PahiloPost

Jan 30, 2023 | १६ माघ २०७९

कर्णाली र वाग्मतीमा आज मन्त्रिपरिषदले पूर्णता पाउने, कुन प्रदेशमा कति वटा मन्त्रालय?



पहिलोपोस्ट

कर्णाली र वाग्मतीमा आज मन्त्रिपरिषदले पूर्णता पाउने, कुन प्रदेशमा कति वटा मन्त्रालय?

काठमाडौं : कर्णाली प्रदेश र वाग्मती प्रदेशमा आज मन्त्रिरिषद् विस्तार हुने भएको छ। सत्तारुढ गठबन्धनमा सहमति जुटपछि आज यी दुई प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाउने भएको हो।

कर्णालीका सत्तारुढ दलबिच मन्त्रालय भागबन्डामा मंगलवार सहमति भएको थियो। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले भनिन्, 'कुन दलले कुन मन्त्रालय लिने भन्ने विषय टुङ्गो लागेको छ।'

सहमतिअनुसार सत्ता साझेदार दलको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)ले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने भएको छ। त्यस्तै, एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको केसीले जानकारी दिइन्।

 उनले आज बेलुकीसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने बताइन्। 

यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा सात मन्त्रालय बनाउने विषयमा सत्तारुढ दलभित्रै विवाद थियो। मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले सोमबार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेपछि सो विषय टुङ्गिएको थियो। अब कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय र सामाजिक विकास मन्त्रालय हुने। यो सूचना सोमबार नै प्रदेश राजपत्रमा प्रकाशन गरिएको थियो।

वाग्मतीमा ११ मन्त्रालय

वाग्मती प्रदेश सरकारले पनि आज पूर्णता पाउने भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको थियो। उक्त बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको थियो।

गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय घटाउने निर्णय गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए। प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो। सोही अनुसार मन्त्रिपरिषद्को बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम राख्ने सुझाव स्वीकृत भएको हो। 

बुधबार सरकारलाई पूर्णता दिन मन्त्रिपरिषदमा ८ जना मन्त्री नियुक्त गरिने सरकारका प्रवक्ता जगन्नाथ थपलियाले बताए। दलहरुभित्र आन्तरिक छलफल गरि आज बुधबार दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ तय गरिने उनले बताए। थपलियाले मन्त्रीहरुको नाम आज बिहानसम्म टुंगिनेसमेत बताए।

स्रोतका अनुसार प्रदेशमा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ। ५ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारमा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सहभागी नगराइने भएको छ। प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्र सहभागी हुने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell