PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रहरीले भेटाएका मुख्य दुई प्रमाण, जसबाट पुष्टि भयो क्रिकेट लिगमा भएको 'स्पट फिक्सिङ'



सविन ढकाल

प्रहरीले भेटाएका मुख्य दुई प्रमाण, जसबाट पुष्टि भयो क्रिकेट लिगमा भएको 'स्पट फिक्सिङ'

काठमाडौं: नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक 'स्पट फिक्सिङ' को गम्भीर आरोप लागेको छ। त्यसैको नतिजा भन्नुपर्छ सोमबार (माघ ९)  गतेदेखि दुई खेलाडी प्रहरी हिरासतमा छन्। सप्तरी घर भएका ४१ वर्षीय पूर्वखेलाडी महबुब आलम र बारा घर भएका २० वर्षीय मोहम्मद अदिल आलमलाई सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको थियो।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले फिक्सिङमा संलग्न भएका व्यक्ति सार्वजनिक गरेको छ। जसमा ४ जना नेपाली र ६ जना विदेशी छन्। ब्युरोले पक्राउ परेका बाहेक प्रतिवादी भएका अन्य ८ जनाको नाम भने सार्वजनिक गरेको छैन। अनुसन्धान चलिरहेको बेला उनीहरू भाग्न सक्ने सम्भावना रहेको भन्दै बाँकी नाम सार्वजनिक नगरेको प्रहरीको दाबी रहेको छ।

पुस ९ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा लिग भएको थियो। जसमा ६ टीमका ९० खेलाडी सहभागी थिए। विदेशी खेलाडी पनि सहभागी खेलमा फिक्सिङ भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो। सीआइबीले डिएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। समितिले अनुसन्धान फाइल बुझाएको थियो। जसमा १० जना प्रतिवादी बनाइएको छ। खेलाडी, टीमका व्यक्ति र बाहिरी बिचौलियाको संलग्नता खुलेको प्रहरीको दाबी छ।

'अहिलेसम्म १० जनाको संलग्नता देखिएको छ। बाँकी अनुसन्धानको चरणमा भएकाले पनि अरूको खुल्दै जानेछ,' ब्युरोका प्रवक्ता एसपी सञ्जय थापाले भने।

नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट सङ्घ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानमा फिक्सिङ सेभेनथ्री स्पोर्टले नै गराएको देखिएको छ। जसको मुख्य योजनाकार जतिन भएको खुल्छ। त्यस्तै सेभेनथ्री स्पोर्टका अर्का व्यक्ति अभिषेक सक्लानीको समेत संलग्नता देखिएको छ। तर मंगलबार भएको पत्रकार सम्मेलनमा प्रहरीले यी दुई व्यक्तिबारे भने खासै खुलाएन।

'आयोजकले खेल आयोजना गर्न आर्थिक रुपमा क्षमता राख्छ वा राख्दैन? यी पाटोलाई केलाइरहेका छौँ,' एसपी थापाले भने। सेभेनथ्री स्पोर्टले आठ वर्षको लागि क्यानसँग सम्झौता गरेको थियो। तर प्रहरीको अनुसन्धानमा सेभेनथ्री स्पोर्टको बेटिङ र फिक्सिङ गरेर रकम उठाउने योजना देखिएको छ। त्यसैले अहिलेसम्म टी २० मा खेलेका अधिकांश खेलाडीले पारिश्रमिक पनि पाएका छैनन्।

पाँच जना खेलाडीलाई भएको थियो एप्रोच!

तीन साता लामो प्रहरी अनुसन्धानमा पाँच जना स्वदेशी र विदेशी खेलाडीलाई फिक्सिङ गर्नेहरूले प्रस्ताव गरेको देखिएको छ। जसमा तीन जना नेपाली र दुई जना विदेशी रहेका छन्। पक्राउ परेका पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलमले पनि दुई जना खेलाडीलाई प्रस्ताव गरेको देखिएको छ।

'उनले आर्थिक प्रलोभन देखाएर नेपाली खेलाडीहरूलाई प्रस्ताव गरेको देखियो,' प्रवक्ता एसपी थापाले भने।

त्यस्तै बाँकी दुई जना विदेशी खेलाडीहरूलाई पनि प्रस्ताव भएको थियो। विदेशी खेलाडीहरू भने यतिखेर स्वदेश फर्किसकेका छन्। उनीहरूलाई पक्राउ गर्न प्रहरीले थप कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। खेलमा एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले एप्रोच गरेका थिए। त्यस्तै एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन सदस्यले नै एप्रोच गरेको देखिएको छ। टिम म्यानेजर पनि संलग्न भएको अनुसन्धानमा खुलेको प्रहरीको दाबी रहेको छ। फिक्सिङ खेलाडी, टिम मेनेजर, टिम सपोर्ट स्टाफ, ब्रोकर र आयोजकको संलग्नता खुलेको हो।

पाँच जना खेलाडीलाई एप्रोच हुँदा तीन जना खेलाडीले भने अस्वीकार गरेको प्रहरीको दाबी छ। त्यसो त खेल भइरहेको समयमा एक खेलाडीले एप्रोच भएको भन्दै जानकारी दिएका थिए। नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीको एक जना खेलाडीलाई फिक्सिङको अफर आएको खुलासा गरेका थिए। त्यस्तै फिक्सिङ टी २० लिगकै कमेन्टेटर सचिन तिमल्सिनाले 'स्पट फिक्सिङ' को दाबी गर्दै प्रतियोगिता छाडेको सार्वजनिक रुपमा नै घोषणा गरेका थिए।

कसरी एप्रोच भयो त? पत्रकार सम्मेलनमा गरिएको प्रश्नमा ब्युरोका एसपी दिनेशराज आचार्यले भेटेर, सामाजिक सञ्जालमार्फत प्रस्ताव भएको दाबी गरेका छन्। केही खेलाडीलाई कफी सपमा र ह्वाट्सप र मोबाइलमार्फत पनि प्रस्ताव आएको दाबी गरेका छन्। प्रहरीको अनुसन्धानमा फिक्सिङको लागि ६ लाखदेखि १० लाख रुपैयाँसम्मको प्रस्ताव भएको देखिएको छ। तर प्रहरीले अहिलेसम्म पैसा कुन माध्यमबाट गयो? भन्ने कुरा खुलाएको छैन। पत्रकार सम्मेलनमा प्रहरी यसबारे थप अनुसन्धान भइरहेको भन्दै पन्छिएको थियो। फिक्सिङ गर्ने व्यक्तिले फिक्सिङको प्रयोजनको लागि नै रकम दिएको पुष्टि गर्ने भरपर्दो आधार भेटिएको खण्डमा केस थप बलियो हुने देखिन्छ।

प्रहरीले फिक्सिङमा भेटेका मुख्य आधार!

प्रहरीले सोमबार पक्राउ गरेका मोहम्मद आदिल आलम भर्खंरै नेपाली क्रिकेटमा सम्भावना देखिएका युवा क्रिकेटर हुन्। उनी राष्ट्रिय टिम आबद्ध भएको केही महिनामात्र बितेको छ। तर उनीमाथि लागेको आरोप स्वतन्त्र रुपमा पुष्टि भए उनको खेल यात्रामा पूर्णविराम लाग्ने छ। त्यस्तै नेपाली क्रिकेटमा यो घटनाले पनि धेरै महत्त्व राख्ने छ। मोहम्मद आदिलले प्रस्ताव आएअनुसार एउटा 'नो बल' र एउटा 'वाइड बल' फालेको अनुसन्धानमा खुलेको छ। प्रहरीले अहिलेसम्म केही प्राविधिक र अन्य पक्षलाई देखाउँदै उनीहरूको संलग्नता भएको दाबी गरेको छ। प्रहरीले अनुसन्धानको  क्रममा उनीहरूलाई फिक्सिङको लागि एप्रोच आए नआएको पुष्टि गरेको थियो। यसरी आएको एप्रोचअनुसार नै उनीहरूले बल, रन लिएको र दिएको देखिएको र त्यसलाई फिक्सिङको संज्ञा दिइएको छ।

'हामीले एप्रोच र त्यहीअनुसार काम भयो भएन भनेर पनि हेरेका थियौँ,' एसपी दिनेशराज आचार्यले भने।

खेलाडीले खेल्दा कहिले काहीँ नो बल, रन, आउट सबै हुनसक्छ। राम्रो खेल्ने खेलाडी पनि पहिलो बलमा 'डक आउट' भएका हुन्छन्। त्यही आधारले मात्र फिक्सिङ नहुन पनि सक्छ। तर प्रहरीले यसको प्रस्ताव र त्यहीअनुसार भए नभएको कुरालाई हेरेको छ।

त्यस्तै आइसीसीको नियम पालना भएनभएको कुरालाई पनि प्रहरीले हेरेको छ। खेलमा कुनै खेलाडीलाई फिक्सिङको प्रस्ताव आए आफ्नो क्याप्टेनमार्फत जानकारी गराउनुपर्ने हुन्छ। यसरी प्रस्ताव आएको कुरा कसैलाई जानकारी नगराएको खण्डमा पनि उ सन्दिग्ध हुनेगर्छ। प्रहरीले प्रस्ताव आएको पुष्टि भएका खेलाडीले जानकारी नगराएको खण्डमा त्यसलाई फिक्सिङको संज्ञा दिएको छ। महबुब र आदिल आलमको केसमा यी दुई घटना जोडिएको छ।

प्रहरीले मंगलबार यी दुई मुख्य आधार बनाएर फिक्सिङ भएको दाबी गरेको छ। तर दाबी अनुसारको रकम पाए वा पाएनन्? पाएको भए कुन माध्यमबाट कति पाए भन्ने जवाफ खोजी रहेको छ। जसले फिक्सिङ प्रमाणित गर्न थप सहयोग गर्ला!

नेपालमा फुटबलमा पनि फिक्सिङ भएको भन्दै राष्ट्रिय खेलाडी पक्राउ परेका थिए। तर उनीहरूले केही वर्षपछि अदालतबाट सफाइ पाए। कानुनको अभाव र यथेष्ट प्रमाण नभेटिँदा उनीहरूले सफाइ पाएका थिए। ब्युरोले स्पट फिक्सिङमा भने राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई टेकेर अनुसन्धान अगाडि बढाएको छ। प्रहरीको निष्कर्षमा भनिएको छ,' विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा आएका व्यक्ति र खेलमा सहभागी खेलाडी समेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको छ।'

ऐनअनुसार कसैले बाजी जिताउने वा हराउने गरी खेल खेल्न वा खेलाउने कार्य गर्न नहुने उल्लेख गरेको छ। यस्तो गरेको प्रमाणित भएमा तीन वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ।

सन्दिग्ध रहेको कम्पनीलाई खेल खेलाउन सम्झौता गर्ने क्यानको विषयमा भने प्रहरीको अनुसन्धानले कुनै संलग्नता भएको देखाएको छैन। तर क्यान पनि उतिकै जिम्मेवारी भने बन्नुपर्ने देखिन्छ। क्यानले कस्तो कम्पनीसँग सम्झौता भएको हो भन्ने कुरा हेक्का राख्नुपर्ने थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell