरेको प्रहरी निरीक्षक कुँवरले बताए। नकारात्मक सन्देश फैलाउने फोटो र भिडियो सामाजिक सञ्जाल र टिकटकमा भाइरल भएका थिए।
भैरहवाको देवकोटाचोकस्थित जेल रेष्टुरेन्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेन्टको कोठाहरु जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकोले रेष्टुरेन्ट बन्द गराइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए। उनले स्थानीय मिडियाहरुबाट सो रेष्टुरेन्टबारे जानकारी भएको र अनुगमन गर्दा त्यस्तै गतिविधि देखिएका कारण बन्द गराइएको बताए।
सहायक प्रजिअ अर्यालले रेष्टुरेन्ट बन्द गर्न लगाई मंगलवार जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताए। उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुन अनुसार कारवाही गर्ने जानकारी दिए।
भारतमा पनि यस्तै ‘जेल रेष्टुरेन्ट’ सञ्चालनमा छन्। सोही अवधारणाका आधारमा यहाँ पनि ‘जेल रेष्टुरेन्ट’ सञ्चालन गरिएको पाइएको छ।