PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'मेहबुबले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाएर स्पट फिक्सिङको प्रयास गरे, दुई खेलमा फिक्सर अनुसार बलिङ गरे आदिलले'



सविन ढकाल

'मेहबुबले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाएर स्पट फिक्सिङको प्रयास गरे, दुई खेलमा फिक्सर अनुसार बलिङ गरे आदिलले'

काठमाडौं : केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआइबी)ले स्पट फिक्सिङमा १० जना संलग्न रहेको जनाएको छ। ब्युरोले आज पत्रकार सम्मेलन गरि ६ जना विदेशी र चारजना नेपाली स्पट फिक्सिङमा संलग्न देखिएको जनाएको हो।

स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पक्राउ गरेका क्रिकेट खेलाडीहरुको विवरण पनि ब्यूरोले सार्वजनिक गरेको छ।

ब्युरोको टोलीले मेहबुब आलम र मोहम्मद आदिल अन्सारीलाई आज काठमाडौंमा सार्वजनिक गरेको हो। मेहबुब आलमलाई विराटनगर र मोहम्मद अन्सारीलाई राजविराजबाट प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको हो।

मेहबुब आलमले कम्तीमा दुईजना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाएर स्पट फिक्सिङको प्रयास गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। यस्तै, मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाइड बल फाल्नका लाई फिक्सरहरुबाट प्रस्ताव आएको खुल्न आएको छ। उनले टी-२० लिगमा खेलेका दुई खेलमा सोही प्रकृतिको खेल खेलेको देखिएको पनि अनुसन्धानबाट खुल्न आएको छ।

यस्तै, अनुसन्धानमा टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रनमात्र बनाइ स्पट फिक्सिङ गरेको खुलेर प्रहरीले जनाएको छ। विदेशी खेलाडीलाई खेलको व्यवस्थापन टिमका सदस्यबाट नै फिक्सिङको लागि प्रस्ताव गरिएको ब्यूरोले जानकारी दिएको छ।

प्रहरीले हाल दुई क्रिकेटरलाई पक्राउ गरेको र ८ जनालाई पक्राउ गर्ने प्रक्रियामा रहेको जनाएको छ।

पुस ९ गतेदेखि २९ गतेसम्म भएको लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए। त्यसमा विदेशी खेलाडी पनि सहभागी थिए। स्पट फिक्सिङमा नेपालीभन्दा धेरै विदेशी खेलाडीको पनि संलग्नता देखिएको छ। नेपाली र विदेशी गरेर ७ जना भन्दा बढी खेलाडीको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्।

नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनी नै स्पट फिक्सिङका मुख्य योजनाकार भएको अनुसन्धानमा देखिएको छ। जसले गर्दा प्रहरीले उनलाई मुख्य प्रतिवादी बनाएको छ। त्यसपछि नेपाली खेलाडीतर्फ मेहबुबको भूमिका मुख्य देखिएको समितिको निष्कर्ष रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell