PahiloPost

Jan 30, 2023 | १६ माघ २०७९

वाग्मती प्रदेश सरकारले बुधबार पूर्णता पाउने



पहिलोपोस्ट

वाग्मती प्रदेश सरकारले बुधबार पूर्णता पाउने

हेटौंडाः वाग्मती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो।

उक्त बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको छ। गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय घटाउने निर्णय गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए।

प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो। सोही अनुसार मन्त्रिपरिषद्को बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम राख्ने सुझाव स्वीकृत भएको छ। 

बुधबार सरकारलाई पूर्णता दिन मन्त्रिपरिषद्मा ८ जना मन्त्री नियुक्त गरिने उनले बताए।

दलहरुभित्र आन्तरिक छलफल गरी बुधबार दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ तय गरिएको सरकारका प्रवक्ता थपलियाले बताए। प्रवक्ता थपलियाले मन्त्रीहरुको नाम भोलि बिहानसम्म टुंगिन सक्ने बताए।

स्रोतका अनुसार प्रदेशमा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ। ५ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारमा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सहभागी नगराइने भएको छ।

प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगनाथ थपलियाका अनुसार मन्त्रिपरिषद्मा ३ वटा दलको मात्र सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रदेश सरकारमा माओवादी केन्द्र, एमाले र राप्रपा मात्र सहभागी हुने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell