PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

क्यानको हठले बदनामीको दलदलमा फस्दै क्रिकेट : कसले रोक्ने 'डिजास्टर'?



मुकुन्द घिमिरे

क्यानको हठले बदनामीको दलदलमा फस्दै क्रिकेट : कसले रोक्ने 'डिजास्टर'?

काठमाडौं : खेलकुद के का लागि? सरल अर्थमा भन्ने हो भने स्वास्थ राम्रो बनाउँछ यसले।

खेलकुदको अर्को उपयोगिता हो, स्वस्थ प्रतिस्पर्धाबाट स्वस्थ खेलाडीको उत्पादन। र, देशविदेशका प्रतिस्पर्धामा सहभागी भएर कीर्तिमानी कायम गर्ने अनि राष्ट्रको नाम फैलाउने।

कमर्सियल युगमा खेलकुदको परिभाषालाई यतिमै सीमित राखे न्याय हुन्न। त्यसैले यो अहिले विस्तारै कर्पोरेट बन्दैछ। खेलकुदले व्यापार गर्छ। विश्व राजनीतिमै हस्तक्षेप गर्छ। आफ्नो प्रतिस्ठा र क्षमता प्रदर्शन गर्छ देशहरुले, खेलाडी छुट्याउने त कुरै भएन।

पछिल्लो उदाहरण नै हेरौं न : फुटबल विश्वकप भव्य रुपमा सम्पन्न गरेर अहिले नाक ठूलो पारेर बसेको छ कतार।

तर नेपाली खेलकुदको सन्दर्भ फरक छ। एकातर्फ देशको इज्जत धान्ने अधिकांश खेलका खेलाडी विदेश भासिरहेका छन्। अर्कोतर्फ देशभित्रै 'डिजास्टर'को अवस्था छ।

सन्दर्भ जोडौँ - क्रिकेटको। व्यवसायिक लिग गर्ने भनेर टी २० प्रतियोगिता सुरु भयो। तर खेलमा खेल हैन, व्यापारमात्र हेर्दा 'कालो बजारी' हाबी भएको देखियो। अझ खेलभित्रै झेल। खेलाडीले नैतिकता र अनुशासन बिर्सँदा यसअघिका क्रिकेटरहरुले पसिना बगाए कमाएको नेपाली मानसम्मान माटोमै मिलाउने प्रयास भइरहेको छ। त्यो पनि सम्बन्धित खेल संघकै हठले।

नेपाली क्रिकेटलाई विश्वमञ्चमा चिनाएका सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा पर्दा ठूलै धक्का पर्‍यो नेपाली क्रिकेटलाई। यसो त उनको मुद्दा किनारा लाग्नै बाँकी छ। अझ यो प्रकरणलाई उनको व्यक्तिगत मानेर पनि चित्त बुझाउने ठाउँ होला। तर योसहित पछिल्लो घटनाक्रमले भने नेपाली क्रिकेटलाई डिजास्टरतर्फ लैजाने संकेत देखिएको छ। प्रसंग हो, नेपाल टी २० लिगलाई लिएर क्यानको हठ र प्रतियोगिताअघि नै लख काटिएको फिक्सिङ/बेटिङको। बेटिङ पृष्ठभूमिको कम्पनीले बेटिङकै कम्पनी प्रायोजक भित्राएर सबै टोलीको मालिकसमेत अन्योलमै राख्दै प्रतियोगिता गराउँदा अनुमान जे गरिएको थियो, भइरहेको छ त्यस्तै।     

क्यानको हठ

क्यानले 'बिडिङ'समेत नगरी भारतीय कम्पनीलाई स्ट्राटेजिक र कमर्सियल साझेदार भन्दै भारतीय कम्पनी सेभेनथ्री स्पोर्टसलाई भित्र्याएको थियो। ८ वर्षमा ३३ करोड रुपैयाँ पनि मिल्ने र आफूले केही गर्नु नपर्ने जसमात्र लिएर बस्दा हुने प्रक्षेपण गरेर क्यानले सम्झौता गर्‍यो। यो सम्झौता गर्दा क्यानले आफ्नै बोर्डका सदस्यहरुको विमती सुनेन/ नोट अफ डिसेन्टहरु वेवास्ता गर्‍यो। सदनसम्म कुरा उठेपनि जनप्रतिनिधिले अध्ययन गरेरमात्र बोल्नुपर्ने भन्दै झाँको झार्‍यो। अदालतमा मुद्दा खेपिरह्यो। आफ्नो साझेदार सेभेनथ्री स्पोर्ट्सलाई जोगाइरह्यो। तर, सेभेनथ्री स्पोर्ट्स क्यानका पछाडि जोगिइरहन चाहेन। क्यानकै बुइ चढेर नेपाली क्रिकेटलाई फिक्सिङको जालोमा पिल्साइदियो। नेपाल टी २० लिग बीचमै छाडेर सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अहलुवालिया भारत भागे।

नेपाल टी २० लिगको मुख्य आयोजक थियो सेभेनथ्री स्पोर्ट्स्। आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनी नै स्पट फिक्सिङका मुख्य योजनाकार भएको अनुसन्धानमा देखिएको छ। जसले गर्दा प्रहरीले उनलाई मुख्य प्रतिवादी बनाएको छ।

'लेजेन्ड'देखि उदीयमान खेलाडीको बदमासी?

पुस ९ गतेदेखि २९ गतेसम्म सम्पन्न लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए। त्यसमा विदेशी खेलाडी पनि सहभागी थिए। स्पट फिक्सिङमा नेपालीभन्दा धेरै विदेशी खेलाडीको पनि संलग्नता देखिएको छ। नेपाली र विदेशी गरेर ७ जनाभन्दा बढी खेलाडीको संलग्नता देखिएको छ। त्यसबाहेक लिगका आयोजक र अन्य केही व्यक्तिलाई पनि प्रहरीले प्रतिवादी बनाएर अनुसन्धान गरिरहेको छ।

सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। समितिले अनुसन्धान फाइल बुझाउने तयारी गरेको छ। फाइल बुझाएपछि ब्युरोले औपचारीक रुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।

'समितिको प्रतिवेदन आएपछि धेरै कुरा खुल्नेछ। फिक्सिङ भएको प्रमाण फेला परेको छ,' ब्युरोका प्रवक्ता सञ्जय थापाले भने।

प्रहरीले मंगलवारसम्म दुईजना खेलाडीलाई पक्राउ गरिसकेको जनाएको छ। जसमा नेपाली क्रिकेटका लेजेन्ड खेलाडी मेहबुब आलम र उदीयमान खेलाडी मोहम्मद आदिल आलमसम्म रहेका छन्। नेपाली टोलीका पूर्व खेलाडी मेहबुबले मोजाम्बिकविरुद्ध १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

यो प्रकरणले ठूलो धक्का भने मोहम्मद आदिल आलमलाई पुग्नेछ। हेलिकोप्टर सट हान्दै आक्रामक ब्याटिङ गरेर नेपाली क्रिकेटमा ठूलो सम्भावना बनाएका खेलाडी हुन् आदिल।

आदिलले राष्ट्रिय टोलीमा डेब्यु गरेको मार्च ३१ मा कीर्तिपुरमा सम्पन्न पपुवा न्युगिनीविरुद्धको टी २० अन्तर्राष्ट्रिय खेलबाट हो। उक्त खेलमा ११ बलमा ३ छक्का र १ चौकाको सहायतामा आक्रमक ३१ रन बनाएका थिए उनले। त्यसयता ८ खेलबाट ११० रन जोडेका उनले बलिङमा ५ विकेट लिएका छन्।

ओडिआईमा भने अमेरिकामा सम्पन्न लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा अमेरिकाविरुद्धकै खेलबाट उनले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। डेब्यु खेलमै २४ बलमा ३ चौका र २ छक्काको सहायतामा ३६ रन बनाउन सफल भएका थिए। त्यसयता उनले ६ एकदिवसीय खेलेर ७० रन बनाएका छन्। लोभलाग्दो करियर छँदै उनी फिक्सिङको प्रकरणमा मुछिनु नेपाली क्रिकेटमा स्तब्ध बनिने खबर हो।

योभन्दा पनि खतरनाक पक्ष भनेको सीबीआईले अन्य केही खेलाडीमाथि पनि अनुसन्धानमा शंकाको घेरामा राखेको छ। नेपाली खेलाडी अझ तानिने देखिएको छ। यो सँगै नेपाली क्रिकेट संकटमा फस्ने त हैन? सीआइबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगसमेत समन्वय गरेर अनुसन्धान गरेको दाबी गरिरहँदा अबको नेपाली क्रिकेट टोली कसले धान्ने? क्रिकेटमा आफ्नो भविष्य खोज्ने नयाँ खेलाडीलाई कसले के भन्ने? क्यानले तत्काल जवाफ दिनुपर्दैन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell