PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

सुदूरपश्चिम र कर्णालीमा हिमपात, किसान भए खुसी



पहिलोपोस्ट

सुदूरपश्चिम र कर्णालीमा हिमपात, किसान भए खुसी

काठमाडौं : कर्णाली प्रदेशको जुम्ला लगायत हिमाली जिल्लामा हिउँ परेको छ। आज बिहानैबाट जुम्लाका अधिकांश ठाउँमा र अन्य केही हिमाली जिल्लामा समेत हिउँ परेको हो।

जाडोयाम सकिन लाग्दा समेत यो वर्ष हिमपात नहुँदा कृषकहरु चिन्तित थिए। यसपटक हिउँ नपर्दा हिँउदेवाली लगाउन नपाउने हो कि भन्नेमा उनीहरु चिन्तित थिए। हिँउ परेपछि उनीहरु खुसी भएका छन्।

जुम्लाको सदरमुकाम खलङ्गा बजार पनि हिउँले ढाकिएको छ। जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन्।

यस्तै, बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ।

सिगासका किसान दानसिंह बोहराका अनुुसार गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो। वर्षा र हिमपातका कारण चिसो बढेको छ। चिसोका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ।

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्। लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell