PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री?



निशा गुरुङ

वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री?

हेटौंडा : वाग्मती प्रदेशको मन्त्रिपरिषद विस्तार आज हुने भएको छ। ११ वटा मन्त्रालय रहने टुंगो लागेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

मंगलबार १४ मन्त्रालयमा ३ वटा मन्त्रालय कटौती गरेर ११ वटा कायम गर्ने प्रतिवेदनलाई मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो। जसअनुसार ११ मन्त्रालयमा सत्तारुढ गठबन्धन मध्यको सबैभन्दा ठुलो दल नेकपा एमालेले ४, नेकपा माओवादी केन्द्रले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीलेले ३ मन्त्रालय पाउने भएका छन्।

सोही भागबन्डा अनुसार नेकपा एमालेबाट वाग्मती प्रदेशको चार जना मन्त्रीको नाम ‘फाइनल’ भएको छ।

एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र काठमाडौंका केशव पोखरेल पशुपन्छी तथा कृषि मन्त्री बन्ने भएका छन्। एमालेका संसदीय दलका नेता चितवनका जगन्नाथ थपलिया यस अघि नै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन्।

यसैगरि, माओवादी केन्द्रबाट सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार मन्त्री, सिन्धुलीका गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री र मकवानपुरकी कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने टुंगो लागेको माओवादीका सांसद युवराज दुलालले बताए। गठबन्धनमा वाग्मतीमा मुख्यमन्त्री आलोपालो गरि पहिला माओवादीले पाउने सहमति भएको थियो। जस अनुसार शालिकराम जम्मकट्टेल मुख्यमन्त्री भईसकेका छन्।

जम्मकट्टेलसँगै शपथ लिएका राप्रपाका संसदीय दलका नेता उद्धव थापाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। त्यसैगरि पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय राप्रपाले पाउने भएका छन्। राप्रपाले भने मन्त्री बन्ने दुईजनाको नाम अझै सार्वजनिक गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell