PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कांग्रेस 'वेटिङ इन गभर्मेन्ट' हो : शेखर कोइराला, 'सरकार गिराउन लागि पर्छौं'



अनन्तराज न्यौपाने

कांग्रेस 'वेटिङ इन गभर्मेन्ट' हो : शेखर कोइराला, 'सरकार गिराउन लागि पर्छौं'
फाइल फोटो

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टीले विश्वासको मत दिएको 'च्याप्टर' अब 'क्लोज' भएको बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार स्थानीय संवाददाताहरूलाई नेता डा. कोइरालाले भने, ‘अब यो च्याप्टर क्लोज भइसक्यो। हामी विपक्षी हौँ, प्रतिपक्षी हौँ र वेटिङ इन गभर्मेन्ट हौँ। यसअघि साढे तीन वर्षसम्म जसरी हामी वेटिङ इन गभर्मेन्टका अवस्थामा थियौँ, त्यसरी नै अहिले पनि हामी वेटिङ इन गभर्मेन्ट हौँ। हामी प्रतिपक्षको भूमिका गर्छौं। सरकार गिराउन लागि पर्छौं।’

उनले प्रतिपक्ष को? भन्ने विषयमा अदालतमा जानसक्ने प्रश्नलाई स्वीकार गर्दै भने, ‘हो, अदालतमा जानसक्छ।’

डा. कोइरालाले आफ्नो समूहले भर्खरै काठमाडौँमा आफ्नो वैचारिक समूहको बैठक राखेको र त्यो बैठकमा पनि विश्वासको मतको विषय उठेको जानकारी दिए।

‘तर जसरी सञ्चार–माध्यममा मैले र महामन्त्री गगनजीले बोलेको भनेर कुरा आयो, त्यो चाहिँ होइन’, उनले भने, ‘अरू साथीले बोलेका कुरालाई मैले बोलेको भनेर सञ्चार–माध्यममा मिर्चमसला भरेर कुरा आएका छन्।’

डा. कोइरालाले नेपाली कांग्रेसले राष्ट्रपतिका पदमा उम्मेदवारी दिने जानकारी दिए।

उनले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारलाई विजयी गराउन आफूले भूमिका गर्ने र सबै दलसित छलफल गर्ने उल्लेख गरे।

उनले राज्य सञ्चालनका सबै अंगमा वामपन्थीको मात्र वर्चस्व भएका बेला राष्ट्रपति नेपाली कांग्रेसको हुनुपर्ने तर्क राखे।

डा. कोइरालाले स्वतन्त्र समूहबाट पनि राष्ट्रपतिको खोजी भइरहेको कुरा आफूले सुनेको स्पष्ट पार्दै तर को बन्ने भन्ने विषयमा अहिलेसम्म कुनै पनि अनुहार बाहिर नआएको चर्चा गरे।

नेता डा. शेखरले आफू अहिले पनि पोस्ट गठबन्धनकै पक्षमा रहेको सुनाए।

‘हाम्रो निर्वाचन–प्रणाली नै कस्तो छ भने कुनै पनि दलले अब एक्लै बहुमत पुर्‍याउनसक्ने अवस्था छैन’, उनको कथन थियो, ‘त्यसैले गठबन्धन त हुनैपर्छ। तर यो गठबन्धन चुनावपछि सरकार बनाउन गरिनुपर्छ भन्ने मेरो मत हो।’

डा. कोइरालाले युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले नेपालको आर्थिक, राजनीतिक र सांस्कृतिक कुनै पनि अवस्था राम्रो नरहेको पुष्टि गर्छ भन्ने विचार व्यक्त गरे।

‘हुनत, यो एक व्यक्तिको घटना हो’, उनको भनाइ छ, ‘तर यसले सम्पूर्ण नेपाल र नेपालीलाई तरङ्गित बनाएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell