PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पुरानो विधि तोड्दै निफ : प्रतिस्पर्धामा सहभागी फिल्मलाई हलमा प्रदर्शन गर्ने तयारी



पहिलोपोस्ट

पुरानो विधि तोड्दै निफ : प्रतिस्पर्धामा सहभागी फिल्मलाई हलमा प्रदर्शन गर्ने तयारी

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को औपचारिक घोषणा भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमका बिच घोषणा गरिएको निफको छैटौं संस्करण चैत २ देखि ६ सम्म चल्नेछ।

यस वर्षको संस्करणमा ५५ देशबाट ५०० बढी फिल्महरु प्रतिस्पर्धामा सहभागी भएका थिए। जसमध्ये ३५ देशका ९५ मात्रै फिल्महरुलाई यसपटकको निफमा छनोट गरिएको छ।

साथै, निफले नेपाली चलचित्र महोत्सवको पुरानो प्रदर्शन विधिलाई तोडेको छ। किनकी यसपटकको निफमा प्रतिस्पर्धी चलचित्रलाई हलमा प्रदर्शन गरिनेछ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससँगको सम्झौताअनुसार काठमाडौंको छायाँ सेन्टर र सिभिल मल, ललितपुरको लविम मल र भक्तपुरको क्युएफएक्स सिनेमामा चलचित्र प्रदर्शन हुनेछन्। फिल्ममेकरबाट हुने गुनासोलाई मध्यनजर गर्दै हलमा फिल्म प्रदर्शन गर्न लागेको निफका अध्यक्ष केपी पाठकले बताए।

‘यसअघि फेस्टिभलमा साउण्ड राम्रो भएन भन्ने गुनासो हुन्थ्यो। तर, यसपटक हामीले हलमा फिल्म प्रदर्शन गर्ने जोखिम उठाएका छौँ। किनकी यसअघि पर्यटन बोर्ड र सभागृहमा फिल्महरु देखाइन्थ्यो। नेपाली फेस्टिभलको पुरानो परम्परालाई तोड्दै विदेशमा झै हलमा प्रदर्शन गर्ने निधो गरेका छौँ,’ उनले भने।

‘कथाहरूको उत्सव’ भन्ने नारा रहेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुलाई सात विधामा १४ पुरस्कार दिइनेछ। कार्यक्रममा बोल्दै कलाकार नीर शाहले यस फेस्टिभलले नेपाली फिल्मको क्षेत्रमा इँटा थप्ने काम गरेको बताए।

उनले भने, ‘नेपालमा हरेक दिन फिल्मसँग सम्बन्धित कार्यक्रमहरु हुन्छन्। तर, ती सम्पूर्ण घटनाहरु हामीसँग जोडिदैनन्। तर, थौरै यस्ता घटनाहरु हुन्छन् जसले चलचित्र क्षेत्रलाई चिनाउन भूमिका खेल्छ। जसले अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सहयोग गर्छ त्यो निफ हो। निफले एनीमेसन र क्युएफएक्सलाई जोड्न समेत सफल भएको छ। जुन ठूलो उपलब्धि पनि हो।’

कार्यक्रममा शाहका साथै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, गौरी मल्ल, सरिता गिरी, रेजिना उप्रेती, निर्मल शर्मा, दीपा श्री निरौला लगायतका कलाकारहरुको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell