PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

राष्ट्रियसभा उपनिर्वाचन : एमालेबाट कुमार दसौदी, कांग्रेसको टुंगो लागेन उम्मेदवार



पहिलोपोस्ट

राष्ट्रियसभा उपनिर्वाचन : एमालेबाट कुमार दसौदी, कांग्रेसको टुंगो लागेन उम्मेदवार

बुटवल : लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सत्तारुढ दलबाट नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गर्ने भएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलकाअनुसार भोलि निर्वाचन अधिकृतको कार्यालय घोराहीमा सत्तारुढ दलको तर्फबाट उनले उम्मेदवारी दर्ता गर्दैछन्। 

नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाइसकेको छैन। तीन जना व्यक्तिको नाम सिफारिस भएको र केन्द्रले एक जनाको नाम टुंगो लगाउने नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड न्यौपानेले जानकारी दिए।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको छ। प्रतिनिधिसभा उम्मेदवार बन्ने भन्दै भट्टराईले पदबाट राजीनामा दिए पनि अन्तिममा उनले पार्टीबाट टिकट भने पाएनन्। त्यसपछि उक्त पद रिक्त रहेको थियो। माघ २५ गते उपनिर्वाचन हुँदै छ। राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्न पाउने व्यवस्था रहेको छ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन्। त्यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा, नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा, जनमतले ३-३, जनमोर्चा र नेकपा एकिकृत समाजवादीले १-१, स्वतन्त्रबाट २ जनाले जितेका छन्। यसरी हेर्दा अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरूको सहज बहुमत पुग्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell