काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन्। प्रतिधिसभाको मंगलवारको बैठकमा पौडेलले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याए।
मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको पौडेलको भनाई थियो।
'राष्ट्रिय सहमति गरौँ, सबैले मिलेर राष्ट्र निर्माण गरौँ, देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा जुटौँ', पौडेलले भने, 'नेपालको आकाशबाट निरासाको कालो बादल हटाउन राष्ट्रिय सहमतिको वातावरण बनाऔँ।'
आफू पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा रहेको जनाउँदै उनले देशलाई अप्ठयारो परेको अवस्थमा सबै राजनीतिक दल एक हुनुपर्ने बताए। 'देशमा सुशासनको आवश्यकता छ। अहिले कुशासन व्याप्त छ। हामीले शासनप्रणाली विकेन्द्रित गर्यौँ, तर भ्रष्टाचार तलसम्म गएको छ', नेता पौडेलले भने, 'एउटा दलको आड लागेर भ्रष्टाचारी जोगिने अवस्था छ। त्यसलाई निरुत्साहित गर्न सबै दल एक ठाउँमा उभिनु जरुरी छ। सुशासनका लागि एकताका आवश्यकता छ।'
मुलुकको विकासका लागि आर्थिक स्रोतका कमी हुँदै गएको जनाउँदै पौडेलले अनुदान दिने प्रवृत्ति पनि कम हुँदै जाँदा मुलुकको विकास निर्माण प्रभावित हुन सक्ने खतरा रहेको औल्याए। 'अर्थतन्त्र धान्न नसक्ने अवस्थातर्फ जाने देखिँदै छ। सामाजिक सुरक्षाको खर्च बढिरहेको छ। यो खर्च कसरी उठाउने ?', पौडेलले भने, 'निर्मम शैली अपनाएर खर्च कटौती गर्नु जरुरी छ।'
विप्रेषण (रेम्यिान्स)को भरमा मात्र मुलुक चल्न नसक्ने उल्लेख गर्दै पौडेलले विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा खर्च गर्ने वावावरण बनाउन आग्रह गरे। 'रेमिमट्यान्सले कति दिन धान्छ? रेमिटयान्स आउँछ उत्पादन क्षेत्रमा खर्च भइरहेको छैन। अनुत्पादन क्षेत्रमा खर्च भइरहेको त्यसलाई उत्पादन क्षेत्रमा मोड्ने कसरी?', नेता पौडेलले भने, 'त्यसका लागि सबै दलहरु एक हुनुपर्ने आवश्यकता छ।'
प्राप्त राजनीतिक उपलब्धिलाई चुनौती दिने तत्व अझै जुर्मुराइरहेको जनाउँदै उहाँले संविधान ल्याउन लागेको दलहरु प्राप्त उपलब्धि जोगाउन एक ठाउँमा हुने की नहुने ? भन्ने प्रश्न आमरुपमा उठेको बताए। 'कांग्रेस र कम्युनिष्ट मिलेर नेपालमा प्रजातन्त्र र लोकतन्त्र आएको हो, अब त्यसलाई रक्षा गर्न कांग्रेस र कम्युनिष्ट एक ठाउँमा हुने की नहुने?' पौडेलले प्रश्न गरे।
दलहरुको विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको जनाउँदै उनले लोकतन्त्रलाई जोगाएर अगाडि लैजान सहमतिको आवश्यकता रहेको बताए। 'सामाजिक, सांस्कृति मूल्यको स्खलन डरलाग्दो छ। यसबाट मुक्त हुन एक हुने कि नहुने”, पौडेलले प्रश्न गरे, 'निरासाका घन्टीहरु बढिरहेका छन्, नकारात्मक प्रवृत्ति आइरहका छन्, ती असन्तुष्टिलाई सम्बोधन गर्ने दायित्व हाम्रो हो कि होइन?'
पछिल्ला समय मुलुकमा राजनीतिक नेतृत्वको अभाव र राष्ट्रिय आत्मविश्वासको अभाव हुँदै गएको महसुस हुन थालेको उनको भनाइ छ। 'सत्ताको राजनीतिको दबदबा, निष्ठाको राजनीतिक किनारा लाग्दै गएको छ। निष्ठाको राजनीतिलाई जोगाउन एकताको खोजी गर्नुपर्नेछ', नेता पौडेलले भने, 'नेतृत्वले विश्वास गुमाएको अवस्था हो। त्यसलाई महसुस गरौँ।' सकारात्मक सोच, सहमति ,सहकार्यको सोचबाट मात्रै राष्ट्रिय नेतृत्व प्राप्त हुन सक्ने उनको विश्वास छ।