PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

विद्युत वितरण सुधार्ने प्राधिकरणको योजना, लाइन नकाटिने प्रणाली बनाउन जीआइएस म्यापिङ गरिँदै



दिनेश खड्का

विद्युत वितरण सुधार्ने प्राधिकरणको योजना, लाइन नकाटिने प्रणाली बनाउन जीआइएस म्यापिङ गरिँदै

काठमाडौं : बिजुलीको खपत कहाँ कति भइरहँदा लोड थप्नुपर्छ, कहाँ माग उच्च हुने संकेत छ र धान्न तत्काल के-के गर्ने भन्ने योजना नहुँदा लाइन जाने-आउने समस्या छ।

लोड धान्न पूर्वाधार थप्न पनि ढिला निर्णय हुने गरेको छ। यी समस्या हटाएर वितरण प्रणाली व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरणले उपत्यकाको नक्सांकन गर्ने भएको छ।

जहाँ जति बिजुली चाहिन्छ, त्यहाँ लोड धान्ने, लाइन नकाटिने प्रणाली बनाउन विद्युत वितरणको जीआइएस म्यापिङ गरिने भएको हो। यस्तो नक्सांकन एक वर्षभित्र तयार पार्ने योजना छ।

यसका लागि प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतको जीआइएस स्मार्ट ग्रीड प्रोजेक्टले बोलपत्र आह्‍वान पनि गरिसकेको छ। आवेदन दिएका कम्पनीहरुमध्ये दुईवटा ज्वाइन्ट भेञ्चर कम्पनी प्राविधिक प्रस्ताव पास भएका छन्।

उक्त दुई कम्पनीको आर्थिक प्रस्ताव आगामी माघ २२ गते खोलिने भएको छ। सबैभन्दा कम कबोल गर्ने कम्पनी छनोट हुने आयोजना प्रमुख उत्सव कोइरालाले बताए।

‘विद्युत वितरण प्रणालीलाई भरपर्दो बनाउन यो महत्त्वपूर्ण योजना हो’, उनले भने, ‘जिम्मा पाउने कम्पनीले एक वर्षभित्र काम सक्नुपर्नेछ।’

प्राविधिक प्रस्तावमा जेनेसिस नियो जेभी र जीइसीइ राजदेवी जिदान जेभी पास भएका छन्। अहिले प्राधिकरणले उपत्यकाको विद्युत प्रसारणलाइन भूमिगत गरिरहेको छ भने स्युचाटारमा डेटा सेन्टर निर्माण गरिरहेको छ। जहाँबाट देशभरिको प्रणाली नियन्त्रण गर्ने योजना छ। सोही योजनाका लागि जीआइएस म्यापिङ गर्न लागिएको हो।

‘जीआइएस म्यापिङले उपत्यकाभरी कहाँ के-के संरचना छन्, वितरण लाइन कता-कता छ भन्ने जानकारी हुन्छ’, प्रमुख कोइरालाले भने, ‘स्काडा सिस्टम राखेपछि स्युचाटारको कन्जुमर रिलेसनसीप म्यानेजमेन्ट (सीआरएम)बाट वितरण प्रणाली नियन्त्रण गर्न सकिन्छ।’

उनका अनुसार उक्त सिस्टमबाट ग्राहक नम्बरका आधारमा सबै विवरण प्राप्त गर्न सकिनेछ। त्यसै गरी कुनै नयाँ ग्राहकलाई विद्युत दिन पर्‍यो भने उक्त क्षेत्रको ट्रान्सफर्मरले धान्छ/धान्दैन भनेर समेत हेर्न मिल्छ।

‘अहिले अन्धाधुन्ध नयाँ लाइनहरु जोडिएको छ। जसले ट्रान्सफर्मर र केबलहरु जल्ने समस्या छ’, उनले भने, ‘यो सिस्टम संचालनमा आएपछि ट्रान्सफर्मरले धान्छ किन धान्दैन भन्ने सम्मको जानकारी आउँछ। नधान्ने अवस्था आए सिस्टम अपग्रेड गरेर दिन सक्छौं।’

सीआरएम संचालनमा आएपछि अहिले जस्तो झ्याप झ्याप ट्रिपिङ हुने समस्या समेत समाधानका लागि सहयोगी हुने उनले बताए।

त्यसैगरी, कुनै एरियामा विद्युत प्रसारणलाइन विस्तार गर्दा कति ट्रान्सफर्मर, केबल, पोलहरु चाहिने लगायतका विषयमा समेत डेटा कलेक्सन स्युचाटारमै बसेर गर्न सकिने पराजुलीले बताए। त्यस्तै, कुनै एरियामा मर्मतको काम  गर्नु छ भने त्यसको पूर्व जानकारी त्यहाँका ग्राहकलाई सिस्टमबाटै दिन सकिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell