
काठमाडौंः आज सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन तोलामा १ हजार रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो।योसंगै आज सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ। सोमबार सुनको कारोबार तोलाको १ लाख ५ हजार ३०० रुपैयाँमा भएको थियो।
महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार डलरको भाउमा भएको वृद्धि र अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको हो।
सुनको मूल्य बढ्दा बजारमा माग समेत प्रभावित भएको छ। बिहेको सिजन भएपनि बजारमा माग आधा नै कम भएको महासंघका अध्यक्ष शाक्यले बताए।
‘मूल्य बढ्दा बजार प्रभावित छ। माग पनि असाध्यै घटेको छ। पहिले बिहेको सिजनमा दैनिक २० केजी बराबरको माग हुनेमा अहिले मूल्य बढेकाले दैनिक १० किलो मात्र माग हुन थालेको छ,’ उनले भने।
यस्तै चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ। सोमबार चाँदीको किनबेच प्रति तोला १ हजार ३८० रुपैयाँमा भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेकाले त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९३५.०७ डलरको हाराहारीमा कारोबार भइरहेको छ। सोमबार प्रतिऔंस १९२६.०८ डलरमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २३.५५ डलर रहेको छ।