PahiloPost

Jan 30, 2023 | १६ माघ २०७९

हिमाली भेगमा आज पनि हिमपातको सम्भावना, कस्तो रहनेछ आजको मौसम?



पहिलोपोस्ट

हिमाली भेगमा आज पनि हिमपातको सम्भावना, कस्तो रहनेछ आजको मौसम?
तस्विर : रासस

काठमाडौं : उच्च पहाडी तथा हिमाली भू-भागमा आज पनि हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्लामा हिजो बिहानैदेखि हिमपात भइरहेको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले चिसोबाट बच्न स्थानीयलाई सचेत गराइएको बताए।

‘चिसोबाट बच्न हामीले जुम्ला बजारका चोकचोक आगो बालेर ताप्ने व्यवस्था मिलाएका छौँ‘, उनले भने, ‘चिसोबाट बच्ने उपायबारे पनि स्थानीयलाई सूचना गरिएको छ।‘ हिउँ परिरहेकाले लामो तथा छोटो दूरीका सवारी यातायात सञ्चालनमा आउन नसकेको केसरीले बताए।

यस्तै, जिल्ला प्रशासन कार्यालय हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले भारी हिमपातका कठ्याङ्ग्रिने चिसो बढेको बताए। हिमपातकै कारण यातायातको एकमात्र विकल्प हवाई सेवा पनि ठप्प भएको सुवेदीले बताए।

कस्तो रहनेछ आजको मौसम ?

महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। अन्य प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश, मधेश प्रदेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell