PahiloPost

Jan 30, 2023 | १६ माघ २०७९

प्रेमले झोसेको विद्रोहको राँको: जसले सोधेका छन् देशको ‘सिस्टम’मा राज गर्नेमाथि कठोर प्रश्न



प्रकाश भण्डारी

प्रेमले झोसेको विद्रोहको राँको: जसले सोधेका छन् देशको ‘सिस्टम’मा राज गर्नेमाथि कठोर प्रश्न

काठमाडौं: ‘यो देश हो कि बधशाला?’

बुधबार काठमाडौंको माइतीघरको प्रदर्शनमा यस्तै प्लेकार्ड देखियो।

‘अर्को जल्दो शरीर मेरो नहोस्।’

सामाजिक सञ्जालमा पनि सरकारमाथि प्रश्न बर्सिरहेकै छन्। नहोस् पनि किन?

थिति बसाल्ने थलो अगाडि नै दिन दहाडै आत्मदाह।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कारगेडकै अगाडि, इलामका प्रेमप्रसाद आचार्यले मंगलबार आफैंमाथि आगो लगाए। प्रचण्ड राष्ट्रिय सभामा सम्बोधन गरेर निस्किएका थिए त्यतिबेला।

आफ्नै जिउमा लागेको आगोको लप्काले ढलेका आचार्यलाई तुरुन्तै कीर्तिपुर अस्पताल लगियो, बचाउन। तर उपचारकै क्रममा बुधबार बिहान निधन भयो।

प्रेमले आफ्नो जीउमा जहाँ आगो लगाए ठिक अगाडि छ विधि बनाउने संघीय संसद् भवन। जहाँ जनताको समस्या सुनाउन प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा ५९ गरी कुल ३३४ सांसद चुनिएर आएका छन्। आफ्ना स्वार्थ पूरा नहुँदा यही भवनभित्र रोस्टम घेराउ हुन्छ, नाराबाजी गर्नेमात्र हैन कूर्सी हानाहान नै हुन्छ।

तर अहिले यो भवन सुनसान छ। किनभने नवनिर्वाचित सभामुखलाई बधाई दिएर एक हप्ते होलिडेमा बसेको छ प्रतिनिधि सभा। प्रधानमन्त्री प्रचण्ड उत्तर दिएर निस्केको राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ।

३३४ सांसद सदनमा जनताको पीडा सुनाउन अनि असजिला व्यवस्थालाई व्यवस्थित पर्ने गरी कानुन बनाउन जम्मा भएका हुन्। जनताको आवाज राज्यसम्म सुनाउन उनीहरु चुनिएर आएका।

आचार्यको आक्रोशको निचोड पनि त्यही थियो -राज्यले मेरो पीडा सुनेन। तर उनको चरम निराशाको आवाज कुनै सांसदले न सदनमा उठाए न त उनलाई सुन्ने कोसिस नै गरे। जसले गर्दा प्रेमले रोजे, आत्मदाह।

घटना आत्मदाहमा गएर टुंगिदैन, अहिले राज्यमाथि आक्रोशको राँको नै झोसिएको छ। सरकारमै रहेका मन्त्रीदेखि स्थानीय सरकारका मेयर सम्मले यसै भनेका छन्, ‘राज्यको असफलता’। सुसाइड नोटमा आचार्यले आफूले उद्यमका लागि गरेको प्रयास र असफलताको बयान गरेका छन्। सरकारमाथि प्रश्नैप्रश्न उठाएका छन्। सुसाइड नोटमा २५ बुँदे माग छन्। आचार्यले सुसाडड नोटमै स्वीकारेको यथार्थ के पनि हो भने उनी लामो समयदेखि ‘डिप्रेसन’मा थिए।

कारण जे होला, उनले उठाएका मुद्दा राज्य प्रणालीको विकृत रुप भने पक्कै हुन्। ‘हन्डर खाँदाखाँदै मन सम्हाल्न नसकेर, आर्थिक भार थाम्न नसकेर…,’ प्रेमले आत्महत्या गर्नुको कारणबारे लेखेका छन्। उनको सुसाइड नोटमा असफलताको फेहरस्ति नै छ।

‘सबैभन्दा ठूलो कारण राज्य हो’

उपप्रप्रधान तथा गृहमन्त्री रवि लामिछानेदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसम्मले उनको आत्मदाहप्रति टिप्पणी गरेका छन् बुधबार। ‘दु:ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन। आशा जगाउन सकेन। आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं। म दोषी छु,’ लामिछानेको स्वीकारोक्ति छ। लामिछानेले मृतकका आफन्तलाई भेटेर घटनाबारे छानबिन गर्ने आश्वासन दिएका छन्। मेयर शाहले आचार्यको आत्मदाहलाई राज्यको असफलतासँग जोडेका छन्। ‘आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो। सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो,’ शाहले फेसबुकमा भनेका छन्।

राज्यविरुद्ध आन्दोलनको राँको

आचार्यको आत्मदाहको विषय बुधबार ट्वीटरको ट्रेन्डिङमा छ। पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि आचार्यको आत्मदाहलाई आन्दोलनको झिल्कोको रुपमा बुझ्नुपर्ने बताएका छन्। ‘यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिउँ र उपचार खोजौं। अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्।

पछिल्लो समय राज्य संरचनामा फैलिएको बेथितिका कारण चरम निराशामा युवा पुस्ता रहेको र त्यही कारण आचार्यले आत्मदाह गरेको स्वयं उनको सुसाइड नोटबाट बुझ्न सकिन्छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पनि आत्मदाहले राज्य लज्जित हुनुपर्ने स्थिति आएको तर्क गरेका छन्।

‘आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ,’ कोइरालाको भनाइ छ।

आसेपासे अनुदान, जुन सिस्टमले सिध्यायो प्रेमलाई

एक ३६ वर्षका युवा जसले उद्यमशीलताको महत्वाकांक्षा राखे। त्यही महत्वाकांक्षालाई मूर्त रुप दिन भएभरको जायजेथा लगाए। परिश्रम र लगनको साथ काम गरे। तर देशमा चलेको ‘सिस्टम’ले उनलाई असफल बनायो। जतिसुकै कोसिस गरिरहे पनि एकपछि अर्को असफलताले पछ्याइरह्यो।

देश यतिबेला क्रोनी क्यापिटालिज्म (आसेपासे पुँजीवाद) ग्रस्त छ। जो राजनीतिक दलसँग नजिक छन्, उनीहरु संरक्षित हुने र उनीहरु नै फस्टाउने समय छ। आसेपासे पुँजीवादमा नपरेका व्यक्तिले उद्यम गर्न सक्दैनन्। जुन प्रेमको सुसाइड नोटले नै प्रष्ट पार्छ।

'कृषिजन्य वस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम चार पटक अनुदान पाउँ भनी निवेदन दिइयो, सर्ट लिस्टमा परिन्थ्यो नै,' प्रेमले लेखेका छन्, 'अनुगमन गर्न आउँदा तपाईंको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक वस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि रिजल्ट आउने बेला कहिले मेरो कम्पनीको नाम नहुने।'

आसेपासे अनुदानबारे उनले थप लेखेका छन् : म इलाम सूर्योदय नगरपालिका -११ बासी मेरो फ्याक्ट्री पनि त्यहीँ। मेरा वडाका तत्कालीन वडाध्यक्षको डेरीले ३ लाख र १० लाख गरी दुई वर्ष लगातार अनुदान खाए र तेस्रो वर्ष उन्कै बङ्गुर फार्मले २५ लाख अनुदान खायो। मेरै आँखा अगाडि इलामकै एक जनाको टि-स्टेटले एकै वर्ष एकै उद्योग एकै सरकारबाट २०-२५ लाख अनुदान खायो। हामी चिल्लै। अनि बल्ल थाहा भयो अनुदान लिनलाई कि जनप्रतिनिधि, कि पार्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ।

२०६२/०६३ को जनआन्दोलनपछि बनेका सरकारले आसेपासे पुँजीवादलाई फक्रिने मौका दिए। अहिले उनीहरुकै रजगज छ। जो राजनीतिक दलसँग नजिक छ, त्यसले मात्रै व्यवसाय विस्तार गर्न पाउँछ। राज्यले दिने अनुदान पनि त्यही र त्यस्तै समूहले पाउने वातावरण तयार भयो। कृषिको सहुलियतपूर्ण ऋण ठूला घरानाले मात्रै पाउने, राष्ट्र बैंकले दिने पुनर्कर्जा पनि उनीहरुकै पकडमा हुने तर प्रेमजस्ता कतै पनि राजनीतिक नातो नभएका आम नागरिकले भने आफ्नै उत्पादन बेच्दा पनि पैसा नपाउने ‘सिस्टम’ तयार  भयो। त्यही ‘सिस्टम’ सुधारका खातिर प्रेमले आफ्नो जीवन असाध्यै पीडादायी ढंगले त्याग्नुपर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell