PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

फरार सांसद लक्ष्मी महतोको बचाउमा उत्रिए रघुवीर महासेठ : अदालतले दोषी करार गरेको छैन, महोत्तरीमा 'लक्ष्मी' झैं पुजिन्छ उहाँलाई



पहिलोपोस्ट

फरार सांसद लक्ष्मी महतोको बचाउमा उत्रिए रघुवीर महासेठ : अदालतले दोषी करार गरेको छैन, महोत्तरीमा 'लक्ष्मी' झैं पुजिन्छ उहाँलाई

काठमाडौं : नेकपा एमालेका सांसद रघुवीर महासेठ आफ्ना पार्टीका फरार सांसद लक्ष्मी महतो कोइरीको बचाउमा उत्रिएका छन्। मंगलवार प्रतिनिधिसभामा आफ्नो भनाई राख्दै महासेठ बचाउमा उत्रिएका हुन्।

'लक्ष्मी महतोको चर्चा छ। धेरै कुरा उठाउनुभयो। अपराधी भन्ने शब्द पनि उठाउनुभयो,' महासेठले भने, 'उहाँ यही सदनमा हुनुहुन्छ प्रहरी प्रशासनले किन पक्रेन भन्ने प्रश्न पनि उठाइयो? के लक्ष्मी महतो अपराधी नै हुन् त?'

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सम्मान गरेको महतोलाई अहिले प्रश्न गरेर ठीक नहुने उनको भनाई थियो। 'निवर्तमान सरकार प्रतिष्ठित पदक किन दिनुभयो? त्यतिबेला अपराधी हेर्नुभएन,' उनले भने, 'लक्ष्मी महतोको मुद्दा आजको हैन। तीन वर्ष भइसक्यो आदेश दिएको। पहिलेको सरकारले समात्ने काम किन गरेन?'

महतो अहिले एमालेको सम्पर्कमा नभएको उल्लेख गर्दै महासेठले उनलाई पक्राउ गर्न एमालेको कुनै अवरोध नहुने दाबी पनि गरे।

'यो सरकारलाई के भन्न चाहन्छु भने माननीय लक्ष्मी महतो हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न। यदि प्रहरी प्रशासनले हिरासतमा लिएको भए सार्वजनिक गर्नपर्‍यो। नभए एमालेमाथि जुन आरोप लागेको छ यसमा कुनै सत्यता छैन,' उनले भने, 'पक्राउ गर्नु नै पर्ने भए पक्राउ गर्नुस् एमालेबाट कुनै अवरोध आउने छैन।'

महतोलाई अदालतले अझसम्म दोषी करार नगरेको दाबी गर्दै महासेठले महोत्तरीमा उनलाई लक्ष्मीलाई झैं पूजा गरिने तर्क गरे।

'अहिलेसम्म अदालतले लक्ष्मी महतोलाई दोषी करार गरेको छैन,' महासेठले भने, 'महोत्तरीको गाउँमा लक्ष्मी पूजामा झै उहाँलाई पूजा गरिन्छ।'

लक्ष्मी महतोले प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वासको मत लिँदा मतदान गरेका थिए। प्रहरीको खोजी सूचीमा रहेका उनले मतदान गरेको खुलेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको आलोचना भएको थियो। त्यसपछि लामिछानेले महतोलाई पक्राउ गर्न निर्देशन दिएका थिए। यद्यपि, महतो अझै फरार छन्। प्रहरीले महतोलाई पक्राउ गर्न नसकेको भन्दै गृह मन्त्रालयले नै विज्ञप्ति नै जारी गरेर निर्देशन पालना गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो। त्यसपछि लामिछाने थप आलोचित बन्न पुगेका थिए। नेपाली कांग्रेसका सांसदले पनि गृह मन्त्रालय विज्ञप्तिबाट चल्न खोजेको भन्दै सदनमा नै प्रश्न उठाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell